विकास र रोजगारी नै उम्मेदवारको प्रतिबद्धता

आउँदो ४ मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा धादिङमा दुई गठबन्धनबीच कडा टक्कर पर्ने अनुमान गरिएको छ । सरकारमा आबद्ध दलहरू (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा) र सरकारबाहिर रहेको (नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी) दुई गठबन्धन चुनावी मैदानमा उत्रेका छन् । यस जिल्लाको निर्वाचन यस अर्थमा पनि महŒवपूर्ण छ कि एमालेले पञ्चायतकालमा पनि जनपक्षीय उम्मेदवारले चुनाव जितेको जिल्ला हो । यस जिल्लाबाट कांगे्रसका जम्मा दुई जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राप्रपाको एक जनाले दुई पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । २०६४ मा सम्पन्न भएको संविधानसभाबाहेक बाँकी सबै एमालेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको छ । अर्को महŒवपूर्ण पक्ष एमाले धादिङका संस्थापक राजेन्द्रप्रसाद पाण्डे राष्ट्रिय पञ्चायत सदस्यमा जनपक्षीय उम्मेदवार हुँदै, जिल्ला विकास समितिको सभापति हुँदै पटक–पटक सांसद भएका छन् । उनी अहिले एमालेमा छैनन् । उनी नवौं पटकको चुनावमा नयाँ पार्टी नेकपा एकीकृत समाजवादीबाट उठेका छन् । पाण्डेले नै गठन गरेको एमालेबाट पाण्डेकै पूर्वकार्यकर्ता भूमिप्रसाद त्रिपाठी दोस्रो पटक चुनावी मैदानमा उत्रेका छन् । एमालेको तर्फबाट खेमप्रसाद लोहनी र नेपाली कांग्रेसका तर्फबाट रामनाथ अधिकारी पनि दोस्रो पटक चुनावी मैदानमा उत्रेका छन् । दुई गठबन्धनका उम्मेदवारसहित प्रतिनिधिसभा क्षेत्र नं. १ मा दलबाट ७ जना र स्वतन्त्र ७ जना, प्रतिनिधिसभा क्षेत्र नं. २ मा दलबाट ६ जना र स्वतन्त्र ८ जना गरी दुई पदका लागि २८ जना चुनावी मैदानमा छन् । धादिङ प्रतिनिधिसभा–१ मा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्री पाण्डे र एमाले धादिङका अध्यक्ष एवं निवर्तमान प्रतिनिधिसभा सदस्य त्रिपाठीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतिनिधिसभा–२ मा एमालेका केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनी र नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभाका पूर्वसदस्य रामनाथ अधिकारी बीच प्रतिस्पर्धा हुँदैछ । प्रस्तुत छ, दुई गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे, त्रिपाठी, लोहनी र अधिकारीसँग धादिङको आर्थिक विकासको सन्दर्भमा कारोबारकर्मी राजेन्द्र बस्नेतले गरेको कुराकानीको सार :
रोजगारी सिर्जनामार्फत आर्थिक विकास गर्नेछु
राजेन्द्रप्रसाद पाण्डे
धादिङ–१ उम्मेदवार, गठबन्धन
म नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय छु । केही अनुभव हासिल गरेको छु । बागमती प्रदेश सरकारको मुख्यमन्त्री भएपछि आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक र शैक्षिक विकासको महŒवपूर्ण योजना बनाएको छु । यी योजना संघीय सरकारबाट गराउँदा छिटो गर्न सकिने र देशभर योजना कार्यान्वयन गर्न आवश्यक रहेको छ । मेरा अनुभव र योजना संघीय सरकारमार्फत १ सय ६५ वटै निर्वाचन क्षेत्रमा केही गर्न सकिन्छ भन्ने विश्वास भएर उम्मेदवार भएको छु । धादिङमा केही महŒवपूर्ण कामहरू गर्नुपर्नेछ । धादिङ राजधानी काठमाडांै र अरू जिल्लालाई जोड्ने जिल्ला हो । त्यसकारण राष्ट्रिय राजमार्गको स्तरवृद्धि गर्न