Logo

उत्पादनमा व्यावसायीकरण

तुलसीपुर उपमहानगरपालिका–१६ फचकुलुवाका किसान दीपेन्द्र वलीले पनि २०७५ सालबाट व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । उनीसहित तीनजना साथी मिलेर व्यवसाय सुरु गरेका थिए । उनीहरूको बाख्रा फर्ममा हाल पाठापाठी र अन्य गरेर १ सय ५० बढी बाख्रा छन् ।

पछिल्लो समय जिल्लामा कृषिमा पेसामा आकर्षण बढ्दै गएको छ । कृषिका लागि उपयुक्त स्थान भएको कारण पनि कृषिमा आकर्षण बढ्दै गएको हो । विदेश गएर फर्किएका तथा स्वदेशमा रहेकाहरू पनि अहिले कृषितर्फ लाग्न थालेका छन् । अहिले कृषि क्षेत्र युवाहरूको आकर्षणको क्षेत्रसमेत बन्न थालेका छन् भने कतिपय सेवा निवृत्त भएपछि पनि कृषिमा जोड्न थालेका छन् ।

घोराही उपमहानगरपालिका–७ निवासी जुद्धबहादुर हमाल सेवा निवृत्त शिक्षक हुन् । जागिरे जीवनबाट अवकाश प्राप्त गरेपछि उनले अहिले बाख्रापालन गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–७ जवरपुरका ५७ वर्षका हमालले अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनले वि.सं २०७५ सालबाट केही बाख्रा पालेर व्यवसाय सुरु गरेका थिए । त्यसपछि उनले व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका छन् । जनसेवा बाख्रा तथा कृषि फर्म संस्था दर्ता गरी बाख्राको मासु र पाठापाठी पनि उत्पादन गर्दै आएको उनले बताए ।

रोल्पा रुन्टीगढी गाउँपालिका–३ बाट बसाइँसरी दाङ झरेका हमाल लामो समय शिक्षण पेसामा आबद्ध भएर काम गरेका थिए । २० वर्षपछि अवकास प्राप्तपश्चात खाली समयलाई सदुपयोग गर्दै बाख्रापालन व्यवसाय गर्न थालेको उनले बताए । हमालको परिवार २०५२ सालमा दाङको देउखुरी बसाइँसरी आएको थियो । त्यहाँ करिब २० वर्षको बसाई पछि फेरि घोराही–७ जवरपुरमा २०७० सालमा आएको हमाल बताउँछन् । जागिरको समय सकिएपछि केही काम गर्नुपर्छ भन्नेसोचका साथ कृषि व्यवसायमा आबद्ध भएको उनले बताए ।

“मैले खसी, बोकासँगै बीउका लागि बोयर जातको शुद्ध पाठापाठी बिक्री पनि गर्दै आएको छु,” उनले भने । उनले आफूसँंग नभएका मात्र अनेत्रबाट पाठापाठी खरिद गरेर ल्याउने गरेका छन् । हाल उनको बाख्रा र्फममा १३/१४ वटा पाठापाठीसहित ८० बढी बाख्रा छन् । बाख्रापालनबाट वार्षिक रूपमा १०/१२ लाख रुपैयाँको आम्दानी गर्दै आएको हमाल बताउछन् । यहाँ उत्पादन भएको शुद्ध बोयर जातको बोका तथा पाठीको माग विभिन्न जिल्लाबाट आउने गरेको छ ।

“यहाँ उत्पादन भएका बोयर जातको बोका तथा पाठीलाई बीउका रूपमा जिल्लाको विभिन्न ठाउँबाट माग हुने गरेको छ,” उनले भने, “उत्पादन गर्नसके बजारको कुनै समस्या छैन, मागअनुसार उत्पादन गर्न सकिएको छैन ।” बाख्रापालनका लागि आवश्यक घाँस उहाँ आफैंले उत्पादन गर्ने गरेको उनले बताए । उन्नत र आधुनिक जातको घाँस बर्सिम, जै लगाए घाँसको पनि खेतीगरेको बताए । यो संगै मसुरो, गहुँको भुस पनि खुवाउने गरेको बताए ।

डाले घाँसको भने आफूलाई समस्या भएको उनलेको भनाइ रहेको छ । बाख्रापालन नै हमालको परिवारको मुख्य आम्दानीको स्रोत हो । बाख्रापालनबाट प्राप्त भएको आम्दानीले छोरालाई शिक्षा तथा घर खर्च पनि यही व्यवसायबाट चलाउँदै आएका छन् । बाख्रापालन व्यवसायमा उहाकोँ श्रीमती र छोराले पनि सहयोग गर्दै आएको उनले बताए ।

