अर्थतन्त्र उकास्ने एजेण्डा र उम्मेदवारको पर्खाइमा मतदाता

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै दलहरु चुनावी घोषणा पत्र लिएर मतलदाता रिझाउन गाउँ पसेका छन् ।
जुम्लामा तीन दलीय गठबन्धनका उम्मेदवार पुरानै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सञ्चार, सिँचाई र पर्यटन प्रर्वद्धनका योजनासहित घोषणापत्र देखाएर मत माग्न थालेका छन् । नि:शुल्क स्वास्थ्य, शिक्षा, खानेपानीका एजेण्डा मात्र नयाँ हैनन् । २०६४ यताका विभिन्न निर्वाचनमा जोसुकै उम्मेदवार उठेपनि शिक्षा, स्वास्थ्य र सञ्चारका मुद्दा साझा एजेण्डा हुन् ।
तर जुम्ली मतदाताले भने नयाँ अनुहारसँगै आर्थिक समृद्धि र रोजगारी सिर्जनाका कार्यान्वयनमुखी नयाँ एजेण्डा ल्याएका उम्मेदवारलाई पर्खिरहेका छन् । भोट माग्न एकपछि अर्को आउने उम्मेदवारले शिक्षा, स्वास्थ्य, यातायात नै सुधार गर्छौ भन्ने महत्वकांक्षी योजना सुनाउने गरेको र ठोस गर्न सक्ने खाले कुनै एजेण्डा उम्मेदवारले नल्याएको मतदाताको गुनासो छ ।
दलका तथा स्वतन्त्र उम्मेदवारहरुले संगोलमा शिक्षा, स्वास्थ्य, सडकको विकास गरिने कुरा घोषणा पत्रमा उल्लेख गरेपनि स्पष्ट रुपमा अर्थतन्त्र सुधार तथा बढ्दो बेरोजगारी अन्त्यको सवालमा खासै जोड दिएको पाइँदैन ।
घर खर्च जुटाउन जुम्लाको सिंजा क्षेत्रबाट कमाउन महिलाका भरमा घर छोडेर हजारौं पुरुष कालापहाड गएका छन् । त्यस्तै खाडी मुलुकमा जाने युवाको संख्या पनि नगन्य मात्रामा छ । आगामी निर्वाचनमा जित्ने उम्मेदवारले जुम्लाको अर्थतन्त्र सुधार गर्ने र रोजगारी सृजना गर्न सक्ने ठोस एजेण्डालाई अघि सार्नुपर्नेमा मतदाता बलविर सुनारको जोड छ ।
विगत साढे दुई वर्षसम्म फैलिएको कोरोनाले मुलुकको अर्थतन्त्र थलिएको छ । व्यवसायीहरु बैंकको चर्को ब्याजले थला परेका छन् । चर्को ब्याजदर विरुद्ध सडकमा उत्रिएपनि सुनुवाई भएको छैन । अर्थतन्त्र सुधार बिना विकास सम्भव नभएकाले उम्मेदवारहरुले अर्थतन्त्र उकास्ने मुद्दामा जोड दिनुपर्ने उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाको भनाइ छ ।
यता नागरिक अगुवा राजबहादुर महत भन्छन्, “प्रसस्त सम्भावनाहरु लगानी कुरिरहेका छन् । जल, जमिन,ज डिबुटी, जंगलको परिचालन गर्ने एजेण्डा आवश्यक छ । जसले अर्थतन्त्र सुधारमा टेवा पुर्याउँछ । स्रोत परिचालन गरी आर्थिक समृद्धि र रोजगारी सृजना गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता हो । त्यस्ता एजेण्डा बोकेका उम्मेदवारलाई जनताले जिताउनुपर्छ ।”
जुम्लाको स्याउ, सिमी, ओखर, जडिबुटीको संरक्षण, उत्पादन वृद्धि, प्रशोधन र बजारीकरण गर्न सक्ने एजेण्डा ल्याएका उम्मेदवार रोज्ने पक्षमा मतदाता छन् । आगामी चुनावपछि नयाँ अनुहारसँगै जुम्लाको अर्थतन्त्र सुधार र रोजगारी सृजना गर्न सक्ने नयाँ अनुहारनै अनुमोदित हुने पातारासीका शेर बुढाको भनाइ छ ।