मवा खोलादेखि थानकोटसम्मको सडक सुधार र त्रिशूलीको उत्तरपट्टि सडकको निर्माण गर्न, धार्के–सीतापाइला सडकलाई वैकल्पिक सडकका रूपमा स्तरोन्नति गर्र्न, धादिङबेसी–तिप्लिङ–सोमदाङ सडक कालोपत्रे गर्न र साना महŒवपूर्ण सडकको स्तरोन्नति गर्न, पृथ्वी राजमार्गको धादिङ खण्डमा विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्न, सीपयुक्त जनशक्ति उत्पादन गर्न, तालिम केन्द्र स्थापना गर्न, स्वदेशमै काम/रोजगारी सिर्जना गर्न, पृथ्वी राजमार्गको धादिङ खण्डमा ट्रममा सेन्टरको निर्माण तथा सञ्चालन गर्न, धादिङको राजमार्ग क्षेत्रलाई वैकल्पिक सहरका रूपमा विकास गर्न, मलेखु–भण्डार सडक र जोगीमारा–शक्तिखोर सडक निर्माण म प्रनिधिनिधिसभा सदस्यको उम्मेदवार भएको हुँ ।
निर्वाचन जित्न मेरा धेरै आधार छन् । मसहितले निर्माण गरेको एमाले पार्टीमा रहेका धरै नेता कार्यकर्ता, शुभचिन्तकको ध्यान मतिर नै छ । उहाँहरू मलाई नै भोट हाल्नुहुन्छ । म आबद्ध पार्टी एकीकृत समाजवादी आफैंमा पनि मजबुत छ । धुनीबेसीमा प्रमुख, सिद्धलेकमा उपाध्यक्ष र बेनीघाट रोराङमा उपाध्यक्ष जितेका छन् । अझ अर्को महŒवपूर्ण पक्ष अहिले राष्ट्रिय गठबन्धन गरी सरकार सञ्चालन भइरहेको छ । त्यो गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्र छन् । म त्यही गठबन्धनको साझा उम्मेदवार हुँ । यतिमात्र नभई म प्रतिनिधि हुँदा गरेका विकासले मानिसहरूमा ठूलो छाप परेको छ । विकास योजना बनाउन सक्छ भन्ने जनविश्वास छ । यही आधारमा म चुनाव जित्छु ।
मेरो निर्वाचन क्षेत्र र राष्ट्रियस्तरमा गर्नुपर्ने आर्थिक विकासको पाटोमा म योगदान गर्न सक्छु र यसअघि पनि गर्दै आएको हुँ । सीपयुक्त जनशक्ति उत्पादन गर्ने, जसले अहिलेको कमाइका तीन/चार गुणा बढी कमाउन सक्यो । कृषिलाई प्रविधिमैत्री बनाउने, सरल र सहुलियत ऋण उपलब्ध गराउने, सहकारीमार्फत बजारीकरण गर्ने, उद्योग स्थापना र सञ्चालनको वातावरण निर्माण तथा योजना तर्जुमा गर्ने, महाभारत लेक र हिमालय पर्वतसँग पर्यटकीय सम्बन्ध जोड्न पूर्वाधार निर्माणका काम गरी रोजगारी सिर्जनामार्फत आर्थिक विकास गर्न काम गर्छु ।
विकासका योजना पूरा गर्न मेरो उम्मेदवारी हो
भूमिप्रसाद त्रिपाठी
धादिङ–१ उम्मेदवार, नेकपा एमाले
लोकप्रिय कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजिएको छ । सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना रोक्ने प्रयास भयो । संविधान आफू अनुकूल प्रयोग गरिन थाल्यो । अहिले अपवित्र गठबन्धनबाट मुलुक सञ्चालन भइरहेको छ । यी गतिविधिहरूलाई रोक्न र मेरो निर्वाचन क्षेत्रमा विकासका पूर्वाधारहरू तयार गर्नु छ । अहिले पनि मुख्य राजमार्गबाहिर कालोपत्रे सडक निर्माण भएको छैन । गाउँमा अझै खानेपानी सुविधा पुग्न बाँकी घरपरिवार छन् । कैयौं बस्तीमा बत्ती पुगेको छैन । स्वदेशमा रोजगारी नपाएर कैयौं युवा विदेश गइरहेका छन् । केही विकासका योजना पूरा गर्न बाँकी छन् । कोही विकासमा निकै अघि बढिसकेका छन् । कोही विकासका आधारभूत पूर्वाधार पाउनबाट वञ्चित छन् । यी काम गर्न मलाई एमालेले धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवार बनाएको छ ।
