Logo

एघारौ राष्ट्रिय कर सप्ताह समापन

‘कर दर होइन दायरा बढाऔं’

‘स्वच्छिक सहभागितासहितको फराकिलो कर आधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारा सहित कर सप्ताह समापन भएको छ । सप्ताहको समापनका अवसरमा आन्तरिक राजस्व कार्यालय दाङ तुलसीपुरले प्रभात फेरि तथा कर दाताहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले करको दर नभइ दायरा बढाउनु पर्नेमा जोड दिएका थिए । अहिले पनि सबै व्यावसायीहरु करको दायरामा आउन नसकेको भन्दै सबैलाई करको दायरामा ल्याउनु पर्ने उनीहरुले बताएका थिए । पछिल्लो समयमा उद्योग तथा व्यवसाय क्षेत्र घरासयी हुँदै गएको भन्दै राज्यले उचित वातावरण सृजना गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आर्थिक समृद्धिका लागि निजी क्षेत्रका महत्वपुर्ण योगदान रहेको बताए । ‘देशको आर्थिक क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो सहयोग रहेको छ’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । उद्योगी तथा व्यावसायीहरुले राज्यलाई कर तिर्नु पर्ने दायित्व रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । आफ्नो दायित्व भुल्न नहुने समेत उनले बताए । कर तिरे वापत राज्यबाट सेवा सुविधा पाउनु नागरिक तथा उद्योगी एवम व्यवसायीको अधिकार रहेको उनको भनाइ छ ।

जिल्लाको आर्थिक विकासका लागि योजना बनाएर अगाडि बढ्न समेत उनले आग्रह गरे । योजना बनाएर अगाडि बढे जिल्लामा औद्योगिक विकास गर्न सकिने उनले बताए । ‘औद्योगिक विकास भएमा जिल्ला आर्थिक रुपमा समेत अगाडि बढने छ’ उनले भने । जिल्लामा आयोजना हुने मेला महोत्सव सबैको सहमतिमा मात्र सञ्चालन गरिनु पर्ने उनले बताए । ‘द्वन्द्व बढाउने काम हामीबाट हुँदैन, द्वन्द्वले समाजमा समस्या बढाउँछ’ प्रजिअ रेग्मीले भने । यसकाबारे आफूहरु सचेत रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले हरेक क्षेत्रबाट उद्योगी तथा व्यावसायीहरु माथि पहार भइ रहेको बताए । कोभिडले थला परेका उद्योगी तथा व्यावसायीहरुलाई बैंकले बृद्धि गरेको ब्याजले थप समस्यामा पारेको बताए । विभिन्न समस्याका कारण अहिले धेरै उद्योगी तथा व्यावसायीहरु पलायन हुनै गएको उनको भनाइ रहेको छ । करको दायरा भन्दा बाहिर रहेका लाइ दायरामा ल्याउनु पर्ने बताए । करको दायरा भन्दा बाहिर रहेकालाई करको दायरामा ल्याउन उद्योग वाणिज्य संघले पनि सहयोग गर्दछ । ‘हामी राज्यसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेका छौं’ अध्यक्ष बुढाथोकीले भने ।

यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले पछिल्लो समय उद्योगी तथा व्यावसायीहरु पलायन हुँदै गएको बताए । अहिले धेरै कोठाहरु खाली हुँदै गएको उनको भनाइ रहेको छ । कोभिड तथा बैक ब्याज वृद्धिले व्यावसायीहरु पलायन हुँदै गएको उनले बताए । राज्यले व्यावसाय गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ रहेको छ । पछिल्लो समय गैर व्यावसायीहरुबाट समेत व्यापारीक मेला महोत्सव लगाउने कार्य गरिएको भन्दै यस प्रकारका कार्य रोकिनु पर्ने बताए ।

आन्तरकि राजस्व कार्यालयका प्रमुख टीकाराज चौलागाईंले कार्यालयले सचेतनासंगै करको दायरा भन्दा बाहिर रहेकालाई दायरामा ल्याउने बताए । यसका लागि सबैको सहयोग रहनु पर्ने समेत बताए । ‘हामी सबै मिलेर अगाडि बढेमा देशको आर्थिक विकासमा सहयोग पुग्ने छ’ प्रमुख चौलागाईंले भने ।

कार्यक्रममा अडानका रमेश केसी, सम्मानित व्यक्तिहरु गेहेन्द्र बस्नेत, वलदेव योगी, सौगतविर चौधरी, तुलसीपुर चेम्बरका अध्यक्ष टोपबहादुर घर्ति लगायतकाले भनाइ राखेका थिए । कार्यालयका कर अधिकृत सनु काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको समाजीकरण कर अधिकृत राजेन्द्र भण्डारीले गरेका थिए । अघिल्ला वर्षहरुमा सप्ताहको अवसरमा ७ दिन नै विभिन्न कार्यक्रमको आयोजना गरिए पनि यसवर्ष चुनावको कारण कार्यक्रम हुन सकेन् ।

उत्कृष्ट करदातालाई सम्मान

समापनको अवसरमा उत्कृष्ट तीन कर दाताहरुलाई सम्मान गरिएको थियो । त्यस अवसरमा उद्योगीको तर्फ गणपती भेनेएर प्लाइउड उद्योगका प्रोपाइटर गेहेन्द्र बस्नेत, राप्ती अटो इन्जीनियरीङका प्रोपाइटर वलदेब योगी, आत्म लघुवित्त संस्थालाई सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । त्यसै गरेर कार्यालयका कार्यालय सहयोगीहरु विष्णु चौधरी र गल्फी चौधरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्