Logo

मध्यपहाडी लोकमार्ग : स्टिमेटभन्दा फरक काम, सडक भासियो, पर्खाल भत्किए

जाजरकोट खण्डमा बेथितिका चाङ

मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट सडक खण्डको ८३ किलोमिटर सडक निर्माणमा पूरै बेथिति देखिएको छ । गुणस्तरीय निर्माण नहुँदा ठाउँठाउँमा सडक भासिने, कालोपत्रे उप्कने र पर्खालहरू भत्कने गरेको छ । आयोजना कार्यालयले स्टिमेटअनुसार ठेकेदार कम्पनीले काम नगरेको आरोप लगाएको छ । यो खण्डको कुदुदेखि स्याउली बजारसम्मको १७ किलोमिटर क्षेत्रको सडक जीर्ण बनेको छ ।

कुदुदेखि स्याउली (गिमा) सम्म पिचको काम पूरा भए पनि सडक भत्किँदै गएको छ । यो क्षेत्रको आधा दर्जनभन्दा बढी क्षेत्रमा सडक भासिएको छ । केही ठाउँमा खाल्डा पर्न सुरु गरेको छ । कमजोर निर्माण सामग्री प्रयोग भएकै कारण सडक जीर्ण बनेको आरोप लागेको छ । ह्युम पाइप, पर्खाल र नाला निर्माण गरिएका क्षेत्रमा सडक बढी जीर्ण बनेको योजना कार्यालय दैलेखले जनाएको छ ।

गुणस्तरहीन सिमेन्ट प्रयोग गरेका कारण पर्खाल भासिएको हो भने माटो भरेर ह्युम पाइप राख्दा सडक भत्किन पुगेको आयोजनाका इन्जिनियर हुमनाथ पौडेलले बताए । मापदण्डविपरीत निर्माण गरिएका पर्खाल भत्काएर पुनर्निर्माण गर्न लगाएको उनले जानकारी दिए । “इन्जिनियरको आँखा छलेर गुणस्तरहीन निर्माण गरिएका संरचना भत्काएर पुनःनिर्माण गरिएको छ,” उनले भने, “अब पनि गल्ती हुन नदिन ल्याब टेस्ट गर्न लगाएका छौं ।”

कुदुदेखि गिमासम्मको खण्डमा कमसल सामग्रीका कारण केही पर्खाल भत्किएका छन् । भत्किएको पर्खाल पुनर्निर्माण गर्न थालिएको छ । कमसल सामग्री प्रयोग गरेर निर्माण गरिएका पर्खाल ठेकेदारले पुनः निर्माण गर्न लागिएको उनले बताए । “प्राविधिक समस्याले कमसल सामग्री प्रयोग भएको ठाउँमा पुनः निर्माण गर्न थालेका छौं,” सडक निर्माणको ठेक्का लिएको सिंह एण्ड ब्रदर्स कम्पनीका प्रतिनिधि विश्वास उप्रेतीले भने, “जानाजान गल्ती भएको होइन, प्राविधिक कारणले त्रुटी भएका ठाउँमा सच्चाएका छौं ।”

कुनै ठाउँमा प्राविधिक कमजोरी भए पनि अधिकांश ठाउँमा जमिन कमजोर भएका कारण सडक भासिएको उनको भनाइ छ । गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाइएका पर्खाल भने पुनर्निर्माण गर्न थालिएको उप्रेतीले बताए । एक–दुई ठाउँमा मात्रै भुलवश गुणस्तरहीन सामग्री प्रयोग भएको उनको दाबी छ ।

स्थानीयले भने कुदुदेखि गिमासम्मको अधिकांश क्षेत्रमा कमसल सामग्री प्रयोग भएको आरोप लगाउँदै आएका छन् । ठेकेदारले सडक निर्माणमा कमसल निर्माण सामग्री प्रयोग गरेकै कारण वर्ष दिन नपुग्दै सडक भासिने, अधिकांश पर्खाल भत्किने र ह्युम पाइप राखिएका ठाउँहरू जीर्ण हुने गरेको स्थानीय बताउँछन् ।

