Logo

मोटरेबल पुल मर्मत गर्न दोविल्ला, फलेवास सडक तीन साता बन्द

जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ र ११ जोड्ने दोविल्ला पुल मर्मत गरिने भएको छ । लामो समयदेखि मर्मतको अभावमा अत्यन्तै जीर्ण यो पुल मर्मत गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतले मंसिर २८ गते बुधबारदेखि मर्मत गर्ने भएको छ ।

पुल मर्मतका लागि तीन सातासम्म दोविल्ला-फलेवास सडक बन्द गरिने भएको छ । सडक विभागमा लामो दबावपछि मर्मतमा चासो देखाएको हो । यो पुलले कुश्मा नगरपालिकाका ६ वटा वडाका साथै फलेवास नगरपालिका, विहादी, महाशिला र पैँयु गाउँपालिकाका सबै वडा र छिमेकी स्याङ्जासमेत समेट्दै आएको छ ।

पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यका अनुसार सबै पक्षको छलफलबाट पुल मर्मतका लागि मंसिर २८ गतेबाट पौष १९ गतेसम्म सडक बन्द गरिने भएको छ । उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मर्मतको काम गरिने छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पुल निर्माण थालिएको हो ।

२०५६ मा ट्रयाक खुलेको दोबिल्ला-फलेवास सडकमा यो अस्थायी बेलिब्रिज शैलीको पुल २०६३ मा डिजाइन गरिएको थियो । सुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताले दबाव दिएको भए पनि केही समयका लागि भन्दै तत्कालीन जिल्ला विकास समितिले कमजोर पुल डिजाइन गरेको स्थानीयको आरोप छ । पुलमा बिछ्याइएका फलामे पाताको बढीमा ५ वर्ष आयु हुने भए पनि लामो समयसम्म पाता नफेर्दा अहिले पुल धराप बनेको स्थानीय चित्रसागर श्रेष्ठले बताए ।

उनका अनुसार दैनिक सयभन्दा धेरै सवारी ओहोरदोहोर गर्ने पुलमा दैनिकजसो सवारी फस्ने र दुर्घटना हुने जस्ता जोखिम बढेका छन् । दुवैतर्फ फलामका लठ्ठा तानेर बनाइएको पुलको भुइँमा फलामका पाता राखिएको छ । क्षमताभन्दा बढी भार भएका सवारीका कारण पाता धस्सिएका छन् । साँघुरो पुलमा धस्सिएको भागबाटै सवारी गुडाउनुपर्ने बाध्यता रहेको छ ।

पुल मर्मतसँगै सोही स्थानमा अर्को मोटरेबल पुल निर्माणका लागि सम्भाव्यता अध्ययन समेत भएको छ । सडक विभागले लामो दबावपछि नयाँ मोटरेबल पुल निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन सुरु गरेको हो । विभागले चालु वर्षमै विस्तृत परियोजना प्रतिवेदन पेस गर्नेगरी योजना पेस गर्न एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको छ ।

कन्सल्टेन्सीका इन्जिनियर चन्द्रदेव बोहोराले अघिल्लो सोमबार दोबिल्ला पुलको स्थलगत निरीक्षणसहित सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिए । ‘जीर्ण पुलको विषयमा गम्भीरतासाथ कुरा राखिएको थियो,’ फलेवास नगरप्रमुख गंगाधर तिवारीले भने, ‘सम्भाव्यता अध्ययन भएको छ । चालु वर्षमै ठेक्का खुलाउने गरी कुरा अघि बढेको छ ।’ पुरानो पुलको उत्तरतर्फ सँगै जोडेर नयाँ पुल निर्माण गर्नेबारे प्राविधिकसँग कुराकानी भएको तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्