पणेनाको सिम्लेमा पाँच करोडको सुन्तला «

पणेनाको सिम्लेमा पाँच करोडको सुन्तला

वारि पारिबाट हेर्दा फूल फुलेर पहेंलपुर भएजस्तै देखिने मनोरम दृश्य । यो दृश्य फूल फुलेको होइन पुसमा सुन्तला पाकेर पहेंलपुर भएको हो । अर्घाखाँचीको एउटै गाउँ पणेनाको सिम्लेमा यस वर्षमात्रै पाँच करोडको सुन्तला उत्पादन भएको छ । यहाँका सबैजसो घरधुरीले सुन्तला बिक्रीबाट न्यूनतम पाँच लाखदेखि २८ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गर्ने गर्छन् ।

जिल्लामा पणेनामा गएपछि प्रशस्त सुन्तला खान पाइन्छ भन्ने अर्घाखाँचीसहित छिमेकी जिल्लाकालाई पनि जानकारी छ । जाडोको समय भए पनि खाउँखाउँ हुने मिठो रससहितको सुन्तला पणेनाको सिम्लेमा पाइन्छ । पानी र चियाको सट्टा यहाँ आएका पाहुनालाई सुन्तलाले स्वागत गरिन्छ ।

यहाँका कृषकहरू कोही विदेश गएर फर्किए, कसैले ड्राइभर पेसा छोडे, कोही भारतबाट नोकरी छोडेर आए, कोही स्वदेशकै बुटवल, काठमाडौंका जागिर छोडेर आई सुन्तला खेतीमा लागे । यहाँ युवा, महिलादेखि वृद्धवृद्धा पनि सुन्तला टिप्न र बिक्री गर्नमै व्यस्त छन् आजभोलि । विदेशको अनुभव संगालेर घर फर्केका युवाहरू पनि व्यावसायिक कृषक बनेका छन् । पणेना सिम्लेका रेवती पौडेलको सुन्तला बगैँचा मनै लोभ्याउने छ । २० रोपनी बारीमा सुन्तला लगाएका पौडेलले २८ लाखको सुन्तला बिक्री गर्छन ।

२५ वर्षदेखि परिवार नै व्यावसायिक रूपमा सुन्तलाखेतीमा लागेका माधव पौडेलको बारीमा पाँच सय सुन्तलाका बोट छन् । विदेश जाने उमेरका २६ वर्षीय युवा माधव पौडेलले १५ रोपनीमा सुन्तला लगाएका छन् । आजभोलि बगैंचाबाटै प्रतिकेजी ७० रुपैयाँमा सुन्तला बिक्री भएको छ, अझै सुन्तलाको भाउ वृद्धि भई प्रतिकेजी एक सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।

सुन्तला बढी उत्पादन भएपछि लुम्बिनी प्रदेश सरकार र स्थानीय कृषकहरूको अग्रसरतामा ५० प्रतिशत अनुदानमा शिवशक्ति शीतभण्डारको स्थापना भएको छ । अधिकांश कृषकको सुन्तला शीतभण्डारमा राखिने भएको छ । शीतभण्डारमा राखेका सुन्तला केही मात्रामा बिग्रिए पनि गाउँमै कोल्डस्टोर निर्माणपछि पाणिनी सिम्लेका सयौं कृषकलाई टेवा पुगेको छ । प्राविधिक कारणले समस्या आएता पनि गाउँमा बनेको कोल्डस्टोर निर्माणले कृषकमा उत्साह छाएको कृषक हरिप्रसाद पौडेलले बताए ।

गत वर्षभन्दा अर्घाखाँचीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । सुन्तला टिप्ने, बिक्री गर्ने भइरहेको छ । जिल्लाको सुन्तला उत्पादन गुणस्तरीय भएको सरकारी कार्यालयको तथ्यांक छ । परम्परागत रूपमा गरिने मकै, गहुँ, जौ, कोदोलगायतको खेतीबाट भन्दा सुन्तला खेतीबाट करिब २५ करोड बढी आम्दानी हुने प्रधानमन्त्री कृषि परियोजना अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताए । पणेनाका झण्डै दुई सय र साविकको वडा नम्बर १ सिम्लेमा मात्रै ५० जना कृषक रोजगारीका लागि विदेशको मुख ताक्नु नपर्ने बताउँछन् ।

अर्घाखाँचीमा पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन, साकिन्धारालगायतका ठाउँका कृषकको मुख्य स्रोत सुन्तलाखेती हो । अर्घाखाँचीमा १२ सय हेक्टरमा सुन्तलाखेती गरिएको छ । यहाँ उत्पादन भएको सुन्तला रुपन्देही, कपिलवस्तु, सन्धिखर्क, तम्घासलगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्