Logo

मतदान गर्न पाउने भएपछि कैदीबन्दी खुसी

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न पाउने भएपछि झापा कारागारका कैदीबन्दी उत्साहित भएका छन् ।
सर्वोच्च अदालतले कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएपछि आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कैदीबन्दीले समानुपातिकमा मतदान गर्न पाउने भएपछि उनीहरू उत्साहित भएका हुन् ।
झापा कारागारमा रहेका कैदीबन्दीमध्ये १ सय ४८ जनाले अस्थायी मतदाताको रूपमा आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कैदीबन्दीले समानुपातिकमा मतदान गर्न पाउने भएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिए ।
झापा कारागारमा एक हजार ४ सय २७ जना कैदीबन्दी रहेको भए पनि मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका १ सय ४८ जना कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने उनले जानकारी दिए ।
कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिएको र त्यसका लागि मतदान गराउन कारागारमै कर्मचारी पुग्ने उनले बताए ।
कारागारमा रहेका कैदीबन्दीले २०६४ र २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्