वालिङका ७ विद्यालय समायोजन

नयाँ शैक्षिक सत्र आरम्भ भएसँगै वालिङ नगरपालिकाका–७ सामुदायिक विद्यालय समायोजन गरिएको छ । स्मार्ट नगर घोषणा भई कार्यान्वयनको चरणमा रहेको वालिङले विद्यालय शिक्षा (१–१२) कक्षा स्थानीय तहको अधिकारभित्र आएसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयहरू समायोजन गरेको हो भने ९ वटा विद्यालयको तह घटाइएको छ ।
५ सामुदायिक विद्यालय समायोजन गरेर जिल्लामै पहिलो नमुना अभ्यास गरेको वालिङले थप २ सामुदायिक विद्यालय समायोजन र ९ विद्यालयको तह घटाउने निर्णय गरेको हो । नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाका अनुसार समायोजनमा परेका विद्यालयमा पञ्चमूल आधारभूत विद्यालय वालिङ–११ र जन्मभूमि आधारभूत विद्यालय वालिङ–९ छन् ।
चालू शैक्षिक सत्र सुरुवात हुनासाथ समायोजनमा परेका विद्यालयमा शारदा आधारभूत विद्यालय वालिङ–२, राम्चेदेवी वालिङ–३, कालिकादेवी वालिङ–१२, भगवती वालिङ–१३ र चन्द्रज्योति वालिङ–१३ छन् । शारदा, राम्चेदेवी र चन्द्रज्योतिमा १–५ कक्षा सञ्चालन भएको थियो भने कालिकादेवी र भगवतीमा १–३ कक्षा सञ्चालनमा रहेको प्रमुख सापकोटाले बताए ।
“विद्यालय समायोजन हुनुमा विद्यार्थी संख्या न्यून हुनु प्रमुख कारण हो भने भौगोलिक विकटता अर्को कारण हो ।” वालिङ नगर प्रमुख दीलिपप्रताप खाँणले भने, “शिक्षामा गुणस्तर वृद्धिका लागि विद्यालय समायोजन गर्न बाध्य भएका छौं ।” पहिलो चरणमा ५ सामुदायिक विद्यालय समायोजन गरिएको र दोस्रो चरणमा २ सामुदायिक विद्यालय समायोजन र ९ विद्यालयलको तह घटाएको नगर प्रमुख खाँणले बताए ।
वालिङ नगरपालिकाभित्र कुल ८० सामुदायिक विद्यालय रहेकामा ७ विद्यालयको समायोजन भएसँगै अब ७३ विद्यालय छन् । शिक्षा शाखा प्रमुख सापकोटाका अनुसार वालिङ नगरभित्रका १४ वडामा सामुदायिकतर्फ माध्यमिक विद्यालय १६ र आधारभूत विद्यालय ५७ वटा छन् । त्यस्तै संस्थागत विद्यालयको संख्या १७ छ, भने धार्मिक तथा सांस्कृतिक पठनपाठन हुने मदरशा एउटा दर्ता छ ।
शिक्षा शाखाले आर्थिक वर्ष ०७६÷७७ का लागि नगर कार्यपालिकालाई शैक्षिक गुणस्तर वृृद्धिका लागि विभिन्न ५० बुँदे कार्यक्रम प्रस्ताव गरेको शिक्षा शाखा प्रमुख सापकोटाले बताए । नगरले बनाउने नीति तथा कार्यक्रममा समावेश गर्नका लागि बालमैत्री विद्यालय, दिवा खाजा, नैतिक शिक्षा प्रदान, सेनेटरी प्याडको ब्यवस्था, एक शिक्षक एक झोला कार्यक्रम, एक विद्यालय एक पुस्तकालय, ई–लाईब्रेरीको ब्यवस्था, जंकफुड निषेध, प्राथमिक उपचार बाकसको ब्यवस्था, स्थानीय पाठ्यक्रम निर्माणजस्ता ५० वटा बुँदा समेटिएको प्रस्ताव पेस गरेको सापकोटाले बताए ।