बालबालिकालाई बुधबार र बिहीबार भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

आजबाट बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि खुवाउन सुरु गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अनुसार (बुधबार र बिहीबार) भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि खुवाइन्छ । ‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ सुरु गरिएको सो कार्यक्रम बिहान ८ बजेबाट बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ । महिला स्वास्थ्य स्वयम्सेविकाहरूले ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई सो क्याप्सुल खुवाइरहेका छन् ।
ललितपुर पाटनमा सो क्याप्सुल खुवाइरहेकी महिला स्वास्थ्य स्वयम्सेविका दिलशोभा महर्जनले भोलिसम्म सो कार्यक्रम रहेकाले आफ्ना बालबालिकाहरूलाई सो क्याप्सुल खुवाउन नछुटाउनु आग्रह गरे ।
सरकारले हरेक वर्ष वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते सो क्याप्सुल र जुकाको औषधि खुवाउने गर्दै आएको छ ।