Logo

काठमाडौंबाट दैनिक तीन उडान गर्ने वायुयानले एउटा भैरहवाबाट गर्नैपर्ने

नेवानिको दिल्ली उडान रद्द

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नगरेको भन्दै नेपाल वायुसेवा निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरेको छ । प्राधिकरणले आफूले दिएको निर्देशन पालना नगरेको भन्दै आइतबार बिहान दिल्लीतर्फको उडान नै रद्द गरेसँगै दुई सरकारी निकायबीचको झगडा बाहिर आएको हो ।
यसअघि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ३ उडान गर्ने अन्तर्राष्ट्रिय वायुयानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि एक उडान गर्नुपर्ने कार्यतालिका बनाएको छ ।
प्राधिकरणले जाडो याम (अक्टोबर ३०–मार्च २७) को उडान कार्यतालिका सार्वजनिक गर्दै भैरहवा विमानस्थलबाट उडान गर्नुपर्ने कार्यतालिका बनाएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार त्रिभुवन विमानस्थलबाट दैनिक तीनभन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुयान कम्पनीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने कार्यतालिका स्वीकृत गरेको बताए । उनले भने, “प्राधिकरणले जाडो सिजनको लागि उडान कार्यतालिका स्वीकृत गर्दै अक्टोबर ३० देखि मार्च २७ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ भन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायुयानले भैरहवाबाट कम्तीमा एक उडान गर्नु पर्नेछ ।” कार्यतालिकाअनुसार हाल नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले एक उडान भैरहवा बाट गर्नु पर्नेछ ।
आइतबारदेखि जाडो यामको कार्यतालिका कार्यान्वयन गरेको प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौं–नयाँ दिल्लीको उडान समेत रोकेको थियो, जसका कारण नयाँदिल्ली उडान गर्न विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए । प्राधिकरणका प्रवक्ता निरौललाले भने स्वीकृत कार्यतालिका भन्दा बाहिर उडान गर्न खोज्दा निगमको उडानमा रोक लगाइएको बताए ।
उता, हिमालय एयरलाइन्सले भने भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान थाल्न कमर्सियल ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिनुपर्ने सर्त राखेको छ ।
भैरहवा विमानस्थलमा उडान भर्नको लागि बिजनेस नदेखेपछि वायुयान कम्पनीहरुले काठमाडौंबाट मात्र उडान गर्ने गरी कार्यतालिका प्राधिकरणमा पेश गरेका थिए । यता प्राधिकरणले भने उडान नगरी यात्रु र बिजनेस नहुने बताउँदै नियमित उडानमा रोक लगाएर नयाँ उडान तालिका स्वीकृत गरेको थियो । नयाँ तालिका आइतबारवाट कार्यान्वयनमा आएसँगै निगमको नियमित उडानमा रोक लगाइएको थियो ।
प्रवक्ता निरौलाका अनुसार आगामी डिसेम्बर १५ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट दैनिक ३ उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायुयानले एक उडान भैरहवाबाट गर्नु पर्ने छ । उनले भने, “पहिलो चरणमा निगम र हिमालयलाई आन्तरिक तयारीको समय दिएर जाडो यामबाट भैरहवामा उडान गर्नको लागि समय दिइएको थियो । आगामी दिनमा कतार एयरवेज, एयर अरेबिया, फ्लाइ दुबईले पनि उडान गर्नुपर्छ ।”
त्रिभुवन विमानस्थलबाट ३ भन्दा बढी उडान भरिरहेका वायुयान कम्पनीहरुलाई आन्तरिक तयारी गर्ने समय दिएर नै कम्तीमा एक उडान भैरहवाबाट गर्न परिपत्र जारी गरिएको थियो प्राधिकरणका अनुसार कतार, एयर अरेबिया, फ्लाइ दुबईले काठमाडौं विमानस्थलबाट दैनिक ३ भन्दा बढी अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । प्राधिकरणले तोकेको कार्यतालिकामा वायुयान कम्पनीले उडान नगरे नियमित उडान भरिरहेका वायुयानको उडानमा रोक लाग्ने प्राधिकरणले जनाएको छ ।
गत वैशाखबाट सञ्चालनमा आएको भैरहवा विमानस्थलबाट जजिरा एयरलान्सले नियमित उडान गरिरहेको थियो । तर पछिल्लो चरणमा भने जजिराले सातामा ३ उडान मात्र गर्दै आएको छ ।

भैरहवाबाट मात्र चार्टर्ड उडान
सरकारले अब त्रिभुवन विमानस्थलमा हवाईजहाजमार्फत हुने चार्टर्ड उडान प्रतिबन्ध गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय गरेको हो ।
यसले त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ । सञ्चालन खर्च समेत नउठेपछि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनमा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । त्रिभुवन विमानस्थलको ट्याक्सी–वे विस्तारको काम पनि गर्नुपर्ने भएकाले सकेसम्म भैरहवामा अन्तर्राष्ट्रिय उडानहरु लैजान खोजिएको उनको दाबी छ । यसअघि नै प्राधिरकणले विदेशबाट आउने चार्टर्ड उडान भैरहवा पठाउन सुरु गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्