प्रत्यक्ष विदेशी लगानी शून्यतातर्फ !

अघिल्लो वर्षको तीन महिनाको तुलनामा यो वर्ष खुद प्रत्यक्ष विदेशी लगानी ९८.४२ प्रतिशतले गिरावट आएको छ । गत वर्ष तीन महिनामा ५ अर्ब ७ करोड रुपैयाँ आएको विदेशी लगानी यो वर्ष ८ करोडमा झरेको छ ।
मुलुकमा विदेशी लगानी भित्र्याउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा दुई–दुई पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरे । त्यसपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि विदेशी लगानी ल्याउन अनेकौं प्रयास गरेको छ । मुलुकमा लगानीको वातावरण बनाउन विभिन्न कानुन पनि बनाइएका छन् । तर, यी सबैको प्रभाव उल्टो छ ।
मुलुकमा विदेशी लगानी आउने क्रम शून्यतातिर जाँदै गरेको देखिएको छ । पछिल्ला दुई वर्षमा कोभिड महामारीका कारण विदेशी लगानी आउन कम हुनु स्वाभाविकै थियो । तर, चालू वर्ष पनि यसमा कुनै चामत्कारिक सुधार भएको छैन । उल्टो विदेशी लगानीको प्रतिवद्धता र आएको रकम पनि खुम्चिँदै गएको छ । प्रत्यक्ष विदेशी लगानी भित्रिएको तथ्यांक राख्ने राष्ट्र बैंक र प्रतिवद्धताको लगत राख्ने उद्योग विभागका अनुसार यो वर्षका तीन महिनामा खुद प्रत्यक्ष विदेशी लगानी ८ करोड रुपैयाँमात्र आएको छ ।

अघिल्लो वर्ष यही समयसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ भित्रिएको थियो । यो वर्ष आएको रकम अघिल्लो वर्षको तुलनामा ९८.४२ प्रतिशतले कम हो । औषतमा प्रतिमहिना साढे २ करोड आएको तथ्यांकले विदेशी लगानी शून्यतातर्फ जाँदै गरेको त होइन भन्ने शंका उब्जाएको छ । विदेशीहरु नेपालमा लगानी गर्न इच्छुक नभएको पनि यसले देखाएको छ । जानकारहरु पछिल्लो समय रसिया–युक्रेन युद्धसँगै विश्वभर सुरु भएको आर्थिक मन्दीको असर नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि परेको बताउँछन् ।
पछिल्लो समय नेपालमा प्रत्यक्ष वैदेशिक लगानीबापत भित्रिने मुद्रामा मात्र नभई लगानी प्रतिवद्धतामा पनि उल्लेख्य कमी आएको छ । वैदेशिक लगानी प्रतिवद्धताको लगत राख्ने उद्योग विभागमा चालू आवको असोजसम्म १९ विदेशी लगानीका आयोजना तथा उद्योग स्वीकृत भएका छन् । स्वीकृत उद्योगहरुमा कुल २ अर्ब २४ करोड विदेशी लगानी र १ हजार ४३ जनाका लागि रोजगारी सिर्जना हुने प्रस्ताव गरिएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा १ सय ७ विदेशी लगानीका आयोजना तथा उद्योगहरु स्वीकृत भएका थिए । ती उद्योगमा २४ अर्ब लगानी प्रस्ताव रहेको थियो भने ७ हजार १ सय ९५ नयाँ रोजगारी सिर्जना हुने भनिएको थियो । यो तथ्यांकले वैदेशिक लगानी प्रतिवद्धता पनि यो वर्ष निकै खस्केको देखाएको छ । दुई आर्थिक वर्षको तथ्यांकलाई प्रतिशतमा हेर्दा यो वर्ष ९०.६६ प्रतिशतले गिरावट आएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आवदेखि वैदेशिक लगानीमा गिरावट आउन सुरु भएको हो । तर, अहिले जस्तो थिएन । सामान्यमात्र थियो । गत आर्थिक वर्षमा खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड आएको हो । यो त्यसअघिको वर्षका तुलनामा ४.९ प्रतिशतले मात्र कम हो । आव २०७७/०७८ मा खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

