Logo

उम्मेदवारका प्रतिबद्धता : पूर्वाधार विकासदेखि रोजगारी सिर्जनासम्म

आउँदो ४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हँुदैछ । मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक आमनिर्वाचन हुन लागेको हो । २३ असोजमा उम्मेदवारी दर्तापछि उम्मेदवारहरू आफ्ना एजेन्डा लिएर गाउँकेन्द्रित भएका छन् । पहिलो निर्वाचनमा वाम एकता भएर दुईतिहाइ बहुमत ल्याएको थियो । तर, यस निर्वाचनमा एकातिर पाँचदलीय गठबन्धन र अर्कातिर एमाले, राप्रपालगायतका दलहरू छुट्टाछुट्टै निर्वाचनमा होमिएका छन् ।
जुम्लामा कांग्रेस, माओवादी र समाजवादी पार्टीको तीन दलीय गठबन्धन एक भएर चुनावमा उत्रिँदा उता नेकपा एमाले, राप्रपा र नेमकिपा छुट्टाछुट्टै चुनावी मैदानमा छन् । यद्यपि गठबन्धनभित्र असन्तुष्टि बढ्दो छ । अभियन्ता ज्ञानेन्द्रबहादुर शाही राप्रपाबाट उम्मेदवार बनेपछि जुम्लाको चुनाव उसै रोचक बनेको छ भने माओवादी पार्टीले टिकट नदिएपछि प्रतितिनिधिसभाका लागि जुम्लाबाटै स्वतन्त्र उम्मेदवार पनि खडा भएका छन् । आआफ्ना एजेन्डासहित गाउँ पसेका उम्मेदवारमध्ये कसले जनताको मन जित्छन् भन्ने कुरा हेर्न बाँकी नै छ । यद्यपि, जुम्लाका मतदाताहरू नयाँ अनुहार चुन्न चाहेको कुरा सामाजिक सञ्जालमा सर्वत्र छ ।
यसै सन्दर्भमा जुम्लाबाट आउँदो ४ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ उठेका तीन दलीय गठबन्धन, नेकपा एमाले, राप्रपा, नेमकिपा र स्वतन्त्र उम्मेदवारसँग उनीहरूका चुनावी एजेन्डा, आफूले जित्ने आधारलगायतका विषयमा कारोबारकर्मी सागर परियारले गरेको कुराकानीको सार :

आर्थिक समृद्धि र विकासमैत्री नीति निर्माणमा जोड दिनेछु
रतननाथ योगी
उम्मेदवार, नेकपा एमाले, जुम्ला
आमनिर्वाचन २०७९ आउँदो ४ मंसिरमा हुँदैछ । २३ असोजमा उम्मेदवारी दर्तापछि सबै दलका उम्मेदवार चुनावी प्रचारका लागि गाउँगाउँ पुगेका छन् । सबैले आ–आफ्ना चुनावी एजेन्डाहरू प्रस्तुत पनि गरिरहेका छन् । मेरा पनि केही चुनावी एजेन्डा छन् । तर, धेरै महŒवाकांक्षी काल्पनिक एजेन्डा केही छैनन् । २०७४ को चुनावबाट तिला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई काम गर्दाका अनुभव र जुम्लाका तमाम समस्यालाई समधान गर्ने खालका मेरा एजेन्डा छन्, जसमध्ये मेरो जुम्लासँगै जुम्लाको आर्थिक समृद्धि र विकासमैत्री नीति निर्माण पहिलो प्राथमिकता हो । नीतिविना विकास निर्माण, सेवा प्रवाह, आर्थिक समृद्धि, रोजगारी सिर्जना, उत्पादन वृद्धि नागरिकको आय आर्जन वृद्धिजस्ता कुरा सम्भव छैन । त्यसैले पुराना नीतिको संशोधन तथा नयाँ आर्थिक विकासमैत्री नीति निर्माणलाई पहिलो प्राथमिकता दिने योजना छ । सांसदको काम, कर्तव्य र जिम्मेवारी मैले बुझेको छु । जितेर गएपछि मन्त्रालय धाएर योजना माग्ने नभई