नेकपा एमाले धादिङ इतिहास बोकेको पार्टी हो । यसमा हजारांै कार्यकर्ता छन् । हजारौं शुभचिन्तक छन् । एमाले त्यस्तो पार्र्टी हो, क्रियाशील र व्यवस्थित संगठन, अनुशासित कार्यकर्ता भएको पार्टी हो । मतदाताले रुचाएको पार्टी हो । यो पार्टी धादिङमा पटक–पटक परीक्षण भइसकेको पार्र्टी हो । एमालेको उम्मेदवार मसँग चुनाव लड्ने प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार पुरानो नेता भए पनि आफैंमा सानो पार्टीको छ । त्यो पार्टीको जनाधार छैन । म यसअघि पनि प्रतिनिधिसभा सदस्य भइसकेको छु । म जनताको साथमै छु । एमाले र राप्रपाको गठबन्धन पनि छ । यही कारण म चुनाव जित्छु ।
जनतालाई उत्पादनसँग जोडेर आर्थिक विकास गर्नुपर्छ । उत्पादन वृद्धि गर्न सडक, सिँचाइ, खानेपानी, बिजुली, ऋण अनुदान, प्रोत्साहन आवश्यक छ । त्यस कारण मुख्य राजमार्ग स्तरोन्नति गर्ने र वैकल्पिक राजमार्ग निर्माण गर्नुपर्छ । त्यसका लागि बेनी दोभानदेखि गल्छीसम्म त्रिशूली उत्तरपट्टि सडक निर्माण गर्ने, गल्छी–लामीडाँडा सडक स्तरोन्नति गर्ने र धार्के–सीतापाइला सडकको स्तरोन्नति गर्नु छ । काठमाडांैको चन्द्रगिरिबाट महाभारत लेक हुँदै शक्तिखोर पदयात्राका लागि पूर्वाधार निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने, प्राविधिक शिक्षा स्कुल तहमा पढाउने, प्राविधिक जनशक्ति उत्पादन गर्ने, नदी किनारका टारहरूमा सिंचाइ गर्ने, धुनीबेसी नगरपालिकालाई वैकल्पिक सहरका रूपमा विकास गर्ने, राजमार्गमा हुने दुर्घटनाबाट कम क्षति गर्न तथा छिटोछरितो उपचारका लागि ट्रमा सेन्टर स्थापना तथा सञ्चालन गर्न र कृषि उत्पादन बढाउन ऋण तथा अनुदानको व्यवस्था मिलाउने काम गर्छु ।
उत्पादन वृद्धिमार्फत आर्थिक विकास गर्ने मेरो योजना छ
खेमप्रसाद लोहनी
धादिङ–२ उम्मेदवार, नेकपा एमाले
नेकपा एमाले राष्ट्रिय जिम्मेवारी बोकेको पार्टी हो । समाजवाद ल्याउन सुखी नेपाली समृद्ध नेपाल नारासहित अघि बढेको छ । यसले विकासका नमुनाहरू प्रस्तुत गरिसकेको छ । लोकतन्त्रमा विश्वास गर्ने देशकै जनमत र विश्वास पाएको छ । देशको रक्षा गर्न, नीति तथा कार्यक्रम र बजेट बनाउन, सरकारको नेतृत्व गर्न सक्ने पार्टी हो । पार्टी अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर एमाले चुनावमा गएको छ । लोकप्रिय राजनेताबाट थालनी भएका केही अधुरा, केही नयाँ काम गर्न, रोकिएका राष्ट्रिय मुद्दाको कार्यान्वयन गर्न धादिङ प्रतिनिधिसभा–२ बाट मेरो उम्मेदवारी हो ।
धादिङ एमालेको उर्वरभूमि र लगनशील तथा मेहनति कार्यकर्ता र बहुसंख्यक मतदाना तथा शुभचिन्तक भएको जिल्ला हो । एमाले गठनका केही वर्षपछि २०४२ सालदेखि म यस पार्टीमा आबद्ध भएको हुँ । मैले गाविस उपाध्यक्ष, जिल्ला सभापति भएर जिल्लाको विकासमा काम गरेको छु । ममा विकास गर्न सक्ने क्षमता छ । जनतासँग निकट छु । एमालेको नीति तथा कार्यक्रम र बजेटका बारेमा जनता जानकार छन् । राप्रपासँग गठबन्धन छ । यी कारणले गर्दा म चुनाव जित्छु ।
स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, सडक विस्तार तथा स्तरोन्नति गरी बाह्रै महिना सञ्चालन गर्ने, शिक्षित र सीपयुक्त जनशक्ति उत्पादन गर्ने तथा प्राविधिक शिक्षा र बिजुली बत्तीलाई नियमित बनाउन आवश्यक छ । किसानलाई प्रविधि र सहुलियत निर्णयको व्यवस्था र पशुपालन क्षेत्रमा प्रोत्साहन गरी युवाहरूलाई विदेश जानबाट रोकी स्वरोजगार बनाउनुपर्छ । धादिङ विकासको सम्भावना बोकेको र अवसर प्राप्त जिल्ला हो । औद्योगिक सुरक्षा