“वर्षदिन नहुँदै सडक ठाउँ–ठाउँमा भासिएको छ, कतै खाण्डाखुल्डी पर्न सुरू भएको छ,” भेरी नगरपालिका–८ का भद्रबहादुर शाहीले भने, “कमसल सामग्री प्रयोग गरेकै कारण सडक भासिने र पर्खालहरू भत्कने गरेको हो ।” ठेकेदारले पुरानो सिमेन्ट र कमजोर सरिया प्रयोग गरेर पर्खाल बनाएको तर स्थानीय सरकार र सम्बन्धित निकायले प्रभावकारी निरीक्षण नगरेको उनको भनाइ छ ।

कुदुदेखि गिमासम्मको खण्डमा ठेकेदारले कमसल सामग्री प्रयोग गरिएको भन्दै त्यस क्षेत्रका स्थानीयले काम नै अवरूद्ध पारेका थिए । आफूहरूले ठेकेदारको विरोध गर्दा पनि वडा कार्यालय र आयोजनाले कुनै वास्ता नगरेको अर्का स्थानीय नरबहादुर शाहीले बताए । “सुरूमै निर्माण सामग्री कमसल भयो भनेर हामीले विरोध गरेका थियौं तर कसैले वास्ता गरेनन्,” उनले भने, “त्यसबेला आयोजना र स्थानीय सरकार चुपचाप बसे ।” तर निर्माण कम्पनीले भने गुणस्तरीय सामग्री प्रयोग भएको दाबी गर्दै आएको छ ।

स्टिमेटविपरीत काम भएपछि भुक्तानी रोकियो

मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको मन्टाभिरमा स्टिमेटअनुसार काम नभएपछि भुक्तानी रोकिएको छ । वर्षौंदेखि मन्टाभिरको काम स्टिमेटअनुसार नभएपछि आयोजनाले ठेकेदारलाई भुक्तानी दिएको छैन । “ठेकेदारले सम्झौतामा उल्लेख भएको स्टिमेटअनुसार काम गरेन,” मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय दैलेखका प्रमुख युवराज पोखरेलले भने, “स्टिमेटअनुसार काम नहुँदासम्म भुक्तानी दिन मिल्दैन ।” अब स्टिमेटअनुसार काम नगर्दासम्म भुक्तानी नदिने बरू ठेक्का नै तोड्न सक्ने कार्यालयको भनाइ छ ।

ठेकेदार कम्पनीले भने स्टिमेटअनुसार काम गरिरहेको दाबी गरेको छ । रकम भुक्तानी नभएपछि हाल सडकको सो क्षेत्रमा बाँकी काम रोकिएको छ । लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा पर्ने कुल ८३ किलोमिटरमध्ये ५० किलोमिटर कालोपत्रे भइसकेको छ । यसमध्ये मन्टाभिरमा मात्रै ट्रयाक खोल्न बाँकी छ । ट्रयाक खुल्न बाँकी रहेको मन्टाभिरसहित ३३ किलोमिटर खण्डमा कालोपत्रे हुन बाँकी छ । कुल खण्डमध्ये ५४ किलोमिटर सडक निर्माणको जिम्मा सिंह एण्ड ब्रदर्स कम्पनीले लिएको छ ।

कुल ५५ करोड ६३ लाख ३ हजार ४७६ रूपैयाँमा २०७८ माघ ४ गते सम्म सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर कोरोना महामारीका कारण आयोजनाको म्याद थप गरेर २०८० असार २६ गते सम्म म्याद थप गरेको हो । तर भुक्तानी नभएकै कारण बाँकी खण्डको काम रोकिएको निर्माण व्यवसायीले बताएका छन् । मापदण्डअनुसार काम भएका क्षेत्रको कुल ४५ करोड ४६ लाख ९ हजार १५७ रूपैयाँ आयोजनाले ठेकेदारलाई भुक्तानी दिइसकेको छ ।

ठेकेदारबाट ठगियौंः स्थानीय

सडक निर्माणको काममा खटिएका स्थानीयले आफूहरू ठगिएको बताएका छन् । सम्पूर्ण ज्याला नदिएर ठेकेदारले ठगेको स्थानीय बलबिर चन्दले बताए । “कालापहाड जान छोडेर सडकको काम गर्‍यौं । तर ठेकेदारले पूरै कामको ज्याला दिएनन्,” भेरी नगरपालिका–८ का भद्र शाहीले भने । शाहीको २ लाख ५० हजार, निलु चन्दको ५५ हजार, ललित शाहीको २ लाख ५२ हजार रूपैयाँ ठेकेदारले नदिएको बताइएको छ । तर ठेकेदार उप्रेतीले भने सबैलाई ज्याला दिइसकेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्