Logo

अर्थतन्त्र र प्रतिव्यक्ति आय दोब्बर बनाउने दाबी

एमालेको घोषणापत्र

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी ५ वर्षमा नेपालको अर्थतन्त्र दोब्बरभन्दा बढी अर्थात् १०० खर्बको पुर्‍याउने दाबी गरेको छ । यसका साथै एमालेले पाँच वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय पनि दोब्बर अर्थात् ३ लाख रुपैयाँ (२४ सय अमेरिकी डलर) पुर्‍याउने पनि घोषणापत्रमा उल्लेख छ ।
एमालेले पाँच वर्षमा कृषिको व्यवसायीकरण गर्ने, साना–मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गर्ने दाबी गर्दै नेपाल भ्रमण गर्ने पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याउने पनि जनाएको छ ।
तर, एमालेले वर्तमान सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने कार्यमा लागेको आरोप लगाउँदै देशमा एक किसिमको समानान्तर अर्थव्यवस्था हावी भएको पनि जनाएको छ । ‘तस्करी, राजस्व छली, हुन्डी लगायत क्रिप्टो मुद्रा, हाइपर फन्ड र डिजिटल सम्पत्तिका क्षेत्रमा अवैध लगानी भइरहेको छ,’ एमालेको घोषणापत्रमा उल्लेख छ, ‘सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने र त्यस्तो हर्कत गर्नेलाई नियन्त्रण गर्ने नियामक निकायलाई उल्टै हतोत्साहित गर्ने काम गरिरहेको छ ।’
वर्तमान सरकारकै कारण देश सम्पत्ति शुद्धीकरणको चपेटामा पर्ने अवस्था आएको एमालेले आरोप लगाउँदै अवैध सम्पत्तिलाई वैध बनाउने सरकारकै कतिपय नीति तथा निर्णयका कारण देश सम्पत्ति शुद्धीकरणको चपेटामा पर्ने डर रहेको घोषणापत्रमा उल्लेख गरेको छ ।
सेयर र घरजग्गाको उच्च मूल्यले बैंकिङ प्रणालीबाट बाहिरिएको रकम बैंकमा नआउँदा वित्तीय क्षेत्रमा संकटको संकेत देखिन थालेको पनि एमालेले आरोप लगाएको छ । कर्जाको रुपमा प्रणालीबाट बाहिरिएको रकम बैंकमा निक्षेपको रुपमा फिर्ता नआउने, घर जग्गा र सेयर बजारको उच्च मूल्यसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको रकम प्रणालीमा आउन नसकेको पनि एमालेको आरोप छ । घोषणापत्रमा लेखिएको छ, ‘निजी स्वार्थ र लाभका लागि मुलुकलाई अन्धकारतिर धकेली दलाल पुँजीपति, बिचौलिया, कालोबजारी तथा गठबन्धनका मतियार र आसेपासेलाई पोस्ने काम जारी छ ।’
नेपालको इतिहासमै पहिलो पल्ट बिचौलियाका प्रतिनिधिहरू राखेर बजेटमा करका दरहरू हेरफेर गर्नेजस्ता आपराधिक काम भएको आरोप पनि एमालेले लगाएको छ । सरकारले निश्चित व्यवसायीको स्वार्थसिद्धि हुने गरी अघिल्लो आर्थिक वर्षको अध्यादेश बजेटको प्रतिस्थापन विधेयक ल्याएको, चालू बजेट व्यवसायीकै एजेन्ट राखेर बनाइएको, करका दरहरू निश्चित व्यवसायीका स्वार्थमा हेरफेर गरिएको, सीमित व्यवसायीको हितमा बजेटमार्फत करका दरहरू हेरफेर गरिएबाट आक्रान्त भएका व्यवसायीहरू बजेटको विभेदकारी व्यवस्थाका विरुद्ध कालो ब्यानरसहित सडकमा उत्रनुपर्ने अवस्था आएको भन्दै एमालेले वर्तमान सरकारको आलोचना गरेको छ ।
यसका साथै, एमालेले आफ्नो घोषणापत्रमा झण्डासहितको पानीजहाज चलाउने घोषणा पुन: दोहोर्‍याएको छ । अघिल्लो निर्वाचनमा समेत एमालेले यो योजनालाई प्राथमिकता दिएको थियो । आगामी पाँच वर्षभित्र रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण थाल्ने पनि घोषणापत्रमा उल्लेख छ । यसअघि अघिल्लो चुनावमा पनि एमालेले यी पूर्वाधार बनाउने नै घोषणा गरेको थियो । साथै, सबै महानगर, काठमाडौंमा मेट्रो रेल, सहरी केवलकार र पड वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने तथा घोषणापत्रमा उल्लेख छ ।
पार्टीको घोषणापत्र सार्वजनिक पछि बैंकर अनिलकेशरी शाहसँगको लाइभ डिबेटमा एमाले अध्यक्ष ओलीले एमालेले १५० सिट जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको दाबी पनि गरे । ओलीले २०७४ मा आफ्नो पार्टीले बहुमत नपाएको भन्दै सरकार नबन्दै षड्यन्त्र भएको पनि बताए । २०७४ को चुनावपछि एमालेको सरकार बनाउन नदिन सुरुमै गम्भीर षड्यन्त्र भएको दाबी गर्दै ओलीले भने, “मंसिरमा चुनाव सम्पन्न भए पनि सरकार बनाउन नदिने गम्भीर षड्यन्त्र भयो । चुनाव एमालेसँग मिलेर लड्ने र भित्रभित्रै अर्को षड्यन्त्र गर्ने अरूसँग मिलेर सरकार बनाउन खोजेर ३ फागुनसम्म सरकार बनाउन दिइएन ।”

प्रतिक्रिया दिनुहोस्