रोजगारका लागि विदेश गएका उनी विदेशभन्दा आफ्नै ठाउँ केही गर्नुपर्छ भनेर ललित बाख्रा फर्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेका हुन् । विदेशमा भने जस्तो काम पाउन नसकेपछि आफ्नै देशमा काम गर्ने सोच बनाएर अगाडि बढेको उनी बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिका–१६ फचकुलुवाका किसान दीपेन्द्र वलीले पनि २०७५ सालबाट व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । उनीसहित ३ जना साथीहरू मिलेर व्यवसाय सुरु गरेका थिए । उनीहरूको बाख्रा फर्ममा हाल पाठापाठी र अन्य गरेर १ सय ५० बढी बाख्रा छन् । सुरुवाती चरणमा १ करोड २५ लाखबाट व्यवसाय गरेको समूहले अहिले ३ करोडको कारोबार गर्न सफल भएको छ । केही रकम बैंकमा ऋण तिर्न बाकी रहेको उनले बताए ।

एकीकृत कृषि तथा पशुपन्क्षी सहकारी संस्थामार्फत उनीहरूले व्यवसाय गर्दै आएका हुन् । पैसा कमाउनकै लागि बिदेसिनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि व्यवसाय अन्र्तगत बाख्रापालन गर्दै आएको उनको भनाइ छ । नेपाल व्यावसायिक बाख्रापालक महासंघ दाङ जिल्ला अध्यक्षका अध्यक्षसमेत रहेका वलीले खसी, बोका बिक्रीका लागि महासंघमार्फत समन्वय गरेर बिक्री गर्दै आएको बताए । राम्रा बोयर जातका खसी बोका पाल्दै आएको बताए ।

बाख्रालाई घाँसका लागि ७ कठ्ठा जग्गामा घाँस छरेका छन् । पछिल्लो समय भने व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएका किसानहरूले अनुदान नपाउने र बिचौलियाको हातमा पर्ने हुँदा धेरै व्यवसायीहरू बाख्रापालन व्यवसायबाट पलायन हुने अवस्था सिर्जना भएको उनी बताउँछन् । “सरकारले पनि किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्नुपर्छ,” उनले भने । बजारीकरणको समस्या हुँदा किसानले उत्पादन गरेका वस्तुले उचित मूल्यसमेत नपाउने उनी बताउँछन् ।

बबई गाउँपालिका–२ टवाङ खोलाका निवासी अनिशजंग के सीले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेको ३ वर्ष बढी भयो । रोजगारका लागि विदेश गएका उनी विदेशभन्दा आफ्नै ठाउँ केही गर्नुपर्छ भनेर ललित बाख्रा फर्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेका हुन् । विदेशमा भने जस्तो काम पाउन नसकेपछि आफ्नै देशमा काम गर्ने सोच बनाएर अगाडि बढेको उनी बताउँछन् । “अरूभन्दा हाम्रो क्षेत्रमा बाख्रापालनको संभावना राम्रो देखेर यस क्षेत्रमा अगाडि बढेको हुँ,” उनले भने ।

उनीसँगै उनको ५ जनाको परिवार बाख्रापालनमा संलग्न हुँदै आएका छन् । अहिले बाख्रापालनबाट राम्रो आम्दानीसमेत गर्दै आएका छन् । यसरी भएको आम्दानीबाट घर खर्च चलाने उनले बताए । आफूले अहिलेसम्म कुनै पनि सहयोग पाउन नसकेको उनी बताउँछन् । सरकारले कृषकहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । बाख्रापालनसम्बन्धी जानकारी नहुँदा समस्या पर्ने गरेको उनले बताए । “प्राविधिक ज्ञान नहुँदा धेरै समस्या भोग्नु परेको छ,” उनले भने । नजिक पशु प्राविधिक नहुँदा टाढासम्म जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका–३ मसोट खोला निवासी बलबहादुर पुनले पनि करिब ४ वर्ष पहिलेदेखि व्यावसायिक रूपमा बाख्रापालन सुरु गरे । उनले शुभलक्ष्मी बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेका हुन । रोजगारका लागि करिब ६ वर्ष विदेशमा बिताएका थिए । आफ्नै देशमा केही गर्नुपर्छ भनेर बाख्रापालनमा लागेको उनी बताउँछन् । “विदेशमा भन्दा आफ्नै देशमा रमाउनुपर्छ भनेर बाख्रापालन सुरु गरेको हुँ,” पुनले भने ।

