स्प्रेडदर घट्यो, चालू पुँजी कर्जामा संशोधन «

स्प्रेडदर घट्यो, चालू पुँजी कर्जामा संशोधन

नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेडदर) घटाएको छ । आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भर्चुअल पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

४.४ प्रतिशत रहेको ब्याजदर अन्तर वाणिज्य बैंकहरुको ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गरिएको छ । यस्तै, ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर अब ४.६ प्रतिशतमा झारिएको छ । स्पे्रडदर घटाउँदा बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।

प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने पनि समीक्षामा उल्लेख छ । त्यसैगरी चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्ने नेपाल राष्ट्र बैंकले घोषणा गरेको छ । यस मार्गदर्शन कार्यान्वयनमा केही समस्या भए सुझावका आधारमा संशोधन हुने प्रवक्ता भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्