लयमा आउँदै तरलता

बैंक तथा वित्तीय संस्थामा तरलता विस्तारै लयमा आउन थालेको छ । पछिल्ला दिनहरूमा तरलता सहज हुन थालेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । संघका अनुसार मंसिर महिनामा मात्रै बैंकहरूमा ६२.६९ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । २ मंसिरमा ४५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप मंसिर २९ मा ४६ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो ।
संघको तथ्यांकअनुसार, मंसिर अन्तिम सातामात्रै वाणिज्य बैंकहरूमा २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । २३ मंसिरमा ४५ खर्ब ९८ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप २९ मंसिरमा ४६ खर्ब २१ अर्ब पुगेको छ । गत असार मसान्तमा भने वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो । त्यसयता भने वाणिज्य बैंकहरूमा ७९ अर्ब १२ करोड रुपैयाँ निक्षेप थपिएको छ ।
जसमध्ये मंसिरमा मात्रै ७२ प्रतिशत अर्थात ५७.२२ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । निर्वाचनमा भएको खर्चहरू विस्तारै प्रणालीमा आउन थालेको बैंकर्सहरूको विश्लेषण छ । संघका अनुसार, २ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८५.९२ प्रतिशत रहेको छ ।
६ बैंकले घटाए निक्षेप
पछिल्लो एक महिनामा सर्वाधिक निक्षेप संकलन गर्ने वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले कात्तिक महिनाको तुलनामा मंसिरमा १०.०५ प्रतिशतले निक्षेप संकलन गरेको हो । बैंकले कात्तिक मसान्तमा २ खर्ब ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेकोमा मंसिर मसान्तमा २ खर्ब ७७ लाख रुपैयाँ निक्षेप आर्जन गरेको हो । यसपछि स्ट्याण्डर्ड चार्टड बैंकको निक्षेप ५.७४ प्रतिशतले बढेको छ ।
कात्तिक मसान्तमा १ खर्ब १० लाख रुपैयाँ रहेको बैंकको निक्षेप मंसिर मसान्तमा १ खर्ब १६ लाख रुपैयाँ पुगेको छ । यस बैंकपछि नेपाल बैंक लिमिटेडको निक्षेप संकलन ५.७१ प्रतिशतले बढेको छ । कात्तिक मसान्तमा १ खर्ब ९९ लाख रुपैयाँ रहेको यस बैंकको निक्षेप मंसिर मसान्तमा २ खर्ब ५ लाख रुपैयाँ पुगेको छ ।
तथ्यांक अनुसार, २० बैंकहरूको निक्षेप संकलनमा सामान्य वृद्धि देखिँदा ६ वाणिज्य बैंकहरूको घटेको छ । नेपाल बैंकर्स संघका अनुसार, एनआईसी एशिया बैंकको १.४६ प्रतिशत, कुमारी बैंकको १.८६ प्रतिशतले, मेगा बैंकको ०.३० प्रतिशत, नेपाल एसबिआई बैंकको ०३१ प्रतिशत, एनसीसी बैंकको १.०४ प्रतिशत र सञ्चुरी बैंकको १.६६ प्रतिशतले निक्षेप संकलन घटेको हो ।
छैन कर्जाको माग
निक्षेप संकलनमा वृद्धि आएपनि कर्जा परिचालनमा भने बैंकहरू सुस्ताएका छन् । ब्याजदर महँगो भएका कारण पनि कर्जाको माग सुस्ताएको हो । वाणिज्य बैंकहरूले मंसिरमा २ अर्ब ६ करोड रुपैयाँमात्रै थप कर्जा दिएका छन् । असार मसान्तयता बैंकहरूले ४८.८० अर्ब कर्जा दिएका हुन् ।
मंसिरसम्ममा वाणिज्य बैंकहरूले ४२ खर्ब २३ अर्ब ऋण दिएका छन् । गत असार मसान्तमा कुल ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा बैंकहरूले दिएका थिए । मंसिरमा सबैभन्दा बढी कर्जा स्ट्याण्डर्ड चार्टड बैंकले लगानी गरेको छ । कात्तिकको तुलनामा मंसिरमा यस बैंकले १.९४ प्रतिशतले कर्जा लगानी बढाउँदै ९१ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ ।
वाणिज्य बैंकहरूमध्ये अन्य १० बैंकहरूको भने कर्जा लगानीमा गिरावट आएको छ । एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, मेगा बैंक, माछापुच्छ्रे बैंक, सनराइज बैंक, बैंक अफ काठमाण्डू, सिभिल र सेञ्चुर बैंकले पछिल्लो एक महिनामा कर्जा लगानी घटाएका छन् ।