‘समय दिनुहोस् हामी ऋण तिर्छौं’

सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै पुस मसान्तभित्र ठोस निर्णय लिन उद्योगी व्यवसायीले आग्रह गरेका छन् ।
उनीहरूले कोरोना भाइरसको संक्रमणका कारण उद्योग व्यवसाय धरासायी बन्दै गइरहेकाले अब उद्योगी व्यवसायीका समस्या राज्यले सम्बोधन नगरे मुलुक गम्भीर आर्थिक दुर्घटनामा पर्ने दाबी गरेका छन् । नेपालकै ज्येष्ठमध्येको निजी संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेकोे आठौं लुम्बिनी राष्ट्रिय महोत्सवको समापन समारोहमा उद्योगी व्यवसायी सम्बद्ध व्यक्तिले सो भनाइ राखेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले वर्तमान समयमा अर्थतन्त्र चलायमान बनाउन सरकारले तत्कालै निजी क्षेत्रमैत्री निर्णय गर्न जरुरी रहेको बताए । “अहिले बैंकहरूको एक पक्षीय कार्यले देशको समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने कार्य भइरहेको छ, सरकार, बैंक, बैंकरको चाहना ८० प्रतिशत उद्योगी व्यवसायी कालोसूचीमा परोस् भन्ने चाहना बोकेकै हो भने ठिकै छ, मुलुकमा आर्थिक दुर्घटना घट्यो भने उहाँहरू नै जिम्मेवार हुनुपर्छ,” पूर्वअध्यक्ष मुरारकाले भने ।
उनले भने, “अहिलेकै अवस्थामा पुस महिनामा सावाको कुरा छाडौं व्याज तिर्ने पैसासमेत छैन्, बढी बिक्री हुने भनिएको खाद्यान्नको ब्यापार २५ प्रतिशत खस्केको छ, सिमेन्ट छडको ७० प्रतिशत गिरावट आएको छ, अटोको ब्यापार त्यस्तै छ ।” “हामीलाई अप्ठेरोमा पारेर सरकार खुसी होला जस्तो लाग्दैन, पुस मसान्तभित्र एडभान्समा निर्णय आयोस् हामी प्रतीक्षामा छौं,” उनले थपे । “हामी बैंकहरूबाट लिएको ऋण तिर्छौं, नतिर्ने भनेका छैनौ, लिएको ऋणभन्दा बढी कोल्याटर (धितो) छ, त्यसैले मौका दिनुहोस्, बाटो देखाउनु होस्, हामी नकारात्मक कहिल्यै सोच्दैनौ,” मुरारकाले भने ।
मुरारकाले आर्थिक रूपमा वर्तमान असहज समयमा पनि सिद्धार्थ उद्योग वाणिज्य संंघले लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउन गरेको प्रयास सह्रानीय रहेको बताए । उनले महोत्सवमा कतिको व्यापार भयो, कतिले अवलोकन गरे भन्नु ठुलो कुरा नभएको भन्दै महोत्सवले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण तथा प्रवद्र्धन भएको र अचार बनाउने, चुरापोते बनाउने तालिमसमेत गरी महिला उद्यमी जन्माउन सफल हुन ठूलो कुरा रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले कोरोनाका कारण आक्रान्त व्यवसायी, उद्योगीहरू निकै समस्यामा रहेको बताउँदै अब निश्चित समय दिएर थप ऋण लगानी तचा पुनर्कर्जा उपलब्ध गराउन ढिला गर्न नहुने र उद्योग व्यवसाय बचाउने हो भने पुसभित्रै सरकारले उद्योग व्यवसायका क्षेत्रमा ठोस निर्णय गर्नुपर्ने बताए । व्यवसायी रोएको राजनैतिक दलले देख्न नसक्नु विडम्बना भएको भन्दै यस्तो चुनौती समस्या आउँदा पनि दलहरूले उद्योगी व्यवसायीको पक्षमा मुख नखोल्नु दुःखको कुरा भएको बताए ।
संविधानसभा सदस्य आदित्य नारायण कशौधनले अर्थतन्त्र चलायमान गराउन आर्थिक क्षेत्र केन्द्रित कार्यक्रम ल्याउनु पर्ने र यस्ता महोत्सव मेलाले अर्थतन्त्र उकासिने दाबी गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले पैसा कमाउनभन्दा पनि वर्तमान समयमा बजारलाई चलायमान बनाउन लुम्बिनी महोत्सव आयोजना गरिएको बताए ।
कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य सन्तोष पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्ता, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा, वरिष्ठ उपाध्यक्ष ठाकुर श्रेष्ठ, महासचिव विजय पाण्डेलगायतले महोत्सवको आयोजनाले बजार चलायमान बनाउन मद्दत पुगेको बताए ।
२३ मंसिरदेखि सुरु भएको महोत्सवमा कृषि, खाद्य, तयारी पोशाक, छाला तथा फेन्सी जुत्ता, घरेलु सामग्री, फर्निचर, होम अपलायन्स, अटो, जडिबुटी, दलहन तेलहन, शिक्षा, बैंक तथा बित्त, बिमा, स्वास्थ्य, शैक्षिक परामर्श, रेस्टुराँलगायत गरी २ सय ५० स्टल रहेको र पौने दुई लाखले अवलोकन गरेको संघका सदस्य एवं प्रचारप्रसार उपसमिति संयोजक कृष्णप्रसाद घिमिरेले बताए ।