कृषि क्षेत्रमा एक हजार नेपाली जाने
इजरायल रोजगारी

इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने सम्बन्धमा दुई देशका प्रतिनिधिबीच पहिलो चरणको छलफल भएको छ । कृषि क्षेत्रका लागि जाने नेपाली श्रमिकको छनोट, योग्यता तथा अन्य मापदण्डका बारेमा पहिलो चरणको छलफल भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले इजरायलले छनोट लगायतका मापदण्डको प्रस्ताव पठाएपछि थप प्रक्रियाका बारेमा काम गर्ने बताए । “इजरायलले तत्कालै छनोट तथा योग्यता सम्बन्धी प्रस्ताव पठाउने जनाएका कारण त्यसको प्रतीक्षामा रहेका छौं,” उनले कारोबारसँग भने, “इजरायलले कस्ता श्रमिक लैजाने भन्ने टुंगो लगाएपछि मात्र छनोटसम्बन्धी गाइडलाइन बनाउँछांै ।”
श्रम मन्त्रालयले भने नेपालबाट कृषि कामदार लैजाने सम्बन्धमा अध्ययन गर्न १ महिनाअघि नै टोली गठन गरेको थियो । इजरायलले हाल नेपालबाट १ हजारभन्दा बढी केयरगिभर माग गरिसकेको छ भने कृषि क्षेत्रमा समेत १ हजार नेपाली लैजाने प्रतिबद्धता जनाएको छ । हाल इजरायलको विभिन्न कृषि उद्योगमा धेरै नेपाली कार्यरत रहेका छन् । यसअघि केयरगिभरमा माग गरिएका मध्ये १ हजार भन्दा बढी नेपाली इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ । कृषि क्षेत्रका लागि जाने नेपालीको छनोटदेखि अन्य प्रक्रिया जीटुजी मार्पmत नै गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिए । महानिर्देशक आचार्यले कृषि क्षेत्रमा इजरायल जाने नेपाली श्रमिकले साधारण अंग्रेजी भाषा बोल्न सक्ने मापदण्डसहित कृषि क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिन सक्ने बताए । इजरायल सरकारले आगामी जनवरीसम्म कृषि क्षेत्रका १ हजारमध्ये ४ सयलाई लैजाने जनाउँदै आएको छ ।
अहिले धेरैभन्दा धेरै नेपालीले रोजगारीका लागि इजरायल जान चाहेकाले छिटो भन्दा छिटो इजरायल लैजाने वातावरण बनाइदिन नेपालले इजरायललाई अनुरोध गर्दै आएको छ । यसअघि केयरगिभर क्षेत्रमा इजरायलले माग गरेका बाहेक छनोट भएका १ सयभन्दा बढी श्रमिक भने रोकिएर बसेका छन् । इजरायलको विभिन्न केयर सेन्टर (बेताबोद) मा कतै नेपाली श्रमिकको अभाव रहेको छ भने कतिपय स्थानमा मागभन्दा बढी (ओभर स्टाफ) रहेका छन् । यसैगरी इजरायल गएका कतिपय नेपालीको कार्यक्षमता भने चित्तबुझ्दो नदेखिएको पाइएको छ ।
यसअघि श्रम मन्त्रालयले इजरायलको निर्माण क्षेत्रमा श्रमिक पठाउन संयुक्त कार्य समूहमा प्रतिनिधित्वका लागि मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको थियो । इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने प्रयोजनका लागि इजरायलले यसअघि नै द्विपक्षीय वार्ता र छलफलका लागि वार्ता टोली गठन गरिसकेको छ । टोलीले निर्माण क्षेत्रमा माग गरिएको श्रमिक संख्या, न्यूनतम योग्यता, तालिम, छनोटको विधि, न्यूनतम पारिश्रमिकजस्ता विषयमा इजरायली टोलीसँग छलफल गर्ने जनाइएको छ ।