इमानदारिताको खाँचो «

इमानदारिताको खाँचो

मुलुकको अर्थतन्त्रको भित्री पाटो नराम्रोसँग बिग्रिएपछि निजी क्षेत्रले अहिले उद्योग–व्यवसाय सञ्चालनमा वास्तवमै कठिनाइ बेहोरेको अवस्था छ । बैंक ब्याजदरको सीमालाई बजारमै छोड्ने खुला बजार अर्थनीतिको सिद्धान्त हो । यसमा कसैको द्विविधा छैन । तर, खुला बजार नीति अपनाए पनि समस्या परेका बेला सरकारले बजारलाई हस्तक्षेप गर्नुपर्छ । अहिले यसैको आवश्यकता परेको छ ।

कोभिड महामारीको करिब तीन वर्षपछि गत वर्ष अर्थतन्त्रको बाह्य क्षेत्र नराम्रोसँग समस्यामा परेको थियो । यो वर्ष त्यो पाटोमा सुधारका लक्षण देखिए पनि आन्तरिक क्षेत्र अस्तव्यस्त बनेको छ । यही कारण उद्योगी–व्यवसायी वास्तवमै बढी चिन्तित बन्न पुगेका छन् । हुन त अहिलेको समस्याबाट सबैभन्दा पीडित गरिब, विपन्नलगायत सर्वसाधारण छन् ।

तर, यो वर्गको बोल्ने कुनै समूह वा संस्था छैन । उपभोक्ताका नाममा खोलिएका संस्थाहरू पनि संस्थाकै रूपमा मात्र छन् । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार पत्रकार सम्मेलनमार्फत अहिलेका समस्या र समाधानका उपाय सरकारसँग पुर्‍याएको छ । सँगसँगै उसले सरकारले यसमा नजरअन्दाज गरे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

निजी क्षेत्रको मुख्य असन्तुष्टि बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय कर्जामा लिँदै आएको ब्याज चर्को भएको भन्ने हो । कर्जाको ब्याज चर्को भएर समस्या परेका बेला राष्ट्र बैंकले पछिल्लो समय ल्याएको चालू पुँजी कर्जासम्बन्धी निर्देशनलाई पनि समस्याका रूपमा लिइएको छ ।

सबैतिर र सबै वस्तु तथा सेवामा महँगी बढेका बेला चर्को ब्याजका कारण वस्तु उत्पादनको लागत बढेको र त्यसले झनै महँगी बढाउँदा मागमा कमी आएको निजी क्षेत्रको गुनासो छ । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नै पहलमा हालै गरेको एउटा सर्वेक्षणले अहिले निर्माण क्षेत्रको कारोबार ७० प्रतिशतले घटेको देखाएको छ ।

यस्तै उपभोग्य सामानको बिक्रीमा पनि १८ प्रतिशतले कमी आएको छ । महासंघको सर्वेक्षणअनुसार विद्युतीय उपकरण ५५, अटोमोबाइल्स ७५, बिमा ३०, रेस्टुराँ २० र होटलको अकुपेन्सी ३० प्रतिशतले घटेको देखिएको छ । यसका साथै सेयर बजार ४० प्रतिशत र घरजग्गा कारोबार ४८ प्रतिशतले घटेको पनि सर्वेक्षणले देखाएको छ । यो तथ्यांकले अर्थतन्त्रको आन्तरिक पाटो निकै सुस्ताएको र आगामी दिनमा यस्तै रहे समस्या ल्याउने देखिन्छ ।

महासंघको यो सर्वेक्षणलाई थप पुष्टि गर्ने आधार सरकारी तथ्यांकहरूले पनि गरेका छन् । आयातमा आधारित हाम्रो अर्थतन्त्रमा यो वर्ष उच्च दरले आयात घटेको अवस्था छ । गत वर्षसँग तुलना गर्दा आयातमा करिब १६ प्रतिशतले कमी आएको छ । यस्तै राजस्व असुली पनि लक्ष्यभन्दा धेरै थोरै छ । अहिलेसम्म सरकार आफैंले राजस्व संकलन गत वर्षको बराबरी पनि गर्न नसकेको देखिएको छ । यी दुई तथ्यांकले मात्र पनि अर्थतन्त्र चलायमान हुन नसकेको प्रस्ट हुन्छ ।

चालू पुँजी कर्जासम्बन्धी राष्ट्र बैंकको पछिल्लो निर्देशनप्रति पनि उद्योगी–व्यवसायी खुसी छैनन् । बजारमा तरलता अभाव भएको अवस्थामा यो निर्देशन तत्काल लागू गर्दा व्यवसाय सञ्चालनका लागि पुँजी अभाव हुने उनीहरूको गुनासो छ । स्वच्छ र पारदर्शी व्यवसायका लागि यो निर्देशन उचित भएकामा व्यवसायीको पनि मतभिन्नता छैन । तर, अहिलेको अवस्था फरक भएको उनीहरूको जिकिर छ । त्यसैले कम्तीमा पनि यो निर्देशनलाई दुई वर्षसम्म स्थगित गर्नुपर्ने माग गरिएको छ ।

ब्याजदर र चालू पुँजी कर्जाको नयाँ निर्देशनले समस्या देखाएको बेला मौद्रिक नीतिको त्रैमासिक समीक्षाबाट केही सुधार हुन्छ भन्ने अपेक्षा व्यवसायीहरूको थियो । राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै अहिलेका समस्यालाई समाधान गर्ने प्रयास गरेको छ । तर, उद्योगी–व्यवसायीहरूका नजरमा यो अपुरो मात्र छ । उनीहरूले मौद्रिक नीतिमा गरिएको समीक्षालाई राष्ट्र बैंकको टालटुले समाधानको उपाय मात्र भनेका छन् ।

मौद्रिक नीतिको समीक्षामार्फत अहिले गरिएका प्रावधानले कुनै पनि समस्या समाधान गर्न नसक्ने निजी क्षेत्रको भनाइ छ । निजी क्षेत्रले समस्याको समाधान नखोजिए अर्थतन्त्र दुर्घटनामा जाने दाबी गर्दै सरकारलाई तत्काल काम गर्न बुँदागत रूपमा केही सुझाव पनि दिएको छ । कोरोना महामारीको समयमा आर्थिक गतिविधि नभएको र सोही समयमा राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता बजारमा पठाएका कारण अधिक तरलताले अहिले समस्या आएको बुझाइ निजी क्षेत्रको छ । एक आर्थिक वर्षमा सरकारले भन्दा धेरै गुणा बढी लगानी निजी क्षेत्रबाट हुन्छ ।

त्यसैले निजी क्षेत्रलाई असन्तुष्टि बनाएर सरकार सफल हुन सक्दैन । निजी क्षेत्र सफल भए मात्र सरकार सफल हुनेमा द्विविधा छैन । निजी क्षेत्रले पनि समस्याका बेलामा जोखिम बेहोर्नुपर्छ । सजिलो समयमा नाफा गर्ने र असजिलो समयमा जोखिम बेहोर्न सरकारलाई मात्र लगाउने निजी क्षेत्रको चरित्र पनि ठीक छैन । यसैले सरकार र निजी क्षेत्रले आआफ्नो स्थानबाट इमानदारीका साथ काम गरे मात्र अहिलेको जोखिमबाट पार पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्