Logo

वाणिज्य बैंकहरूको निक्षेप ४६ खर्ब, सीडी रेसियो ८६.३१ प्रतिशत

वाणिज्य बैंकहरूको कुल निक्षेप २ अर्ब रूपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबारसम्मको तथ्यांक सार्वजनिक गर्दै अघिल्लो दिनको तुलनामा २ अर्ब रुपैयाँले वाणिज्य बैंकहरूको कुल निक्षेप बढेको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार, यी बैंकहरूको कुल निक्षेप ४६ खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाको निक्षेप ५२ खर्ब रुपैयाँ नाघेको छ । कुल निक्षेप २ अर्बले बढेर ५२ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । यो निक्षेप वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्ष यता (सोमबारसम्म) बैंकहरूको निक्षेप १ खर्ब २२ अर्ब रुपैयाँले बढेको जनाएको छ ।

यसपटक भने निक्षेपको वृद्धिदर विगतको तुलनामा सुस्त देखिएको छ । ब्याजदर विगतमा भन्दा दोब्बर बढाउँदा समेत निक्षेपमा सुधार हुन सकेको छैन । राष्ट्र बैंकको कुल ऋण ४२ अर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । चालु वर्ष जम्मा ४९ अर्ब रुपैयाँले ऋण विस्तार भएको छ । पछिल्ला दिनमा निक्षेपमा आएको सुधारले कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) घटिरहेको छ ।

अन्तरबैंक सापटीको दरमा पनि कमी आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सोमबारसम्म सीडी रेसियो ८६.३१ प्रतिशत रहेको छ । यस्तै अन्तर बैंक सापटी दर ६.८६ प्रतिशतमा आएको छ । यसअघि अन्तर बैंक सापटी स्थायी तरलता सुविधाकै दरमा रहँदै आएको थियो । यो दर साढे ८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्