Logo

निर्वाचन क्षेत्र रणनीतिक सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता

संघीय सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत गोरखाका दुईवटा सडकखण्ड स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको छ । यस कार्यक्रमअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका–५ दर्बुङफाँटदेखि लाँकुरीबोट हुँदै दलभञ्ज्याङसम्मको सडक छनोट गरिएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ को घ्याम्पेसाल, ताकुकोट, हुँडीखोला, सौरपानी, रञ्चोक, पोखरी हुँदै वारपाकसम्मको सडक पनि छनोटमा परेको छ ।
दुवै सडकखण्ड स्तरोन्नतिका लागि गत १० असारमा ठेक्का सम्झौता भएको ११ किलो छेवेटार–भालुस्वाँरा–वारपाक सडक योजना कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको सडक स्तरोन्नतिका लागि रायमाझी नवकान्तिपुर जेभीसँग २८ करोड चार लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वारपाकसम्मको सडक स्तरोन्नतिका लागि पीआर नाना जेभीसँग २९ करोड २० लाख ४४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको योजना प्रमुख पशुपति ज्ञवालीले बताए । दुवै सडक खण्डको लम्बाइ करिब १५/१५ किलोमिटर रहेको छ । ठेक्का सम्झौताअनुसार २० असार २०८१ सालसम्ममा स्तरोन्नतिको काम सकिने छ ।
कार्यालयका प्राविधिकले गत वर्ष नै दुवै सडकखण्डको सर्भेको काम गरेका थिए । स्तरोन्नति गरी कालोपत्रेको काम सक्नका लागि भने करिब डेढ अर्ब रुपैयाँका दरले बजेट चाहिने दुवै सडकखण्डको विस्तृत आयोजना प्रतिवेदन डीपीआरमा उल्लेख छ । तर सडक विभागले अहिले भने ठाउँठाउँमा सडक सुधार र ट्रयाक निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको हो । जसअनुसार गण्डकी गाउँपालिका–५ दर्बुङफाँटदेखि लाँकुरीबोट हुँदै दलभञ्ज्याङसम्मको १५ किलोमिटर सडकमध्ये नौ किलोमिटर कालोपत्रे हुनेछ भने अन्य खण्डमा नाली र पर्खाल निर्माणलगायतको काम गरिनेछ ।
घ्याम्पेसाल, ताकुकोट, हुँडीखोला, सौरपानी, रञ्चोक, पोखरी हुँदै वारपाकसम्मको सडक खण्डअन्तर्गत ताकुकोटको बहाकोटबाट स्वाँराखोलासम्मको करिब पाँच किलोमिटर सडक कालोपत्रे गरिने योजना प्रमुख ज्ञवालीको भनाइ छ । यस्तै पोखरीगाउँबाट वारपाकसम्म सडकको नयाँ ट्रयाक निर्माण गरिनेछ । अन्य खण्डमा नाली र पर्खाल निर्माण गर्ने गरी कार्यालयले ठेक्का सम्झौता गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको २१ चैत २०७७ मा शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्