रक्सोल–काठमाडौं रेलमार्गको सर्भे सकियो

प्रस्तावित रक्सोल–काठमाडौं ब्रोड गज रेलमार्गको फाइनल लोकेसन सर्भे (एफएलएस)को काम पूरा भएको छ । ०७८ असोज तेस्रो साता भएको नेपाल–भारत दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएअनुरुप रेलमार्गको सर्भे भएको हो ।
सम्झौता भएको १८ महिनामा सर्भेको प्रतिवेदन बुझाउने सम्झौतामा उल्लेख भएनुसार नै काम भइरहेको रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताए । उनले भने, “भारतबाट आएको एफएलएस टोलीले रक्सोल–काठमाडौंको अध्ययन पूरा गरेर फर्केको छ । आगामी ६ महिनाभित्रमा सर्भे टोलीले विस्तृत प्रतिवेदन तयार पारेर बुझाउने छ ।”
टोलीले निर्माण गरिने रेलमार्गको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) बुझाएसँगै आयोजनको लागत र निर्माणको प्रकृया, मोडालीटी तथा लगानीको स्रोत सुनिश्चित गर्ने प्रकृया सुरु हुनेछ । सम्झौताअनुसार भारतीय सरकारको आर्थिक सहयोगमा रेलमार्गको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने छ । टोलीले सर्भेका लागि चाहिने यान्त्रिक उपकरण भारतबाटै ल्याएर अध्ययन गरी फिर्ता भएको र विभिन्न परामर्शदाताहरूसँगको समन्वयमा हाल प्रतिवेदन तयार पार्ने काम भइरहेको विभागका महानिर्देशक बिसुरालको भनाइ छ । सम्झौतापछि गरेको प्रारम्भिक प्राविधिक अध्ययनले करिब १ सय ४० किलोमिटर रेलमार्ग निर्माण गर्नुपर्ने सुझाएको थियो । भारतले सम्झौताअनुसार कोभिड–१९ का कारण सर्भे केही समय ढिला सुरु भएको थियो । रक्सोल–जितपुर–निजगढ र सतीखेल हुँदै खोकनासम्म निर्माण हुने रेलमार्गको रुट तयार भएको छ । यसरी भएको अध्ययन प्रतिवेदनको आधारमा मात्र परियोजनाको कुल निर्माण लागत कति र कस्तो मोडलमा निर्माण गर्नुपर्ने आधार तयार हुने महानिर्देशक बिसुरालको भनाइ छ ।
प्रारम्भिक अध्ययनअनुसार सो रेलमार्गमा करिब ३५ पुल र ४२ किलोमिटर सुरुङमार्ग निर्माण गर्नको लागि करिब ३ खर्ब रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको थियो । प्राविधिक अभाव र कोभिड–१९का कारण कार्यान्वयन सम्झौता हुन रोकिएको रक्सोल–काठमाडौं रेलमार्गको फाइनल लोेकेसन सर्भेका लागि नेपाल र भारतबीच गत असोजमा हस्ताक्षर भएको थियो ।
नेपालका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच काठमाडौं–रक्सोल रेलमार्गको अध्ययन गर्ने सम्बन्धमा सन् २०१८ मा हस्ताक्षर भए पनि कोभिड–१९ र अन्य विविध प्राविधिक तयारी नपुग्दा कार्यान्वयन सम्झौता रोकिएको थियो । सम्झौतासँगै अध्ययनको लागि कानुनी पाटो खुल्ला भएको थियो । प्रस्तावित रक्सोल–काठमाडौं ब्रोड गज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ । १८.६ किमि जोगवनी–विराटनगर रेलमार्गको निर्माण भने पूरा भइसकेको छ । चाँडै औपचारिक कार्यक्रम गरेर नेपाल सरकारलाई हस्तान्तरण हुने क्रममा रहेको विभागले जनाएको छ ।