प्रतिमहिना डेढ प्रतिशत हाराहारी विकास खर्च राजस्व आम्दानीले चालु खर्च पनि धानेन
विकास खर्च प्रतिमहिना डेढ प्रतिशत

सरकारले चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा पुँजीगत (विकास) खर्च २६ अर्ब ५० करोड रुपैयाँ मात्र गरेको छ । सरकारले राखेको वार्षिक लक्ष्यलाई हेर्दा यो ६.९७ प्रतिशत हो । सरकारले सुरुका चार महिनामा प्रतिमहिना डेढ प्रतिशत हाराहारीले विकास खर्च गरेको देखिन्छ । सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ८० अर्ब रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयका अधिकारीहरु प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिरमा राखिएका कारण विकास खर्च नबढेको बताउँछन् ।
वर्षको सुरुमा नै निर्वाचनको माहोल बनेकाले निर्वाचन पछि मात्र विकास खर्चले गति लिने उनीहरुको दावी छ । आइतबार निर्वाचन सकिएर अहिले मतगणना भइरहेको छ । यो महिनाको आधा समय पनि यही निर्वाचनको गतिविधिले धकेलिने छ । आम निर्वाचनपछि सरकार गठनमा पनि केही समय लाग्ने भएकाले त्यो समयमा पनि विकासको कामले गति लिने छैन । विकासे कार्यालयका अधिकांश कर्मचारी नयाँ सरकार आए पछि उनीहरुको निर्देशन अनुसार काम अगाडि बढाउने भनेर अहिले त्यसै बसेको अवस्था छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो अवधिमा विकास बजेट खर्च नभए पनि चालु खर्च भने बढेको छ । मंसिर एक गतेसम्म चालु खर्च २ खर्ब ८४ अर्ब रुपैयाँ भएको छ । यो लक्ष्यको २४.०५ प्रतिशत हो । यस वर्षको बजेटमा सरकारले ११ खर्ब ८३ अर्ब रुपैयाँ चालु खर्च मा विनियोजन गरेको छ । गत वर्ष सरकारले चालु खर्चमा १० खर्ब ४ अर्ब रुपैयाँ बजेट राखेको थियो । अहिलेको चालु खर्चको अवस्था हेर्दा आगामी दिनमा विनियोजित बजेट सबै खर्च हुने देखिन्छ । चुनावका कारण पनि यो वर्ष चालु खर्च बढी भएको हो ।
महालेखाका अनुसार अहिलेसम्म वित्तीय व्यवस्थापनमा ४३ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको १८.८१ प्रतिशत हो । यो वर्ष वित्तीय व्यवस्थापनमा २ खर्ब ३० अर्ब रुपैयाँ बजेट राखिएको छ । गत वर्ष वित्तीय व्यवस्थापनका लागि २ खर्ब ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । महालेखाका अनुसार पहिलो चार महिनामा सरकारको कुल बजेट खर्च ३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । यो लक्ष्यको १९.७५ प्रतिशत हो । यो वर्ष सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
चालु वर्षको सुरु देखिनै सरकारको खर्च बढेको छ ।
तर, त्यसअनुसार राजस्व संकलनको अवस्था राम्रो छैन । यो मात्र होइन राजस्वले चालु खर्च पनि धान्न नसकेको अवस्था छ । सरकारले ४ महिनासम्ममा कर र गैरकर गरी २ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । यही अवधिमा चालु खर्च भने २ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । चालु खर्च भन्दा राजस्व असुली १४ अर्ब रुपैयाँले कम छ । सरकारले यो वर्ष १४ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । अहिलेसम्म २ खर्ब ७० अर्ब रुपैयाँ मात्र उठेको छ । यो लक्ष्यको तुलनामा १९.३१ प्रतिशत मात्र हो ।
राजस्वमध्ये कर राजस्वको लक्ष्य १२ खर्व ९५ अर्ब र गैरकर असुलीको लक्ष्य १ खर्ब ७ अर्ब हो । अहिलेसम्म कर राजस्व २ खर्ब ४८ अर्ब र गैरकर राजस्व २२ अर्ब रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको क्रमशः १९.१८ र २०.८ प्रतिशत हो । यस्तै अहिलेसम्म सरकारको कुल आम्दानीले कुल खर्च पनि धान्न सकेको छैन । सरकारको चार महिनामा वैदेशिक अनुदान सहित कुल आम्दानी २ खर्ब ९८ अर्ब रुपैयाँ भएको छ । कुल खर्च भने ३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । सरकारले यस वर्ष वैदेशिक अनुदान ५५ अर्ब ल्याउने भने पनि अहिलेसम्म जम्मा ३ अर्ब ४१ करोड मात्र आएको छ । यो लक्ष्यको ६.१६ प्रतिशत मात्र हो ।
मुलुक संघीयतामा गएपछि पुँजीगत खर्च बढने अनुमान गरिए पनि पछिल्ला वर्षहरुको प्रगतिले त्यसलाई गलत सावित गरेको छ । संघीयतामा गएको पाँच वर्षमा पुँजीगत खर्चको गति बढने भन्दा क्रमशः घट्दै गएको छ । गत वर्ष पनि पुँजीगत बजेट खर्च ६५ प्रतिशत पुगेको थिएन । अहिलेको अवस्था हेर्दा यो वर्ष पनि खर्च बढने संकेत देखिँदैन । पुँजीगत खर्च गर्ने जिम्मेवार पदमा बसेका अधिकारीहरुले वर्षको सुरुमा पुँजीगत बजेट खर्च हुने गरेको छैन भन्दै आएका छन् ।
विगतमा दसैं–तिहारपछि आयोजना निर्माणका लागि बोलपत्र सार्वजनिक गर्ने र त्यसपछि मात्र निर्माण सुरु गर्ने प्रचलन भएकामा अहिले वर्षको सुरुदेखि नै बोलपत्र प्रकाशन हुँदै आएका छन् । तर पनि खर्च बढन सकेको छैन । वर्षको सुरुमा खर्च नगर्ने र अन्त्यमा जथाभावी गरेर बजेट रित्याउने प्रचलन प्रत्येक वर्ष दोहोरिदै आएको छ । यो वर्ष पनि त्यही हुने देखिन्छ ।