एनआरएनएले तीन जिल्लामा स्वास्थ्य शिविर आयोजना गर्ने «

एनआरएनएले तीन जिल्लामा स्वास्थ्य शिविर आयोजना गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले झापा, सुनसरी, मोरङ र उदयपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार स्वास्थ्य समितिको बैठकले स्तन क्यान्सर, मुटु लगायतका स्वास्थ्यमा पर्ने समस्याहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघको स्वास्थ्य समितिले मानव स्वास्थ्यमा राम्रो काम गरेको भन्दै प्रसंशा गरिन् । उनले कोरोना महामारीको बेला स्वास्थ्य समितिले खेलेको महत्वपूर्ण भूमिकाले मानिसहरुको जीवन रक्षा भएको बताइन । उनले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा अझ बढी काम गर्नुपर्ने बताई ।

नेपालमा सा–सानो स्वास्थ्य परामर्शसमेत नहुँदा स्तन र पाठेघरको क्यान्सरले धेरै महिलाहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष थापाले भनिन्, “क्यान्सरबिरुद्ध राष्ट्रिय अभियान चलाउन आग्रह गर्छु ।” बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले विगत ७ वर्षदेखि स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य समस्याको बारेमा काम गर्दै आएको जानकारी दिए ।

उनले संघको आयोजनामा भएका सम्मेलनहरु निकै प्रभावकारी भएको बताउँदै आगामी दिनमा थप सक्रिय भएर काम गर्ने बताए । डा. अरुण शाहीले नेपालमा क्यान्सर सार्वजनिक स्वास्थ्यमा चुनौतीको रुपमा आएको बताइन् । उनले पाठेघरको मुख र स्तन क्यान्सर गाउँगाउँमा पुगेको बताउँदै समयमै रोग पत्ता लगाउन सके क्यान्सर निको हुने उनको भनाइ थियो ।

बैठकमा डा. सागर पौडेलले मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा १५ वर्षभन्दा तलका बच्चाहरुको मुटु स्वास्थ्य चेकअप गरिने जानकारी दिए । बैठकले झापाको बाउनडाँगीमा हेयरिङ एडको स्क्रिनिङ गर्ने निर्णय समेत गरेको छ । डा. विश्वनाथ रिजालले बाउनडाँगी क्षेत्रमा रहेका नेपालीहरुको स्वास्थ्य समस्याको बारेमा जानकारी दिए । बैठकमा नेपालमा दाँत र आँखा जाँचको सम्भावनाको बारेमा छलफल भएको थियो ।

बैठकले गैरआवासीय नेपाली संघको क्षेत्रिय स्वास्थ्य सम्मेलन आगामी जनवरी तेस्रो साता नर्थ अमेरिकामा गर्ने निर्णय गरेको छ । विश्वभर ५ हजार नेपाली चिकित्सक र १५ हजार नर्स विदेशमा रहेका छन् । उनीहरुलाई क्षेत्रिय रुपमा भेला गरेर नेपालीको स्वास्थ्य समस्याका बारेमा मन्थन गर्ने उद्देश्यले सो सम्मेलनको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्