Logo

जो प्रदेशसबाट संघीय संसद्मा उक्लिए

गत साता (४ मंसिर) मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको अन्तिम मतपरिणाम लगभग आइसकेको छ । यसपटकको निर्वाचनबाट प्रदेशसभामा रहेका केही नेता संघीय संसद्मा निर्वाचित भएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसपटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट प्रदेशसभा सदस्य निर्वाचित पाण्डे यसपटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

गत निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं. १ को मुख्यमन्त्रीसमेत भएका भीमप्रसाद आचार्य यसपटक सुनसरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । त्यसैगरी २०७४ निर्वाचनमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुर शाही यसपटकको निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भएका थिए ।

गत निर्वाचनमा लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचित भएर गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका पृथ्वीसुब्बा गुरुङ यसपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए । २०७४ को संसदीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ८ (क) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका विराजभक्त श्रेष्ठ पनि यसपटकको निर्वाचनमा काठमाडौं ८ बाट सांसद पदमा विजयी भएका छन् ।

गत निर्वाचनमा विवेकशील साझा पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्य निर्वाचित भएका श्रेष्ठ यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् । त्यसैगरी, सल्यानको प्रदेशसभा सदस्यमा निर्वाचित भएका प्रकाश ज्वाला यसपटक एकीकृत समाजवादीबाट उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । गत निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भई ज्वाला कर्णाली प्रदेशको मन्त्रीसमेत बनेका थिए ।

त्यसैगरी २०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट कैलाली ५ (ख) बाट निर्वाचित डिल्लीराज पन्त अहिले कैलालीको ५ नं. क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । २०७४ कै निर्वाचनमा सिन्धुलीबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका लेखनाथ दाहाल यसपटक सिन्धुली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

२०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–१ (क) बाट प्रदेशसभामा निर्वाचित सरेश नेपाल भने प्रतिनिधिसभामा पराजित भएका छन् । उनी यसपटक प्रतिनिधिसभामा सिन्धुपाल्चोक–१ मा उम्मेदवार थिए । उनी नेकपा माओवादीका माधव सापकोटासँग पराजित भएका हुन् । नेपाल यसअघि बागमती प्रदेशका मन्त्रीसमेत भएका थिए ।

२०७४ को निर्वाचनमा भोजपुर निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएर प्रदेश नं. १ को पहिलो मुख्यमन्त्री निर्वाचित भएका शेरधन राई यसपटक भोजपुरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का सुदन किरातीबाट पराजित भएका छन् । त्यसैगरी यसअघि काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रदेशसभा सदस्य निर्वाचित मणिराम फुयाँलले काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेका तर्फबाट टिकट पाएका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमसँग पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्