Logo

सहकारीबाट आत्मनिर्भर ग्रामिण महिला

कनकासुन्दरी गाउँपालिका ५ लड्कु गाउँ निवासी ललिता उपाध्याय बिहान बेलुका भैसीकै स्यार सुसारमा व्यस्त हुन्छिन् । अघिपछि घरको चुलो चौकोमा सीमित हुने ललिता आजभोली व्यवसायीक बनेकी छिन् । गाउँघरमा पुरुषलाई घरको सबै आर्थिक अधिकार दिने र महिलालाई काममा जोताउने संकिर्ण प्रवृत्तिविरुद्ध दुर्गमका महिलालाई सहकारीले सचेत बनाएपछि आत्मनिर्भर बन्न थालेका छन् ।

ललितमात्र नभई कनकासुन्दरीका ४,५ र ६ नम्बर वडाका अन्य महिलाहरु पनि विभिन्न व्यवसाय मार्फत आत्मनिर्भर भएका छन् । व्यवसायसँगै घरको आर्थिक अधिकार लिन महिला अग्रसर देखिएका छन् । “सहकारीबाट १ लाख .सहुलियत ऋण लिएर व्यावसायिक भैंसी पालनमा जुटेको हुँ, । महिलाले व्यवसाय गर्न सक्दैनन्, आम्दानी गर्न सक्दैनन् भन्ने सोच तोड्न व्यवसायमा होमिएकी छु” ललिताले भनिन्, “चुलो चौकोमा सीमित म जस्ता सयौ महिलालाई आत्मनिर्भरको बाटो देखाउन गैरसकारी संस्थाहरुले भूमिका खेलेका छन् । व्यवसायसँगै वित्तीय साक्षरता समेत पाएका छौं ।”

पहिला पुरुषले मात्रै गर्ने घरको आर्थिक कारोबार पनि कनकासुन्दरीका महिलाले सम्हालेका छन् । महिलाको वित्तीय पहुँचमा पनि वृद्धि भएको छ । क्याड नेपालका फिल्ड अधिकृत माया महत भन्छन्, “जोखिममा परेका, विपन्न तथा दलित महिलाहरुको उत्थान, जीविकोपार्जन र सशक्तिकरणका लागि पाँच वर्षे, ‘बाल छिटो तथा जबर्रजस्ती विवह न्युनिकरण परियोजना’ सञ्चालित छ । महिलाहरु सहकारीमा मासिक बचतदेखि सहुलियत ऋण लिने र व्यावसायिक बन्न थालेका छन् ।”

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाले सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका ग्रामिण महिलाको सशक्तिकरणका लागि काम गर्दै आएको छ । जस अन्तरर्गत कनकासुन्दरीको हिमा महिला बहुद्देश्यीय सहकारी संस्थालाई बाल छिटो तथा जबर्रजस्ती विबाह न्युनिकरण परियोजनामार्फत १५ लाख लगानी गरिएको फिल्ड अधिकृत महतले बताइन् ।

संस्थाको लगानीलाई बिऊ पुँजीका रुपमा महिलाले गाउँमा चलाइरहेका छन् । आवश्यकता अनुसार २० हजारदेखि १ लाखसम्म सहुलियत ऋण लिएर भैँसी पालन, बाख्रा पालन, खुद्रा व्यापार लगायतका व्यवसाय गरेर ग्रामीण महिलाहरु आत्मनिर्भर बन्न थालेका छन् । बालविवाह न्युनिकरण, महिला सशक्तिकरण, जीविकोपार्जनलगायतका क्षेत्रमा क्याडले सन् २०१८ देखि सिंजा ३ पालिकामा काम गरिरहको क्याड नेपाल जुम्लाका कार्यक्रम अधिकृत गिरीराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्