जुम्लामा बर्सेनि बहुवर्षीय योजना र बजेट आउने खालको दीर्घकालीन गुरुयोजना निर्माण गरिनेछ । हचुवाका भरमा बजेट माग्ने र उपलब्धि नदेखिने प्रवृत्तिको पनि अन्त्य गरी गुरुयोजनाका माध्यमबाट जुम्लामा बजेट भिœयाइनेछ । साथै, हाम्रा आन्तरिक आयका प्रशस्त स्रोतहरू छन् । तर, नीतिकै अभावले परिचालन नहुँदा आन्तरिक आयमा मुलुक कमजोर भएको अवस्था छ । आर्थिक रूपमा हामी अझै परनिर्भर छौं । त्यसैले आन्तरिक स्रोत परिचालनको ठोस नीति बनाई कार्यान्वयनका लागि पहल गर्नेछु । बढ्दो बेरोजगारी अन्त्यका लागि युवालाई कृषिसँग जोड्ने, उत्पादन वृद्धि र बजारीकरणमा सहयोग गर्ने, नि:शुल्क स्वास्थ्य शिक्षाको सुनिश्चितता गर्ने, गुरुयोजनाका माध्यमबाट मात्रै जिल्लामा बजेट पठाउने, प्रत्येक जिल्लामा बहुवर्षीय योजना अनिवार्य हुनुपर्ने विभिन्न पक्षको विकासका लागि ठोस नीति निर्माण नै पहिलो प्राथमिकता हो । त्यसैले म निर्वाचन जितेर सांसदका रूपमा गइसकेपछि नीति निर्माणमा बढी केन्द्रित हुनेछु भने जिल्लाको विकास र समृद्धिका लागि तीनै तहका सरकारसँग आवश्यक समन्वयलाई अघि बढाउनेछु । १६ वर्षको उम्मेरबाट राजनीतिमा लागेको थिएँ । विभिन्न आन्दोलनको अगुवाइ गर्दै राजनीति नेतृत्वसम्म पुगेको छु । पाँच वर्ष पालिकाको अध्यक्षका रूपमा पनि काम गरी अनुभव बटुलेर आएको छु । जनताका मसिना समस्यालाई मनैदेखि मैले मनन पनि गरेको छु । मेरो समन्वय, कार्यशैली, विगतका काम तथा नेकपा एमालेप्रतिको जनताको बढ्दो आकर्षणले पनि मैले चुनाव चित्नेमा ढुक्क छु । हालको गठबन्धन मुलुकको चाहनाविपरीत भएकाले दीर्घकालीन नहुने निश्चित छ । लोकतन्त्रको सुन्दर पक्ष मानिने निर्वाचनमा स्वच्छ रूपमा दलीय प्रतिस्पर्धा हुनुपर्ने हो । तर, नेपालमा गठबन्धनका नाममा आफैंले बनाएको दलीय व्यवस्थामाथि प्रहार भइरहेको छ, जुन कुरा जनताले बुझिसकेका छन् । गठबन्धन दलका नेताहरू जसरी पनि जितिहाल्छौं भन्ने दाउमा छन् । जित हार चुनावी परिणाम हो । तर स्पष्ट योजना ऐजेन्डाका साथ एमाले जनतामाझ गएको छ र जुम्लालगायत मुलुकुभर एमालेको बहुमत पनि आउँछ । एमालेको सरकार हुँदा मुलुकको अर्थतन्त्र एक उचाइमा पुगेको कुरा सबैमा जगजाहेर छ । अब आउने निर्वाचनबाट एमाले पहिलो शक्ति बनेर गएमा पुन: मुलुकको अर्थतन्त्र नयाँ उचाइ पुग्छ । तसर्थ अहिले गाउँगाउँमा चुनावी सभामा म सहभागी भइराख्दा धेरै सपना बाँडेको छैन । जनताका समस्या हल हुने, मुलुकको आर्थिक समृद्धि हुने, किसान, विपन्न वर्गको हित हुने खालका नीति निर्माणमा पहिलो जोड दिने र स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार, सडक, बत्ती बिजुलीको विकासमा समन्वय गर्ने लक्ष्य छ । सोही लक्ष्यअनुसार चुनाव जितेमा मैले काम गर्नेछु । साथै, अर्को कुरा सांसद विकास कोषको पैसाबाटै समृद्धि