प्रदेशमा पनि नयाँ अनुहार
जुम्लाबाट गठबन्धन क्लिन स्विप, सधैं नयाँ पात्र रोज्दै जनता

द्वन्द्वरत पक्ष र राज्य पक्षबीच शान्ति सम्झौतापछि २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा जुम्लाबाट नेकपा (माओवादी केन्द्र)का नरेश भण्डारीले एकल बहुमत ल्याएर जिते । त्यतिबेला माओवादीसँग चुनाव लडेर जित्न सक्ने शक्ति कसैसँग थिएन । २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा काँग्रेसका ललितजंग शाहीले जिते । त्यतिबेला माओवादी पराजित भयो । तर माओवादी नेतृ गोमा कुँवर समानुपातिक सांसद हुँदै राज्य मन्त्री भइन् ।
२०७४ को निर्वाचनमा जुम्लामा एमाले र माओवादीको वाम एकता भएकोले संघमा माओवादीका गजेन्द्रबहादुर महत, प्रदेश (क) मा माओवादीकै नरेश भण्डारी र प्रदेश (ख)मा तत्तकालीन एमालेका पदमबहादुर रोकाया निर्वाचित भए । २०६४ देखि ०७४ सम्मका संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा जितेको र सधै शक्तिमा रहेको नेपाली काँग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको तीन दलीय गठबन्धन आम निर्वाचन २०७९ को चुनावी मतपरिणामले जुम्लाबाट क्लिनसिप भएको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । जम्मा ६८ हजार ६३८ मतदाता संख्या रहेको जुम्लामा ६५ प्रतिशत अर्थात् ४५ हजार २८४ मत खसेको थियो । जसमध्ये राप्रपाका शाही २२ हजार ८१९ मत प्राप्त गर्दै प्रतिस्पर्धी माओवादीकी गोमा कुँवरभन्दा दोब्बर मतान्तरले निर्वाचित भएका हुन् ।
प्रतिस्पर्धी तीन दलीय गठबन्धनकी साँझा उम्मेदवार गोमा कुँवरले ११ हजार ९५९ मत प्राप्त गर्दा निर्वाचित शाहीले १० हजार ८६० को दोब्बर मतान्तरले कुँवरसहित गठबन्धनलाई हराएका हुन् । जुम्लाको तीन दलीय गठबन्धनसँग आफ्नै ३६ हजार मत रहेकोले जित्ने दाबी गर्दै आएका थिए । तर भ्रष्टचार विरुद्धको अभियान्ता हुदैँ राजनीतिमा आएका शाहीको व्यक्तित्वका कारण जुम्ली जनताले पार्टी भन्दा माथि उठेर शाहीलाई बहुमत दिएर जिताएका छन् ।
तीन दलीय गठबन्धनबाट साँझा उम्मेदवार बनेकी गोमा कुँवरले गठन्धनबाटै अपेक्षित भोट नपाएपछि अप्रत्यासी नतिजा भोग्नु परेको छ । गठबन्धन भित्रैबाट सैदान्तिक भोट नआएपछि कुँवरले हार व्यहोर्नु परेको हो । ३६ हजार मत आफ्ना नै हुन भन्ने गठबन्धनको दाबीलाई मत परिणामले पुष्टि गर्न सकेन । दलप्रतिका असन्तुष्टिले मतदाताको रोजाइमा नयाँ पात्र छन् भन्ने पुष्टि मत परिणामले देखाएको छ ।
अन्ततः स्थानीय तहको निर्वाचनमा ५ सय मतसम्म नभएको, आफ्नो कुनै संगठन नै नभएको राप्रपाका शाही गठबन्धन भन्दा दोब्बर मतले प्रतिनिधिसभामा विजयी भएका हुन् ।
प्रदेशमा पनि नयाँ अनुहार
जुम्ला प्रदेश (क) मा गठबन्धनका उम्मेदवार ललित जग शाहीलाई हराउँदै स्वतन्त्र उम्मेदवार देबेन्द्रबहादुर शाही विजयी भएका छन् । काँग्रेस प्रदेश सभापति समेत रहेका ललित जंग शाहीलाई १ हजार ८९९ मतान्तरले हराउँदै स्वतन्त्र देबेन्द्र निर्वाचित भए ।
प्रदेश (क) मा खसेको जम्मा २४ हजार ६५५ मत मध्य निर्वाचित शाहीले ९ हजार ६५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गठबन्धनका शाहीले ७ हजार ७५५ मत ल्याए । २०७० सालको निर्वाचनमा निर्वाचित भएका ललितजंग शाहीलाई यसपाली जुम्ली जनताले पुनः दोहोर्याएनन् । किन दोहोर्याएनन् त्यो समीक्षाको विषय हो ।
उता प्रदेश (ख) मा कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार मन्त्रीलाई हराउदैँ नेकपा (एमाले)का टेकराज पछाईले जित हात पारेका छन् । प्रदेश (ख) मा कुल २० हजार ६ सय १६ मत खसेकोमा एमालेका पछाईँले ७ हजार ८ सय २७ मत प्राप्त गरे । भने, प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार तथा बहालवाला मन्त्री रोकायाले ६ हजार ७१५ मत ल्याए । २०७४ मा तत्कालीन एमालेबाट प्रदेश सांसदमा निर्वाचित भएका रोकायालाई पनि जनताले यसपाली दोहोर्याएनन् ।
माओवादी, काँग्रेसकै अखडा मानिने जुम्लाको गठबन्धनलाई क्लिनसिप हुने गरी राप्रपाका ज्ञानेन्द्र शाहीको जीतले जुम्लाको राजनीतिमा एक इतिहास स्थापित भएको छ । सत्तामा पुगिसकेपछि जनता बिर्सनु, जितिसकेपछि गाउँ नफर्किनु, जनताका हित हुने काम नगर्नु लगायतका कारणले पुराना नेता र दलप्रति जनताको बढ्दो वितृष्णाको परिणाम नै जुम्लामा गठबन्धन क्लिन स्विप हुनु हो ।
फलस्वरुप प्रतिनिधिसभामा आफ्ना ५ सय मतसम्म नभएका राप्रपाका ज्ञानेन्द्र शाही लगायत दुबै प्रदेशमा नयाँ अनुहार चुनिनु नै दलहरुप्रति असन्तुष्टिको गतिलो उदाहरण हो । अबको पाँच वर्ष जुम्लाको माओवादी, काँग्रेस र समाजवादी सत्ता बाहिर बस्ने छ । संगठन विस्तार र जनताको मन जित्ने काम नगरेको खण्डमा दशकौ दलहरुले हार व्यहोर्नु पर्ने स्थिति छ ।
जुम्ली जनता चेतनशील भइसकेका छन् । दलहरु जनताप्रति उत्तरदायी बन्नैपर्छ । नागरिक अगुवा राजबहादुर महत भन्छन्, “हरेक चुनावमा जनता नयाँ पात्रको खोजीमा हुन्छन् । जुम्ली मतदाताले २०१६ साल यताका कुनै पनि निर्वाचनमा सांसद दोहोर्याएको एतिहास छैन । अब राजनीतिलाई सेवामुलक बनाउन जरुरी छ ।”
यसपालीको निर्वाचनमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा संघमा राप्रपा, प्रदेश (क)मा स्वतन्त्र र प्रदेश (ख) मा एमालेका नयाँ अनुहार निर्वाचित भएका छन् । जनताले मत नदिँदा जुम्लामा गठबन्धनले हार मात्र व्यहोरेको छैन । पाँच वर्षका लागि सत्ता च्युत समेत भएको छ ।