पाँच ट्रेड युनियन महासंघले चुनाव बहिस्कार गर्ने

विभिन्न पार्टी निकटका पाँच ट्रेड युनियन महासंघले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।
रिपोटर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर संयुक्त ट्रेड युनियन संघर्ष समितिले आगामी चुनावबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी एवं राष्ट्रियता,जनतन्त्र र जनजीविका विरुद्ध हुने भन्दै निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।
क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले संयुक्त रुपमा चुनाव बहिस्कार घोषणा गरेका हुन् ।
निर्वाचनको नाममा साम्राज्यवाद–विस्तारवादका दलाल एवं थैलिपतिहरुद्धारा गरिएको फगत कार्टेलिङ प्रहसन मात्र भएको युनियनहरुको ठहर छ । ट्रेड युनियन संघर्ष समिति श्रमिकवर्गका मुक्ति, न्याय र समानताका निम्ति अधिक कठोर संघर्षको नेतृत्व गर्न पनि दृढ रहेको बताइएको छ ।