ल्याउनु यसो गर्छु, उसो गर्छु भनेको पनि सुनियो । तर, सांसद भनेको नीति बनाउने, संसदीय अभ्यास गर्ने हो । हाम्रा नीति विकासमैत्री भएमा सांसद कोषको भर पर्नु पर्दैन । म गाउँपालिका अध्यक्ष हुँदा तिलामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ, सञ्चारको विकासमा उल्लेखनीय रूपमा काम गरेको छु । जुन कुरा अहिले पनि गएर हेर्न सकिन्छ । विगतको काम, मेरो अनुभव तथा समन्वय आर्थिक समृद्धिको मेरो लक्ष्य सफल बनाउन आम जुम्ली जनताले मलाई एक पटक संसदीय अभ्यासका लागि जुम्लाको विकासका लागि अमूल्य मत दिने र जिताएर पठाउनेमा ढुक्क छु ।

महिला सशक्तीकरण र जुम्लाको विकास मुख्य एजेन्डा हो
गोमा कँुवर
उम्मेदवार, गठबन्धन जुम्ला
मुलुकमा धेरै व्यवस्था फेरिए । राजतन्त्र, बहुदल हुँदै लोकतन्त्र, गणतन्त्र आयो । नेपालको संविधानको मर्मअनुसार संघीयता पनि कार्यान्वयन भयो । थुप्रै व्यवस्था फेरियो तर मुलुक र मुलुकका नागरिकको अवस्था फेरिएन । अझ महिलाको अवस्था ज्यूँका त्यूँ रहेका छन् । जुम्लामा तीन दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि मलाई उम्मेदवारका रूपमा अघि सारिएको छ । यो महिलाप्रतिको उच्च सम्मान हो । महिलाले पनि अवसर पाएमा केही गर्न सक्छन् भन्ने पनि गतिलो उदाहरण हो । त्यसैले आर्थिक रूपमा कमजोर र अझै पुरुषको तुलनामा पछि परेका कर्णालीका महिलाको सशक्तीकरण र जुम्लाको आर्थिक सामाजिक तथा भौतिक विकासलाई पहिलो जोड दिने लक्ष्य छ ।
राजनीतिक रूपमा अझै महिला दलीय व्यवस्थाको मूल प्रवाहमा आउन सकेका छैनन् । महिला सधैं घरभन्दा चुलोचौकोमा मात्रै सीमित हुने एक साधनका रूपमा रहेका छन् । संविधानले व्यवस्था गरेअनुसार अझै रोजगारी, शिक्षा, स्वास्थ्य उत्पादन र आर्थिक उत्पादनका क्षेत्रसँग महिलाहरू जोडिन सकेका छैनन् । क्षमता, आँट, योजना भएका महिलाहरू पनि पुरुषवादी चिन्तन र सोचका कारण गुम्सिएका छन् । तसर्थ मेरो पहिलो चुनावी एजेन्डा भनेको आर्थिक रूपमा महिलालाई सशक्त बनाउने र दोस्रो जुम्लाको सडक, खानेपानी सञ्चारको विकासमा लगानी जुटाउने हो । माओवादी, कांग्रेस र समाजवादी पार्टीको तीन दलीय गठबन्धनले जुम्लामा संघ, प्रदेशमै बहुमत ल्याएर जित्ने कुरामा कुनै शंका मान्नुपर्ने स्थिति छैन । मुलुकको चाहना र मुलुकको विकास तथा राजनीतिक स्थिरताका लागि गठबन्धन हो । यही गठबन्धनले बहुमत ल्याउने फेरि गठबन्धनकै सरकार बन्नेछ । किसानले समयमै मल नपाउने, उत्पादन भएका वस्तुले सहजै बजार नपाउने, किसानले श्रमको उचित मूल्य नपाउने, विपन्न नागरिकले राज्यको सेवासुविधा सहजै नपाउने, हरेक अवसरबाट टाठाबाठाहरू मात्रै लाभान्वित हुने र विपन्न वञ्चित हुने प्रवृत्तिको अन्त्य गरी समातामूलक समाज निर्माण गरी समान रोजगार, समान अवसर र महिला सशक्तीकरणका