Logo

चिसोसँगै वायु प्रदूषण बढ्यो

चिसोको समय बढेसँगै वायु प्रदूषण पनि बढ्दै गइरहेको छ । चिसो हावाका कारण धुलोका कणहरू वायुमण्डलमा नै तैरिनु, तुँवालोले प्रदूषण एकै ठाउँमा रहँदा प्रदूषण बढेको वातावरणविद्हरूको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ मा चिसोको समयमा अत्यधिक वायु प्रदूषण बढेका कारण संकटकाल नै घोषणा गरेको थियो ।

संकट आएपछि मात्रै तयारी थाल्ने सरकारले संकटअघि नै जनचेतना जगाउने तथा प्रदूषण नियन्त्रणका लागि गर्नुपर्ने आवश्यक तयारी नगरेको भन्दै वातावरण क्षेत्रका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ० देखि एक्यूआई ५० राम्रो अर्थात् ग्रिन सिग्नलले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्यूआईलाई होसियार रहुँ अथवा पहेंलो संकेतले चिनिन्छ ।

यसैगरी १ सय १ देखि १ सय ५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । १ सय ५१ देखि दुई सयसम्मको एक्यूआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । यसले मुटुका बिरामीलाई बढी असर गर्ने चिकित्सक बताउँछन् । २ सय १ देखि तीन सयलाई धेरै अस्वस्थको रूपमा लिइन्छ र ३ सय १ देखि ४ सयलाई खतरनाक र ४ सय १ देखि ५० लाई धेरै खतरा मानिएको छ ।

तर गत बुधबार र बिहीबार काठमाडौंको वायु प्रदूषण एक्यूआई १ सय ५४ पुगेकोमा शुक्रबार अझै बढेर १ सय ५६ एक्यूआई पुगेको थियो । शनिबार बढेर १ सय ५९ एक्यूआईमा पुगेको काठमाडौं एयर क्वालिटी इन्डेक्सको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार आइतबार १ सय ५८ एक्यूआई प्रदूषणको तह र सोमबार साँझ ५ बजेसम्म १ सय १९ एक्यूआई प्रदूषणको तह पुगेकोे थियो ।

काठमाडौंमा वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी छ । सन् २०१६ मा विश्व बैंकले गरेको एक अध्ययनअनुसार नेपालमा कुल गार्हस्थ उत्पादनको ४.७५ प्रतिशत (२.८३८ अर्ब अमेरिकी डलर) कुल गार्हस्थ उत्पादनको वायु प्रदूषणका कारण अर्थतन्त्रमा ह्रास आएको छ । नेपालमा वार्षिक २२ हजार सर्वसाधारणको वायु प्रदूषणका कारण मृत्यु भइसकेको विश्व बैंकको २०१६ को तथ्याङ्क छ ।

वायु प्रदूषणले गर्दा ३४ प्रतिशत मुटुको रोग, ३२ प्रतिशत मस्तिष्कघात, १८ प्रतिशत क्रनिक ओब्स्त्रक्तिभ पोल्मनारी डिजिज, नौ प्रतिशत फोक्सोको क्यान्सर, सात प्रतिशत अन्य रोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (सन् २०१६) को तथ्यांकले देखाएको छ । सहरी क्षेत्रमा हुने वायु गुणस्तर निर्धारणका लागि कुनै प्रभावकारी प्रणाली निर्धारण गरिएको छैन ।

मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले प्रदूषणका कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मुटु र रक्तनलीमा असर गर्ने, फोक्सोमा असर गर्दा दम बढ्ने, छातीको बायाँ भागलाई बढी असर गर्दा कालान्तरमा गएर मुटु फुल्ने र ह्रदयघातजस्ता रोग लाग्ने बताए ।

भट्टराईले भने, “मुटुरोग र रक्तनलीमा असरका कारण विश्वव्यापी रूपमा एक करोड ८० लाख वार्षिक मृत्यु हुने गरेको छ अथवा जम्मा मृत्यु हुनेमध्ये ३० प्रतिशत यी रोगका कारण मुत्यु हुने गरेको छ, मुटु रोग र रक्तनली (कार्डियो भास्कुलर रोग) मुख्य रोग रहेको छ,” उनले भने, “बच्नका लागि मास्क लगाउनुपर्छ, बाहिर धेरै हिँडडुल गर्न हुँदैन, बाहिरबाट आएपछि सरसफाइमा ध्यान दिनुपर्छ, सरकारले पनि प्रदूषण नियन्त्रणलाई विशेष प्राथमिकता नदिए मुटुरोगीको संख्या अझै बढ्ने छ ।”