अहिले आफ्नै देशमा नै दुःख गर्न पाउँदा रमाइलो लागेको उनी बताउँछन् । जे दुःख गरे पनि आफ्नै स्थानमा गर्नुपर्छ भनेर बाख्रापालनमा लागेको बताए । यसलाई नै विस्तार गर्दै अगाडि बढ्ने सोच रहको उनी बताउँछन् । उनले १० लाख लगानीबाट बाख्रापालन सुरु गरेका थिए । “जंगल क्षेत्रमा अन्य व्यवसायभन्दा बाख्रापालन उपयुक्त भएकाले बाख्रा पालन व्यवसायलाई अगाडि बढाएको हुँ,” पुनले भने । सरकारले कृषकलाई सहज रूपमा ऋण प्रदान गर्ने व्यवस्था गरी दिनुपर्ने उनको भनाइ छ । “सहुलियत ऋणका लागि धेरै प्रयास गरे पनि पाउन सकिएन,” पुनले भने ।

घोराही उपमहानगरपालिका–११ खैरा निवासी निर्मला डिसीले व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएकी छिन् । उनले निर्मला बाख्रापालन फर्म दर्ता गरेर बाख्रा पालन गर्दै आएको उनले बताइन् । कृषकहरूलाई सहुलियत ऋण प्रदान गर्ने सकेमा उनीहरूलाई सहज हुने उनको भनाइ छ । अनुदानमा पाइने ऋणका लागि धेरै पटक प्रयास गरे पनि पाउन नसकेको उनी बताउँछिन् । “कृषकले अनुदानमा ऋण नै पाउँदैनन्,” डिसीले भनिन् । अनुदान वास्तविक कृषकले पाएमा उनीहरूलाई हौसला मिल्ने उनले बताइन् । आफैंले केही गर्नुपर्छ भनेर बाख्रापालन सुरु गरेको बताइन् । आफूले थालेको कार्यमा परिवारको पनि सहयोग रहेको उनी बताउँछिन् ।

घोराही उपमहानगरपालिका–३ रनघरा निवासी प्रेमबहादुर बुढाले पनि व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका छन् । बाख्रापालनमा प्राविधिक ज्ञान नहुँदा धेरै समस्या भोग्नु परेको उनको भनाइ छ । बाख्राहरू बिरामी तथा अन्य प्राविधिक समस्या परेमा धेरै टाढा जानुपर्ने बाध्यता रहेको उनले बताए । प्राविधिकहरूलाई बोलाए पनि नआउने गरेको उनी बताउँछन् ।

वडा-वडामा पशु स्वास्थ्य कार्यालय हुन आवश्यक रहेको प्रेमबहादुरले बताए । “राज्यले कृषकलाई सहयोग पुग्ने खालको कार्यक्रम ल्याउनुपर्छ,” उनले भने । आफ्नै स्थानमा केही गर्नुपर्छ भनेर कृषि क्षेत्रमा लागेको उनी बताउँछन् । वैदेशिक रोजगारीका लागि विदेश गएका रोल्पा थवाङका सन्तोष घर्तीमगर अहिले स्वदेश फर्केर अर्कै जीवन भोग्दैछन्, तरकारी बारीमा । रोल्पाका सन्तोष खाडीमा भन्दा बारीमा सन्तोष छन् । खाडीले भन्दा बारीले उनलाई प्रतिफल दिएको छ । सन्तोषको खाडीमा काम गर्नुपर्दाको पीडालाई तरकारी बारीमा काम गर्दाको आनन्दले भुलाएको छ ।

अर्काको गुलामीको कमाइमा भन्दा आफ्नै मेहनतको कमाइले उनीहरूको मन खुसी छ । रोल्पा थवाङ घर भए पनि दाङ झरेर सन्तोषले सातजना युवाको समूह बनाएर सामूहिक तरकारी खेतीमा छन् । अहिले सन्तोषसहित ७ युवा २० बिगाहा जग्गामा लगाइएका तरकारीमा रमाइरहेका छन् । सन्तोषको बिहानैदेखिको दैनिकी घोराही उपमहानगरपालि–१३ मा तरकारीबारीबाट सुरु हुने गरेको छ । साथमा उनका सहलगानीकर्ता साथीहरू पनि छन् । उनको दैनिकीबारी मै बित्ने गरेको छ । “स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशबाट फर्केको हुँ, यहाँ साथीभाइ मिलेर तरकारी खेती गर्दै आएका छौं,” सन्तोषले भने ।

