छैटौँ पटक संसद्मा प्रवेश गर्दै माधव नेपाल

संसद्कै ठूलो कम्युनिष्ट पार्टी नेकपा (एमाले)बाट अलग भइ गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश गरेका छन् ।
उनी रौतहट क्षेत्र नं १ बाट ३३ हजार पाँच सय २२ मत ल्याई निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन् । नेपाली कांग्रेसले नेतृत्व गरेको वर्तमान लोकतान्त्रिक वाम गठबन्धनबाट सरकारको एक घटक एकीकृत समाजवादीका नेता नेपाल सोही गठबन्धनका सहयोगमा प्रतिनिधिसभामा पुग्न सफल भएका छन् ।
यसअघि विसं २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहेएका नेपाल विसं २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य थिए । उनले विसं २०५० सालदेखि २०६५ वैशाखसम्म नेकपा (एमाले) महासचिवको जिम्मेवारी सम्हालेका थिए ।
विसं २०६६ जेठदेखि २०६७ माघसम्म प्रधानमन्त्री भएका अध्यक्ष नेपाल त्यसअघि एमालेका अध्यक्ष मनमोहन अधिकारीका नेतृत्वमा रहेको मन्त्रिमण्डलमा विसं २०५१ मंसिरदेखि २०५२ भदौसम्म परराष्ट्र र रक्षामन्त्रालयको कार्यभारसहित उपप्रधानमन्त्री थिए । विसं २०२२ देखि वामपन्थी विद्यार्थी संगठनबाट राजनीतिमा संलग्न भएका उनी विसं २०२६ मा नेकपा (पुष्पलाल समूह) मा आवद्ध भए । उनीसँग नेकपा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।
‘नेपाल अधिराज्यको संविधान २०४७’ संविधान सुझाव आयोगका सदस्य तथा संविधानसभा, संवैधानिक समितिका सभापति भएर उनले काम गरे । पिता मंगलकुमार र माता दुर्गादेवी उपाध्यायका कोखबाट विसं २००९ फागुन २३ गते रौतहटमा जन्म भई राजनीतिक आन्दोलनका क्रममा १६ वर्ष भूमिगत तथा पटक–पटक गरी दुई वर्ष ६ महिना बन्दी जीवन बिताएका नेता नेपाल शाही शासनकालमा घरमै नजरबन्द भएका थिए ।
निष्ठावान् राजनीतिज्ञका रूपमा आफूलाई परिचित गराउन चाहने अध्यक्ष नेपालले मुलुकको शान्तिप्रक्रियामा ठूलो भूमिका खेलेका छन् । उनको ‘जनताको बहुदलीय जनवाद’ र ‘जनता जाग्दैछन्’, शीर्षक कृति प्रकाशन हुनाका साथै उनीसँग सम्बन्धित ‘संसद्मा माधव नेपाल’, ‘प्रधानमन्त्री माधव नेपाल’का मन्तव्यलगायत कृति पनि सार्वजनिक भएका छन् ।