Logo

अहिले अर्थतन्त्रको बाह्य पाटोमा सुधार त आएको छ तर सँगसँगै आन्तरिक पाटोमा देखिएको भद्रगोलले अझै पनि अर्थतन्त्र समस्यारहित छैन ।

आन्तरिक पाटोलाई सुधार

गत आर्थिक वर्षमा वैदेशिक मुद्राको सञ्चिति लगातार घटेपछि वर्षभरि नै एक किसिमको त्रासको वातावरण बन्यो । मुलुक श्रीलंकाको बाटोतर्फ मोडिएको भन्दै धेरै बहस र विवाद भए । अर्थशास्त्रीहरूको भनाइमा पनि अन्योलता देखियो । त्यसले आगामी दिन साँच्चै अप्ठेरामा परिने हो कि भन्ने सन्त्रास सर्वसाधारण सबैमा पर्न गएको थियो । अन्योलमय एक वर्षपछि आउँदा अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको छ । यो सबैका लागि सुखद समाचार हो ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) सम्मको अर्थतन्त्रको बाह्य क्षेत्रका धेरै सूचक सुधारोन्मुख देखिएका छन् । करिब १४ महिनादेखि घाटामा रहेको शोधनान्तर अवस्था अहिले आएर धनात्मक बनेको छ । अघिल्लो वर्ष असोजसम्म ८७ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेको शोधनान्तर अवस्था अहिले १२ अर्ब ४३ करोड बचतमा पुगेको हो । असोजसम्ममा विदेशी विनिमय सञ्चिति नेपाली रुपैयाँमा बढ्न पुगेको छ भने अमेरिकी डलरसँग तुलना गर्दा १ प्रतिशतभन्दा थोरैले घटेको छ । तीन महिनामा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोडबाट बढेर १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ । गत वर्षको लगातार गिरावटलाई हेर्दा यो पनि सन्तोष मान्नुपर्ने अवस्था हो । अहिलेको सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ । यो अर्थतन्त्र सामान्य अवस्थामा रहेको बेला राम्रो ‘पोजिसन’ हो । यस्तै चालू खाता, वस्तु आयातलगायतका प्रमुख सूचक अझै घाटामा छन् । तर गत वर्षभन्दा धेरै बलिया भएका छन् ।
अघिल्लो वर्ष लगातार घटेको रेमिट्यान्स आय अहिले बढेको छ । तीन महिनामा २ खर्ब ८१ अर्ब रुपैयाँ रेमिटेन्सबापत आएको छ । यो गत वर्षको आयसँग तुलना गर्दा १६.८ प्रतिशतको बढोत्तरी हो । कोभिड महामारीपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स आय बढेको देखिन्छ । यो वर्षका तीन महिनामा मात्र नयाँ र पुराना गरी रोजगारीका लागि विदेश जाने नेपालीको संख्या सवा २ लाख पुगिसकेको छ । यसले आगामी दिनमा झनै रेमिट्यान्स भित्रने संकेत गरेको छ । युरोपलगायत केही विकसित मुलुकहरूमा बढ्दो महँगी र त्यससँगै आर्थिक मन्दी देखिन सुरु भएको छ । यसको असर नेपाली युवा पुगेका खाडी मुलुक, मलेसिया र अन्य मुलुकमा परे त्यसले रेमिट्यान्स आय घट्न सक्नेछ । त्यसैले अहिले रेमिट्यान्स बढ्दैमा ढुक्क हुने अवस्था छैन ।
अर्को महŒवपूर्ण पक्ष वैदेशिक व्यापारमा सुधार आएको छ । तर, त्यति सन्तोषजनक छैन । सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्धका साथै पछिल्लो समय चर्केको महँगी र ब्याजका कारण उपभोगमा कमी आएको छ । यसले आयात घटाउन सहयोग गरेको हो । स्वदेशमा उत्पादन कम छ । आयातको प्रतिबन्ध खुलाउने र महँगी केही कम हुनासाथ आयातको ग्राफ फेरि उकालो लाग्नेछ । अर्कातिर १६ प्रतिशतले आयात घटेको बेला निर्यात बढाउन सकेको भए धेरै राम्रो हुने थियो । तर, निर्यात उल्टै ३५.७ प्रतिशतले घटेको छ । अहिलेसम्म ४ खर्ब रुपैयाँका सामान आयात गर्दा ४१ अर्ब ८२ करोड रुपैयाँको मात्र निर्यात गर्न सकेका छौं । आगामी दिनमा अघिल्लो वर्षजस्तै निर्यात बढाउन सक्नुपर्छ ।
गत वर्षसँग तुलना गर्दा अहिले अर्थतन्त्रको बाह्य पाटोमा सुधार त आएको छ तर सँगसँगै आन्तरिक पाटोमा देखिएको भद्रगोलले अझै पनि अर्थतन्त्र समस्यारहित छैन । यो वर्ष सुरुदेखि नै बैंक ब्याजदर र महँगी चुलिएर उद्योगी–व्यवसायी र सर्वसाधारण नागरिकको जीवन कष्टकर बनेको छ । पोहोरको तुलनामा दोब्बर बढेको महँगीले उपभोग घटाउँदा अर्थतन्त्रका अन्य पाटामा समस्या ल्याएको छ । चर्को बैंक ब्याज र उपभोगमा आएको कमीले औद्योगिक एवं व्यावसायिक वातावरण बिगारेको छ । निजी क्षेत्र सडकमा ओर्लिएको छ । उद्योगहरूले कुल क्षमताको ५० प्रतिशत पनि वस्तु उत्पादन गर्न सकेका छैनन् । घरजग्गा, सेयर कारोबार सबैमा शिथिलता आएको छ । बैंकहरूको निजी क्षेत्रमा जाने कर्जा हेर्न लायक छैन । सरकार आफैंले पनि खर्च बढाउन सकेको छैन भने राजस्व असुली पनि ज्यादै न्यून छ । समग्रमा अर्थतन्त्रको आन्तरिक पाटो शिथिल र लथालिङ्ग छ । यस्तोमा दुई दिनपछि हुने आमनिर्वाचनले ल्याउने नयाँ नेतृत्वसामु ठूलो चुनौती पस्केको छ । अर्थतन्त्रको आन्तरिक पाटोलाई सम्हाल्न सक्ने नयाँ अर्थमन्त्री देशले खोजेको अवस्था छ । अर्थतन्त्र सामान्य अवस्थामा रहेका बेला अनुभवविहीन अर्थमन्त्रीले पनि काम गरेको हाम्रो इतिहास छ । तर, अहिले अवस्था फरक छ । त्यसैले दक्षता नभएको व्यक्तिलाई अर्थमन्त्री बनाइयो भने आगामी दिन झनै सकसपूर्ण हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्