हुवावेले आफ्नै ओएस दर्ता गरायो

अमेरिकाले प्रतिबन्ध लगाएसँगै चर्चाको प्रमुख विषय बनेको चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेले अन्ततः आफ्नो अपरेटिङ सिस्टम ल्याउने संकेत दिएको छ । कम्पनीले अपरेटिङ सिस्टम ‘हङमेङ’ को ट्रेडमार्क दर्ता गराएको छ ।
हुवावेका आगामी स्मार्टफोनमा गुगलले एन्ड्रोइड सिस्टम चल्ने वा नचल्ने अनिश्चित भएको एक महिनामा हुवावेले आफ्नै ओएस ल्याउने कुरा बाहिर ल्याएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हुवावेलाई गत महिना कालोसूचीमा राख्ने आदेश दिएको थियो । अमेरिकाले आर्थिक नाकाबन्दी लगाएपछि प्रभावित हुन पुगेको बजारमध्ये कम्तीमा ९ देश र युरोपमा यो हङमेङ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ता गराइएको छ ।
यसअघि एन्ड्रोइड अपरेटिङ सिस्टमलाई हुवावेले आफ्ना फोनमा उपयोग गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको विश्व बौद्धिक सम्पत्ति संगठनको डेटा अनुसार हङमेङ ट्रेडमार्क कम्बोडिया, क्यानाडा, दक्षिण कोरिया र न्यूजील्यान्ड लगायतका देशका लागि दर्ता गरिएको छ । पेरूको नियामक निकायका अनुसार यस्तो आवेदन मे २७ मा दर्ता गराइएको थियो । हङमेङको प्रयोग हुवावेले स्मार्टफोन, पोर्टेबल कम्प्युटरदेखि लिएर रोबोट, कार र टेलिभिजनका लागि गर्न चाहेको जनाएको छ ।
अपरेटिङ सिस्टम आफैमा खर्चिलो तथा विकास गर्न समय धेरै खर्चिनुपर्ने भएकाले हुवावे ओएस कहिले आउँछ भन्ने अझै भन्न सकिने अवस्था छैन । उता अमेरिकाले लगाएको हुवावेमाथिको प्रतिबन्धको अमेरिका भित्र र बाहिर आलोचनात्मक टिप्पणी भइरहेका छन् ।