Logo

पोखरा सडक महोत्सवको तयारी तीव्र

फाइल तस्बिर ।

भूकम्प र कोभिड–१९ बाट प्रभावित पोखरा क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन गर्न यसवर्ष पाँच दिने पोखरा सडक महोत्सव आयोजना गरिने भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा १३ देखि १७ पुससम्म आयोजना हुने सडक महोत्सवले समग्र पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने रेवान पोखराका अध्यक्ष एवं महोत्सव संयोजक नरेश भट्टराईले बताए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई महोत्सवमय बनाउने तयारी तीव्र पारिएको संयोजक गरिएको भट्टराईले बताए ।

महोत्सवका मुख्य आकर्षणको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, लाइभ कन्सर्ट प्रस्तुति हुने भएको छ ।

बोट रेस, खुल्ला भेट्रान्स टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको डकुमेन्ट्री प्रर्दशन हुने भएको छ । संयोजक भट्टराईले भने, “हामीले आगन्तुक पाहुनालाई राम्रो आतिथ्यता दिने हो, हाम्रा रेष्टुरेण्ट तथा होटलको मुल्य सूचि ५ दिन छुट्टै प्रकासित गर्ने छौंं, त्यो मूल्यमा कसैले बढी लिएको उजुरी परेमा पनि हामीले ठगि मुद्दा चलाउन सिफारिससम्म गर्ने छौं ।”

महोत्सवलाई सफल पार्न विभिन्न शहरसम्म जाने तयारी भएको महोत्सवका प्रचार संयोजक विश्वराज पौडेलेले बताए । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराका निवर्तमान अध्यक्ष एवं सांस्कृतिक संयोजक चौबहादुर गुरुङले यस वर्ष पनि महोत्सवमा विभिन्न जनजातिको झाँकी, कला संस्कृति झल्कने भेषभुषा सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको बताए ।

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले रेवान पोखराको आयोजनामा पोखरामा हुने पोखराको सडक महोत्सव र संघको जाउँ है पोखरा अभियानले पोखराको पर्यटन प्रबद्र्धन गर्नुका साथै पोखराको ब्राण्ड नै बनेको दाबी गरे । अहिलेको अवस्थामा आन्तरिक भन्दा विदेशी पर्यटकहरु विस्तारै आउने क्रम भएकोले आफूहरु बढी आशावादी भएको उनले जनाए ।

महोत्सवका अवसरमा आन्तरिक पर्यटकको सहभागिताले आफुहरुलाई निकै हौसला मिल्ने गरेको उनले बताए । महोत्सवबाट ८५ लाख आम्दानी गरी ७० लाख खर्च हुने अपेक्षा गरिएको रेवान पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्