अघिल्ला वर्षहरुमा वैदेशिक लगानीको प्रतिवद्धता भने बढ्दो क्रममा देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता ३२ अर्ब ७ करोड आएकोमा गत आवमा यो झन्डै दोब्बर अर्थात् ५४ अर्ब १५ करोड रुपैयाँ पुगेको थियो । यो वर्ष भने प्रतिवद्धता पनि घटेको अवस्था छ । प्रतिवद्धतासँगै वैदेशिक लगानीका उद्योग दर्ता पनि अघिल्लो वर्ष १ सय ८४ रहेकोमा गत वर्ष २ सय ९५ पुगेको देखिन्छ ।
उद्योग वाणिज्य तथा आपूर्ति सचिव तोयानारायण ज्ञवालीले यो वर्ष वैदेशिक लगानी अपेक्षा गरेअनुसार आउन नसकेको स्वीकार गर्दै लगानी ल्याउन सबैभन्दा पहिले वातावरण बनाउनुपर्ने बताए । “व्यापारिक कारोबारको वातावरण देखाउने हाम्रा इन्डेक्सहरु त्यत्ति राम्रा छैनन्,” ज्ञवालीले शुक्रबार आयोजित एक कार्यक्रममा भने, “सरकार र निजी क्षेत्र दुवै मिलेर मात्र यस्ता इन्डेक्सहरुमा सुधार ल्याउन सकिन्छ । सरकार एक्लैले मात्र केही गर्न सक्दैन ।” सचिव ज्ञवालीले विदेशी लगानीकर्ताले स्वदेशी उद्योगी व्यवसायीसँग परामर्श गर्ने र यस्तै इन्डेक्सहरुलाई आधार मानेर लगानी गर्न आउने जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक लगानी आकर्षित गर्न बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्ने बताए । “तत्काल कार्यविधि बनाई विदेशी लगानी बढाउन आवश्यक छ,” गोल्छाले भने, “बजारमा तरलता अभाव भएका बेला विदेशी लगानी आकर्षित गर्न सकियो भने केही मात्रामा भए पनि अर्थतन्त्रलाई राहत हुनेछ ।”विश्वव्यापी आर्थिक मन्दीका कारण पछिल्लो समय संसारभर वैदेशिक लगानी घटेको छ । विदेशी मुद्रा सञ्चितिमा चाप परिरहेको नेपालजस्तो मुलुकमा वैदेशिक लगानी घट्दा थप समस्या पर्छ ।
महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ पछिल्लो समय सरकारको गलत नीतिको मारमा अर्थतन्त्र परेका कारण वैदेशिक लगानी संकुचित भएको बताउँछन् । उनका अनुसार सरकारले आयात प्रतिबन्ध लगाएको र केन्द्रीय बैंकको नीतिका कारण ब्याजदर वृद्धि भएर अर्थतन्त्रमा संकुचन आएकाले स्वदेशी लगानी नै संकटमा परिरहेको अवस्था छ । यसको प्रत्यक्ष असर वैदेशिक लगानीमा पनि परिरहेको भनाइ छ ।
“हाम्रो देशमा त्यसै पनि अपेक्षाकृत वैदेशिक लगानी आउन सकेको थिएन । त्यसमाथि पछिल्लो समय सरकारका नीतिका कारण स्वदेशी लगानी नै धरासायी भइरहेकाले वैदेशिक लगानीमा गिरावट आउनुलाई अस्वाभाविक मान्न सकिँदैन,” उनी भन्छन्, “यद्यपि, यसमा हाम्रा कमजोरी मात्र सम्पूर्ण कारणहरु होइनन् । अहिले विश्वभर नै वैदेशिक लगानीमा ह्रास आएको छ र त्यसको असर हामीमा पनि परेको हो ।”
छिमेकी मुलुक भारतमा पनि प्रत्यक्ष विदेशी लगानी गत अप्रिलदेखि सेप्टेम्बरसम्ममा घटेको छ । भारतको तथ्यांक विभागका अनुसार यो अवधिमा भारतमा २६.९ अर्ब अमेरिकी डलर एफडीआई भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३१.२ अर्ब अमेरिकी डलर आएको थियो ।
सीमा खुकुलोको अर्थ रहेन
सरकारले चालू आवको बजेट वक्तव्यमार्फत विदेशी लगानीको न्यूनतम सीमा खुकुलो बनाएको छ । अब प्रति विदेशी लगानीकर्ताको सीमा २ करोड कायम गरिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी प्रति विदेशी लगानीकर्ता सीमा ५ करोडबाट घटाएर २ करोड बनाइएको हो । सीमा घटाउँदा विकृति आउन सक्ने भन्दै निजी क्षेत्रले विरोध गर्दै आइरहेको छ ।