Logo

तानसेनमा लगानी सम्मेलन

पाल्पा जिल्लाको कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै लगानी भित्र्याउने खोजीका लागि तानसेनमा लगानी सम्मेलन गरिएको छ । तानसेनमा सम्पन्न सम्मेलनमा कृषि तथा पशुपालन क्षेत्रमा देखिएका सम्भावना, समस्या, चुनौती तथा हालसम्म प्राप्त भएका उपलब्धिको समीक्षा गरिएको छ ।

ग्रामीण आर्थिक विकास संघ (रेडा)ले तानसेन नगरपालिकासँगको सहकार्यमा कोभिड–१९ प्रतिकार्य तथा एकीकृत हरित जीविकोपार्जन सहयोग परियोजनाअन्तर्गत संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त पहलमा लगानी सम्मेलन गरेको हो । कृषि र पशुपालन क्षेत्रमा रेडाले हालसम्म केही उत्पादन वृद्धि भएका केही उपजको निर्यातसमेत गर्न सफल भएको ग्रामीण आर्थिक विकास संघ (रेडा) का कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले जानकारी दिए ।

उनले किसानले उत्पादन गरेको उपजलाई अहिलेसम्म पनि बजारीकरणमा केही समस्या देखिएको बताए । उपभोक्ता र कृषकबीचको दूरीलाई घटाई स्थानीय सरकारले काम गर्नुपर्ने निर्देशक कार्कीले बताए । तानसेन नगरले आगामी दिनमा तानसेनको कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनले नगरका अधिंकाश वडा ग्रामीण क्षेत्रमा पर्ने भएकाले नागरिकको आयस्तर वृद्धि गरी नगरपालिकलाई नै समृद्ध बनाउने गरी काम गर्ने बताए ।

उनले नगरपालिकाले किसानका लागि रासायनिक मलको सट्टामा प्राङ्गारिक मलको प्रयोगलाई बढ्वा दिनेगरी योजना बनाएको बताउँदै नगरपालिका र सहयोगी संस्थाबीचको सहकार्यले सफलता पाएको बताए । विगतमा सुरु गरिएको योजनालाई निरन्तरता दिन सकेमा नगर समृद्ध हुने र त्यसका लागि यस्ता सम्मेलनले सहयोग पुग्ने तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोककुमार शाहीले बताए ।

उनले कोरोना महामारी र त्यसपछि सिर्जना भएको बेरोजगारीको समस्या समाधान गर्न सुरु भएको परियोजनामा एक हजार बढी युवा उद्यमी जोडिएको हुँदा उनीहरूलाई साथमा लिएर अघि बढ्नसके नगरको विकास हुने विश्वास गरे । नेपालको कृषि क्षेत्र तथा अर्थतन्त्रको बारेमा अर्थविज्ञ सुवेक्षा नेपालले कार्यपत्र प्रस्तुत गरे । यस्तै थोक बजार सञ्चालनका विषयमा तानसेन नगरपालिकाका योजना अधिकृत विष्णु पौडेलले र कृषि क्षेत्रका सम्भावना र चुनौतीका विषयमा कृषिविज्ञ थमनबहादुर कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नगरपालिकाले किसानको लगानी, बजारीकरण र उत्पादित वस्तुको गुणस्तरीयतामा लगानी सम्मेलनले सहयोग पुग्ने विश्वास रहेको कार्यकारी अधिकृत जीवन ज्ञवालीले बताए । उनकाअनुसार दिगो रूपमा कृषि र पशुपालनलाई अगाडि बनाउका लागि सम्मेलनले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्