वातावरणविद् भुषण तुलाधार चिसोको समयमा वातावरणीय प्रदूषण बढ्ने भन्दै प्रदूषण नियन्त्रणमा समयमा नै ध्यान पुर्‍याउनुपर्ने र प्रदूषणको असरबाट बच्न जनचेतना अभिवृद्धिमा ध्यान दिन आवश्यक रहेको बताउँछन् ।

“सरकारको प्राथमिकतामा वायु प्रदूषण नियन्त्रणका कार्यक्रम पर्न नसक्नु र अनुगमन कमीका कारण प्रदूषण बढिरहेको छ, वायु प्रदूषण न्यूनीकरणका लागि समयमा नै सरकारले पहल थाल्नुपर्छ,” उनले भने, “गाडीहरूको मर्मत सम्भार, प्रदूषण जाँच र व्यवस्थापन, सफा गाडी (विद्युतीय सवारी साधन, सफा इन्धन (इथानोल, कम सल्फर भएको डिजेल), यातायात व्यवस्थापनलाई प्राथमिकता दिन जरूरी छ ।”

तुलाधारले प्रदूषण नियन्त्रण गर्न सार्वजनिक यातायात प्रयोग बढाउने, हिँड्ने, साइकल आदिको प्रवद्र्धन, ट्राफिक व्यवस्थापन, गाडीहरूको प्रदूषण जाँच प्रणाली (हरियो र रातो स्टिकर दिने) प्रभावकारी बनाई सडकमा समेत छड्के जाँच गर्ने, यातायात व्यवस्थापन नीति र गुरुयोजना तर्जुमा गर्ने, दिगो यातायात आयोजना कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक रहेको औंल्याए । उनका अनुसार विद्युतीय सवारीजस्ता वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्न वातावरणमैत्री यातायात नीति कार्यान्वयन गर्नसके वायु प्रदूषण कम हुन्छ ।

अर्का वातावरण युवा अभियन्ता राजन थापाले पनि चिसोको समयमा वायु प्रदूषण बढ्ने गरेको भन्दै धुँवा धुलो नियन्त्रण, जनचेतना अभिवृद्धि र प्रदूषण रोक्न सफा इन्धनबाट सञ्चालन हुने विद्युतीय सवारी साधनको प्रवर्द्धन, सवारी साधनको प्रदूषण जाँचमा कडाइ, अनुगमन, वातावरणका नीति कार्यान्वयनमा जोड दिनुपर्ने बताउँछन् ।

“भारतका केही स्थानमा यो समयमा परालमा आगो लगाउने चलन छ, त्यहाँको प्रदूषण पनि नेपाल भित्रन्छ, नेपालमा पनि फोहर बाल्ने, आगो ताप्ने चलन छ, अनि काठमाडौं कचौरा आकृतिको छ, जाडोमा हावा चिसो भएकाले बाहिर नगई तैरिन्छ यसकारण वायु प्रदूषण चिसोसँगै बढ्छ,” उनले भने, “वायु प्रदूषण हरेक वर्ष बढेको छ, दुई वर्षयताको अवस्था हेर्दा पनि प्रदूषण अत्यधिक बढ्दा आपतकालीन अवस्था नै सिर्जना भएको थियो, तसर्थ आगो नबालौं, कच्ची सडकमा पानी छर्नसके केही मात्रामा काठमाडौंको बढ्दो प्रदूषण घटाउन सहयोग मिल्ने छ, जोखिम घटाउन मास्कको प्रयोग बढाउनुपर्छ ।”

वायु प्रदूषण गराउनुमा सवारी साधनको मात्रै भूमिका ३७ प्रतिशत रहेको सरकारी तथ्यांकले देखाएको छ । वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार सवारी साधनबाट निस्कने धुवाँ धुलोले वायु प्रदूषण बढाएको हो । आर्थिक सर्वेक्षणका अनुसार देशभर ४० लाखको हाहारीमा सवारीसाधन छन् ।

काठमाडौंमा प्रदूषणको अवस्था

  • गत बुधबार – १५४ एक्यूआई
  • बिहीबार – १५४ एक्यूआई
  • शुक्रबार – १५६ एक्यूआई
  • शनिबार – १५९ एक्यूआई
  • आइतबार – १५८ एक्यूआई
  • सोमबार – १५२ एक्यूआई
  • मंगलबार (साँझ ६ बजेसम्म) – ११३ एक्यूआई

स्रोत– काठमाडौं एयर क्वालिटी इन्डेक्स

प्रतिक्रिया दिनुहोस्