Logo

प्रधानमन्त्रीमा फेरि यिनै

चार मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक भएर सरकार गठनको प्रक्रियासमेत सुरु भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १७६ को उपधारा १ बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न आगामी आइतबारसम्मको समय दिएकी छन् ।

राष्ट्रपतिले दिएको समयसीमा घर्किंदै जाँदा दलहरु सरकार गठनको रस्साकस्सीमा जुटेका छन् । कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले गठबन्धन सरकार बन्ने निश्चित छ । सरकार गठनको प्रक्रियासँगै दलहरुले संसदीय दलको नेता पनि चुनेका छन् ।

बुधबारमात्रै संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच भएको प्रतिस्पर्धामा देउवा चुनिएका हुन् । संघीय संसद्मा कांग्रेसका ८९ जना सांसद रहेकोमा देउवा ६४ मत पाएर दलको नेता निर्वाचित भए । थापाले २५ मत पाए ।

अन्य दलहरुले यसअघि नै सर्वसम्मत् रुपमा दलको नेता चयन गरिसकेका छन् । एमालेमा केपी ओली, नेकपा माओवादीमा प्रचण्ड र नेकपा एसमा माधवकुमार नेपाल दलको नेता चयन भएका छन् । प्रधानमन्त्री बन्न दलको नेता हुनुपर्ने व्यवस्था रहेकोले यिनैमध्ये एक प्रधानमन्त्री हुने निश्चित छ ।

कांग्रेस सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का थिए । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेल थिए । सभापति देउवा यो सँगै छैठौँ पटक पार्टीको संसदीय दलको नेता बनेका हुन् ।

यसअघि उनी २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित भएका थिए । २०४८, २०५१, २०५६, २०७४ र २०७९ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित देउव २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए । २०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म गरी पाँचौं पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्