मनसुनी पात्रो परिवर्तनको असर
चार जिल्लामा साढे ६ अर्ब क्षति

गत असोज मध्यमा आएको बेमौसमी वर्षाले कर्णाली प्रदेशका ४ जिल्लामा साढे ६ अर्ब रुपैयाँबराबरको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अनुसन्धानले गत असोज १७ पछि कर्णाली प्रदेशका ४ जिल्लामा आएको मनसुनजन्य विपत्तिले ६ अर्ब ४३ करोड बराबरको नोक्सानी पुर्याएको देखाएको हो ।
प्राधिकरणको प्रारम्भिक अध्ययनअनुसार सबैभन्दा धेरै असर जुम्लामा परेको छ । जुम्लामा २ अर्ब २५ करोड ५९ लाख बराबरको वित्तीय क्षति पुुगेको छ । यसैगरी कालिकोटमा २ अर्ब १० करोड ६४ लाख, मुगुमा १ अर्ब २९ करोड ३७ लाख र हुम्लामा सबैभन्दा कम ७६ करोड २२ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

पछिल्ला वर्षहरूमा मनसुन आउने र जाने समय विगतको जस्तै देखिँदैन । यसले नेपालले विपतका पूर्वतयारीका कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक देखिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जलवायु परिवर्तनको असरका कारण मौसमी अवस्थामा आएको फेरबदलका कारण अकल्पनिय क्षति भइरहेको भन्दै अब क्षति कम गर्न पूर्वतयारीका कार्यक्रम र विपत्मैत्री पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।
“गत वर्ष पनि मनसुन सुुरुवात भएलगत्तै मेलम्ची आयोजनामा क्षति पुग्यो । बेमौसमी वर्षाका कारण अर्बौंको धान क्षति भएको हो । अगामी दिनमा पनि कहिल्यै विपत्जन्य क्षति नबेहोरेका क्षेत्रहरूमा विपत्का घटना हुन थालेका छन् । अकल्पनिय क्षति बढ्न थालेको छ,” उनले भने, “यसपटक दसैंको समयमा आएको बाढीपहिरोका कारण धनजनको क्षति हामीले सामना गर्नुपर्यो । यसर्थ अब हामी पूर्वतयारीमा जुटेनौं भने भावी दिनमा निम्तिने क्षति अझै बढ्दै जाने छ ।”
उनका अनुसार वातावरणमैत्री विकासको अभावका कारण पनि धनजनको क्षति बढिरहेको छ । “हामीले भिरालो जमिनमा घर बनाउन थालेका छौं । नदी किनारामा बस्छौँ भने यस्ता मनसुनजन्य विपतका कारण धेरै क्षति बेहोर्नुपर्ने हुन्छ । यसपछि आउने आर्थिक र मानविय क्षति अकल्पनिय हुन सक्छ,” उनले थपे ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गत जलवायु विश्लेषण शाखा प्रमुुख तथा वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले पनि पछिल्लो समय मनसुनी प्रकृतिमा फेरबदल आउन थालेको बताएकी छन् । “पछिल्लो समय मनसुुन लम्बिन थालेको छ । मनसुन सकिने समयमा पहिले मनसुनजन्य विपत्तिको असरहरू देखिँदैनथ्यो । सेप्टेम्बरको अन्त्यमा मात्रै असर देखिन्थ्यो । तर अहिले अक्टोबरको आधासम्म पनि असर देखिन थालेको छ । नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएसँगै मनसुनी पात्रोमा फेरबदल आउन थालेको छ,” उनले भनिन्, “अव भावी दिनहरूमा जलवायुजन्य विपतका घटनाहरू बढेर जाने देखिन्छ । यस कारण पूर्वतयारीमा जोड दिन आवश्यक छ ।”
कँडेलले मनसुनी पूर्वसूचना प्रभावकारी रुपमा कृषकसम्म पुग्न नसक्दा पनि मनसुनबाट कृषिमा हुने क्षति बढिरहेको बताइन् । गत वर्ष पनि विभागले वर्षासम्बन्धी पूर्वसूचना दिए पनि कृषकसम्म नपुुग्दा र कृषकले पालना गर्न नसक्दा कृषिमा बढी भएको उनको भनाइ छ । “पूर्वसूचना पनि स्थानीयले बुझ्ने भाषमा पठाउनुपर्छ । साक्षरताका कार्यक्रमहरू पनि बढाउनुपर्छ, स्थानीय तहमा क्षमता विकास हुनुपर्छ,” कँडेलले थपिन्, “हिमाल र पहाडी क्षेत्रमा बाढी सम्बन्धि पूर्वसूचना मापन गर्ने स्टेसन कम छन् । स्टेसन बढाउँदै लानुपर्छ । अब पूर्वतयारीमा राज्यको लगानी पनि बढाउनुपर्छ ।”
यस वर्ष साता दिन अगाडि नै सुरु भएको मनसुन झन्डै साता दिनसम्म पछि धकलिएको थियो । गत वर्ष पनि मनसुन सुरुवात भएको साता दिन नपुुग्दै मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्बको क्षति भएको थियो । विपतबाट जोगाउन मनसुन सुरुवात हुनुअगावै बन्द गरिएको मेलम्ची खानेपानी आयोजना हालसम्म पनि सुचारु हुन सकेको छैन । यसैगरी मनसुन सकिएसँगै आएको बाढीका कारण झन्डै ८ अर्बको धान बाली नष्ट भएको कृषि मन्त्रालयको तथ्यांक छ । मनसुन सुरुवात भएको मध्यतिर मात्रै क्षति हुने गरेकोमा हाल मनसुन सुरुवात र मनसुन सकिएसँगै भएको क्षतिले अझै सतर्कता अपनाउनुपर्ने देखिएको जानकारहरु बताउँछन् ।