प्रबन्ध मिलाई उद्योग स्थापना र सञ्चालन, रुवी भ्यालीको रुवी प्रशोधन केन्द्र निर्माण, राजगमार्ग क्षेत्रमा उद्योग स्थापना, सिमेन्ट उद्योग खोल्ने वातावरण बनाउन काम गर्नु छ । आँखु खोला, त्रिशूली नदी र बूढीगण्डकी नदीमा जलविद्युत आयोजना निर्माण गर्नुपर्छ । कृषिसँग पर्यटन जोडेर ग्रामीण क्षेत्रमा विकास गर्नुपर्छ । स्वास्थ्य र शिक्षा नि:शुल्क बनाई रोजगारी सिर्जना हुने काम गर्नुपर्छ । धार्मिक पयर्टनको क्षेत्रमा काम गरी ग्रामीण भेगमा रोजगारी सिर्जना गर्ने, जसले गर्दा ग्रामीण भेगका मानिसहरूले रोजगारी पाउनेछन् । यसरी सबै उत्पादनशील जनशक्तिलाई उत्पादनसँग जोडेमात्र अािर्थक विकास हुने भएकाले म आर्थिक विकासका क्षेत्रमा काम गर्नेछु ।
आर्थिक विकासमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउनेछु
रामनाथ अधिकारी
धादिङ–२ उम्मेदवार, गठबन्धन
सुशील कोइराला प्रधानमन्त्री हुँदा संविधानसभाबाट जारी भएको संविधान अहिले धर्मराइरहेको छ । संविधानको रक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्र प्रवद्र्धन गर्न मौलिक हकको कार्यान्वयन गर्नुपर्नेछ । जिल्लाको आर्थिक तथा भौतिक विकास गरेर जनताको जीवनस्तर सुधार गर्नुपर्नेछ । विविध सांस्कृतिक सम्भावना, भौगालिक विविधता रहेको जिल्ला हो धादिङ । बेसीदेखि पहाड र हिमाललाई जोडेर विकास गर्नु छ । रोजगारी सिर्जना, वैदेशिक रोगजारीलाई विकल्प खोज्न सक्ने कार्यक्रमहरू कार्यान्वयन गर्नु छ । यसअघिका प्रतिनिधिहरूले केही गर्न सकेनन् । कांग्रेसले जम्मा दुई पटकमात्र प्रतिनिधिसभामा प्रतिनिधित्व गरेको छ । २०४८ सालमा स्वर्गीय दामन पाख्रिनले र २०५६ सालमा मैले प्रतिनिधित्व गरेको हो । माथिका काम गर्नका लागि धादिङ प्रतिनिधिसभा–२ मा मेरो उम्मेदवारी हो ।
वाम लोकतान्त्रिक गठबन्धनबाट यस क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसको संगठन पनि विगतको तुलनामा अहिले मजबुत छ । लगनशील र अनुशासित कार्यकर्ताहरू छन् । म जिल्ला सदरमुकाममा बसेर जनताको काम गरिरहेको छु । म यसअघि पनि प्रतिनिधिसभा सदस्य भएर काम गरेको छु । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले ११ पालिकामा स्थानीय तह निर्वाचन जितेको छ । यी आधारमा मैले चुनाव जित्छु ।
धादिङको ८५ किलोमिटर मुख्य राजमार्ग छ । हजारौं गाडी गुड्छन् । तर, यहाँका मानिसको जीवनस्तर उठेको छैन । अझ उत्तरी धादिङ भौगालिक रूपमा विविधतायुक्त छ । यहाँको आर्थिक अवस्था अझ फरक छ । यहाँ सडक, बिजुली बत्ती पुर्याएर रोजगारी सिर्जना गर्नु छ । बूढीगण्डकी आयोजना निर्माणको काम रोकिएको छ । सरकारी लगानीमा निर्माण गर्ने भनिएको छ । यसको कार्यान्वयनमा दबाब सिर्जना गर्नु छ । रुवी भ्यालीलाई पर्यटकीय हब बनाउन र रुवी प्रशोधन गर्न ढिला भइसकेको छ । उद्योग स्थापनामार्फत लगानी भिœयाउने र रोजगारी सिर्जना गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी कृषि तथा पशुपालनमा सहुलियत ऋण, प्रोत्साहन र अनुदानको व्यवस्था गर्नु छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बढाउन नि:शुल्क गर्नु छ । यी कामहरू गरेर जिल्लाको विकासमा योगदान गरी जिल्लावासीको ओठमा मुस्कान ल्याउनु छ । आर्थिक विकासमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउन म प्रतिबद्ध भएर काम गर्न लाग्नेछु ।