सवालमा बढी केन्द्रित रहेर काम गर्ने मेरो लक्ष्य छ । जुम्ला अझै विकासका दृष्टिपछि परेकाले प्रभावकारी समन्वय गरी समृद्ध जुम्ला बनाउनसमेत पहल थाल्नेछु । साथै २०७० को चुनावमा समानुपातिक सांसद भई राज्यमन्त्रीसमेत भइसकेकोले केन्द्र तहमा राम्रै समन्वय छ । जनताका साना समस्याहरू समधान गर्न पहल गर्न सक्ने आँट छ । व्यवस्था बदल्नु मात्र ठूलो कुरा हैन रैछ, व्यवस्थासँगै जनताको अवस्था सुधारका लागि अबको चुनावपछि मेरो सबै ध्यान विपन्न वर्गको उत्थान र कर्णालीको उचित विकासमा जान्छ । संविधानको स्थायित्वबिना मुलुकको समृद्धि सम्भव छैन । त्यसका लागि संघीयतालाई संस्थागत र प्रभावकारी कार्यान्वयनका लागि पनि मैले पहल गर्नेछु ।
साबिक कर्णालीमै पहिलो महिलाका रूपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि बढ्दा महिलालाई नेताका रूपमा अघि बढ्न अवसर पाउन कति गाह्रो रैछ भन्ने कुराको समेत महसुस भएको छ । तथापि महिलाले अवसर पाएमा मुलुकको समृद्धिका लागि योगदान गर्न सक्छन् भन्ने उदाहरण देखाउन म चुनावमा होमिएकी छु । तीन दलीय गठबन्धनले बहुमतले जिताउने मेरो विश्वास छ ।

जनतालाई आर्थिक अधिकार दिने नीति बनाउन पहल गर्छु
डिल्लीप्रसाद काफ्ले
उम्मेदवार, नेमकिपा, जुम्ला
नेपाल मजदुर किसान पार्टी राष्ट्रियता जोगाउने पार्टी हो । हाम्रो मूल उद्देश्य भनेकै समाजवादउन्मुख मुलुक निर्माण गर्ने हो । देश, विचार जनताको हितविपरीत नेमकिपाले कहिले पनि सम्झौता गर्दैन । समाजवादउन्मुख मुलुक निर्माणका लागि पहिलो कुरा जनतालाई आर्थिक अधिकार दिनुपर्छ । जनतालाई मालिक बनाउने व्यवस्था गरिनुपर्छ । अहिले किसान आफ्नै उत्पादनको आफैं मूल्य तोक्न पाउँदैनन् । बिचौलियाले भनेको भरमा आफ्ना उत्पादन बेच्छन् । नाफाघाटाको कुनै मेसो आमजनतालाई छैन । शब्दमा अन्नदाता भने पनि किसानको उचित प्रोत्साहन र सम्मान हुन सकेको अवस्था छैन । त्यसैले मेरो पहिलो एजेन्डा नै जनतालाई आर्थिक अधिकार सुम्पिने व्यवस्थाका लागि पहल गर्ने हो । उदाहरणका लागि जुम्लाका किसानले आफ्नो स्याउ, ओखरको मूल्य तोक्न पाउँदैनन् । व्यापारीले भनेकै भरमा बेच्छन्, त्यो पनि उदारो । त्यसैले जनतालाई आर्थिक अधिकार दिएमा जनता सक्षम हुन्छन्, चेतनशील हुन्छन् अनि मात्र मुलुक समृद्ध बन्छ । जनतालाई आर्थिक अधिकार दिएमा रोजगारी नि:शुल्क स्वास्थ्य शिक्षाको ग्यारेन्टी आफैं सुनिश्चित हुन्छ । अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन । मुलुकमा बेरोजगारीले चरम सीमा नाघेको छ । नेता सबै आफ्नो खल्ती भर्न व्यस्त छन् । बेरोजगारी अन्त्य, उत्पादन वृद्धि र आर्थिक समृद्धिको एजेन्डासहित नेमकिपाले मलाई उम्मेदवार बनाएकाले जितेमा मेरा एजेन्डा अक्षरश: पालना गर्नेछु । २०७० सालको निर्वाचनमा समानुपातिक सांसदका