अहिले रोजगार पाउन नसकेको भन्दै धेरै युवाहरू विदेसिने गरेका छन् । तर, सन्तोषसँगै अन्य सातजना युवा मिलेर आठ वर्षअघिदेखि कृषि कर्म गरिरहेका छन् । बारीमा तरकारी लहलह बढ्दै जाँदा उनीहरूको मन पनि फुरुङ्ग हुन्छ । घोराही उपमहानगरपालिका–१३ र घोराही–१८ मा गरेर २० बिगाहा जग्गा उनीहरूले तरकारी खेतीका लागि लिजमा लिएका छन् ।

रोजगारका लागि विदेश गएका सन्तोष करिब ३ वर्ष उतै बिताएका थिए तर भनेजस्तो नभएपछि स्वदेशमा नै केही गर्नुपर्दछ भनेर कृषि पेसालाई अगाडि बढाएको बताउँछन् । “सानैदेखि नै कृषि पेशा गर्दै आएकाले यसैलाई अगाडि बढाउनुपर्छ भनेर यसैमा नै लागियो,” सन्तोषले भने । तरकारी खेती गर्नुभन्दा पहिले उनले कुखुरा पालन पनि गरेका थिए ।

उनीसँगै तरकारी खेती गरिरहेका बालकृष्ण बुढामगर करिब पाँच वर्षभन्दा बढी इलेक्ट्रिसियन भएर काम गरेका थिए । देशका विभिन्न स्थानमा इलेक्ट्रिसियन भएर काम गरे पनि सन्तुष्ट हुन नसकेपछि उनले त्यसलाई छोडेर कृषि पेशा नै रोजे । “देशका विभिन्न स्थानमा गएर इलेक्ट्रिसियन भएर काम गरियो, जागिर छोडेर अहिले कृषिमा लागेको हुँ,” बालकृष्णले भने । अहिले पनि उनले कसैले बोलाएमा इलेक्ट्रिक काम गर्ने गरेका छन् ।

आफू स्वतन्त्र भएर काम गर्न पाइने भएकाले आफू कृषि व्यवसायमा लागेको उनको भनाइ छ । ‘अहिले स्वतन्त्र भएर काम गर्न पाइएको छ कसैको दबाब छैन,” बालकृष्णले भने । देशको विकासका लागि कृषिलाई अगाडि बढाउनुपर्छ । “नेपालको विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्छ,” बालकृष्णले भने । तर धेरैको प्राथमिकतामा कृषि नपर्ने गरेको उनी बताउँछन् । राज्यले यसका लागि वातावरण बनाउन सक्नुपर्ने उनको भनाइ छ ।

“कृषकले उत्पादन गरेको उत्पादनलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्छ,” बालकृष्णले भने । तर अहिलेसम्म त्यस प्रकारको कार्य राज्यको तर्फबाट हुन सकेको छैन । “वास्तविक कृषकका लागि राज्यले केही गर्न सकेको छैन,” बालकृष्णले भने । धेरै मेहनत गरेर उत्पादन गरे पनि मूल्य पाउन नसक्दा कृषकहरूले घाटा बेहोर्नुपर्ने बाध्यता छ ।

उनीहरूले आफूहरूबाहेक घोराही १३ र १८ मा गरेर ४० बढीलाई रोजगारसमेत दिएका छन् । क्षेत्र विस्तार गर्दै गएमा थपलाई रोजगार दिन सक्ने उनीहरू बताउँछन् । रोजगारका लागि बिदेसिने युवाहरूलाई स्वदेशमा नै केही गर्न उनीहरूले सुझाव दिन्छन् ।

प्रविधिको प्रयोग बढ्दै

जिल्लामा पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएको छ । अहिले कृषिमा नया प्रविधिको प्रयोगसमेत बढ्दै गएको पाइएको छ । प्रविधिको प्रयोग गरेर काम गर्दा थोरै समयमा धेरै काम गर्ने सकिने भएकाले लागतसमेत कम हुने गरेको कृषकहरू बताउँछन् । कृषिमा युवाहरूको आकर्षणसमेत बढ्दै गएको छ ।

यसले बेरोजगारलाई रोजगार प्रदान गर्नेसमेत सहयोग पुगेको छ भने उनीहरूको आर्थिक अवस्थामा सुधार गर्नेसमेत सहयोग मिलेको उनीहरू बताउँछन् । कृषकहरूले उत्पादन गरेको वस्तुको बिक्री वितरणको जिम्मा राज्यले लिनुपर्ने उनीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्