Logo

चालू पुँजी कर्जा ३० प्रतिशतसम्म दुरुपयोग

चालू पुँजी कर्जा मार्गनिर्देशनलगायतको विरोधमा सोमबार स्याङ्जामा व्यवसायीले निकालेको विरोध र्‍याली ।

बैंक तथा वित्तीय संस्थाहरूले उद्योगी–व्यवसायीलाई दिँदै आएको कुल चालू पुँजी कर्जामध्ये करिब एक तिहाइ दुरुपयोग भएको छ । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार यस्तो कर्जा २० देखि ३० प्रतिशतसम्म दुरुपयोग भएको पाइएको हो । बैंक तथा वित्तीय संस्थाहरूले ठूला ऋणीहरूलाई कुल कर्जाको ४० प्रतिशत चालू पुँजी कर्जा उपलब्ध गराउँदै आएका छन् ।

“यस्तो पुँजी करिब २० देखि ३० प्रतिशतसम्म दुरुपयोग भएको पाइएको छ,” केन्द्रीय बैंकका ती अधिकारीले कारोबारसँग भने, “कर्जा ठूलो परिमाणमा दुरुपयोग भएको पाइएपछि राष्ट्र बैंकले यसमा कडाइ गर्न खोजे पनि सकेको थिएन ।” उनका अनुसार दुरुपयोग नरोकिएपछि अन्तिम विकल्पका रुपमा मार्गदर्शन नै जारी गर्नुपरेको हो ।

राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन गएको कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको छ । निश्चित उद्देश्यका लागि लिने भए पनि यस्तो कर्जा अन्य क्षेत्रमा प्रवाह भएको देखिएपछि राष्ट्र बैंकले मार्गदर्शन जारी गरेको हो । राष्ट्र बैंकका एक पूर्व पदाधिकारीले पछिल्लो समय चालू पुँजी कर्जा दुरुपयोग गर्नेमा ठूला ऋणीहरू अगाडि रहेको बताए ।

राष्ट्र बैंकको अध्ययनमा सबै विवरण देखिने भए पनि विभिन्न कारणले उसले सार्वजनिक भने गर्ने नगरेको ती पदाधिकारीको भनाइ छ । उनले भने, “राष्ट्र बैंकका केही उच्चपदस्थ अधिकारीहरूलाई कसले कर्जा दुरुपयोग गर्‍यो भन्नेसम्मको जानकारी छ, तर विभिन्न कारणले बाहिर ल्याउने गरिएको छैन ।” बैंक तथा वित्तीय संस्थाहरूबाट अहिले ४७ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लगानी भएकामा यसको ४० प्रतिशत अर्थात् १९ खर्ब ३ अर्ब रुपैयाँ चालू पुँजी कर्जाका लागि हो ।

यसमध्ये पनि ९३.४ प्रतिशतले हुन आउने १७ खर्ब ७७ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुले दिएका छन् । अरु कर्जा विकास बैंक, फाइनान्सलगायतका कम्पनीले प्रवाह गरेका हुन् । राष्ट्र बैंकको तथ्यांकअनुसार कुल कर्जा ५.९६ पटक बढ्दा चालू पुँजी कर्जा ५.१ पटक वृद्धि भएको छ । जसमा ९३.४ प्रतिशत चालू पुँजी कर्जा वाणिज्य बैंकहरूले प्रवाह गरेका छन् । तथ्यांकअनुसार वाणिज्य बैंकहरूले यस वर्षको नोभेम्बरमा कुल कर्जाको ४२.५ प्रतिशत चालू पुँजी कर्जा प्रवाह गरेका छन् ।

कहाँ गयो कर्जा ?

सरोकारवाला निकायले विभिन्न क्षेत्रमा भएको कारोबारको अस्वाभाविक वृद्धिलाई चालू पुँजी कर्जाको दुरुपयोगको संकेतका रूपमा लिएका छन् । घरजग्गा क्षेत्रमा भइरहेको लगानी वृद्धि, सेयर बजारमा भएको वृद्धि तथा अन्य क्षेत्रमा पनि भइरहेको वृद्धिलाई यसको संकेतको रूपमा लिइएको राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ ।

उत्पादन तथा रोजगारी सिर्जनामा यस्तो कर्जाको भूमिका महत्वपूर्ण हुन्छ । तर यस्ता क्षेत्रमा यो कर्जा नगएको निष्कर्ष अधिकारीहरूको छ । कर्जा दुरुपयोगको घटना बारम्बार आइरहेपछि अन्तर्राष्ट्रिय मुद्राकोषले समेत निगरानी बढाएको थियो । जसका कारण मार्गदर्शन जारी गरेर कडाइका साथ व्यवस्थित गर्नुपर्ने दबाब राष्ट्र बैंकलाई परेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले पटक पटक यसबारे निगरानी गर्न भन्दै आएको छ ।

अर्कोतिर महालेखापरीक्षकको कार्यालयले समेत आफ्नो प्रतिवेदनमा चालू पुँजी कर्जाका बारेमा प्रश्न उठाउँदै आएको छ । महालेखाले विभिन्न उद्योगी तथा व्यवसायीले लिएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी सञ्चालक तथा सम्बद्ध पक्षलाई सापटी दिने लगायत कार्यमा प्रयोग गरेको देखिएको ५९ औं प्रतिवेदनमा समेत औंल्याएको छ । महालेखाले राष्ट्र बैंकले यसबारे गरिने सुपरीवेक्षणलाई सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनका कारण पनि राष्ट्र बैंकलाई यो मार्गदर्शन जारी गर्न दबाब परेको हो । राष्ट्र बैंकले २०७८ पुस १० मा पहिलो पटक चालू पुँजी कर्जा मार्गदर्शन २०७८ राय सुझावका लागि जारी गरेको थियो । त्यसपछि २०७९ भदौ ७ मा जारी गरी कात्तिक १ देखि कार्यान्वयनमा ल्याइएको छ ।

उद्योगी–व्यवसायीले असन्तुष्टि जनाएपछि मार्गदर्शन कार्यान्वयनका लागि देखिएका समस्याबारे कात्तिक ३० मा राष्ट्र बैंकले सरोकारवाला निकायहरूसँग रायसुझाव माग गरेको थियो । ठूलो रकम आफूखुसी प्रयोग गर्न पाएको निजी क्षेत्रले सकेसम्म यसलाई लागू नगर्ने र गर्नैपरे पनि समय धकेल्न चाहिरहेको छ । अहिलेलाई कम्तिमा एक वर्षसम्म यो मार्गदर्शनलाई पछि धकेल्ने माग निजी क्षेत्रको छ ।

कर्जाको चर्को ब्याज भन्दा पनि यही विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघको टोली उच्च तहका नेताहरु, मन्त्री, गभर्नर र प्रधानमन्त्री समक्ष पुगेर लबिङ गरिरहेका छन् । मंसिर ४ को निर्वाचनअघि सडक आन्दोलनमा पुगेको निजी क्षेत्र अहिले पनि अस्थिर छ । अहिले काठमाडौं उपत्यका बाहिरबाट विरोधका कार्यक्रम हुन सुरु गरेका छन् । सोमबारमात्र उद्योगी–व्यवसायीहरुले स्याङ्जामा विरोध कार्यक्रम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्