रूपमा केन्द्रमा पाँच वर्ष काम गरेको अनुभव छ । त्यसैले धेरै महŒवाकांक्षी योजना बाँड्नुभन्दा पनि हुँदा खाने वर्गहरूलाई आर्थिक पहुँचमा ल्याउने उनीहरूको हितका लागि काम गर्न पाए मलाई पुग्छ । मुलुकको विकासका लागि विगतदेखि सडक र सदनमा निरन्तर वकालत गर्दै आएको नेमकिपाले जनताले विश्वास गर्छन् । संसदीय व्यवस्थाको पूर्ण पालना गरी आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी भई जनताको अमूल्य मत पाई जित्ने अठोट छ । गठबन्धन एकातिर, अर्को एमाले–राप्रपा भए पनि नेमकिपा बुझ्ने पार्टीको विचार, सिद्धान्तलाई आत्मसात गर्ने जनमास बढ्दै गएकाले चुनावमा सन्तोषजनक भोट पाउने विश्वास छ । पदमा रहे पनि नरहे पनि जुम्लाको विकास र समृद्धिका लागि निरन्तर पहल गर्ने कुरामा शंका छैन ।

स्रोत परिचालन गरी आन्तरिक आय वृद्धि गर्न केन्द्रित हुन्छु
ज्ञानेन्द्रबहादुर शाही
उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी, जुम्ला
जुम्लालाई आर्थिक रूपमा सक्षम बनाउन त्यति धेरै कष्ट गर्नुपर्ने देखिन्न । जुम्ला सम्भावनै सम्भावनाले भरिएको छ । ठोस नीति र परिचालन गरेको खण्डमा जुम्ला पाँच वर्षमै समृद्ध बन्छ, जसका लागि मैले केही एजेन्डा तयार गरेको छु, पहिलो जुम्लाका किसानले उत्पादन गर्ने स्याउ, सिमी, धान, ओखरलगायतका वस्तु सबै सरकारले किन्ने नीति बनाउनु छ । बजार र मूल्य नपाएर भौंतारिने कर्णालीका किसानको पीडामा मल्हम लगाउन नीतिकै अभाव छ । जुम्लासहित कर्णालीमा पाइने जडिबुटीको व्यावसायिक खेती गर्ने अधिकार किसानलाई दिने र सहज व्यापार पनि गर्न पाउने नीतिको आवश्यकता खड्किएको छ, जसको पूर्ति म जित्नेबित्तिकै गर्छु । कर्णालीबाट जडिबुटी लिएर काठमाडांै जाँदा समातिन्छन् । यो कानुन खारेज गर्छु । कर्णालीवासीको जीविकोपार्जनमा मुलुकका केही कानुन नै बाधक छन् । जुम्लामा आन्तरिक स्रोत अथाह छ । जुम्लामा देवदियार प्रशस्त पाइन्छ । यसबाट जुम्लीले लाखौं आम्दानी गर्न सक्छन् । तर, यसको उत्खननमा रोक लगाइएको छ । एउटा रूख काट्ने दुइटा रूख रोप्ने नीति ल्याएर देवदियारबाट लाभ लिने नीति बनाइनेछ भने जुम्लामा जताततै पाइने ढटेलो फल्छ, जुन प्रकृतिले दिएको बहुमूल्य उपहार हो । ढटेलोबाट बहुमूल्य तेल उत्पादन हुन्छ । तर अहिलेसम्म ढटेलोको उचित खेती र तेल उत्पादन हुन सकेको छैन । मैले जित्ने बित्तिकै ढटेलोको तेल उत्पादनमा समेत जोड दिनेछु । यसरी हाम्रो जुम्लामा पाइने गरी आर्थिक रूपमा सक्षम जुम्ला बनाउन सक्छौं । तर अहिलेसम्म नीति अभावले स्रोत परिचालन हुन सकेको छैन । स्रोत परिचालनको नीति बनाउन सकेका छैनौं । जसका कारण सधैं परनिर्भर भएर बाच्न बाध्य छौं । त्यसैले मेरो उम्मेदवारी कुनै दलका विरुद्धमा हैन । मेरो उम्मेदवारी जुम्लाको विकास र एकपटक जुम्ली नागरिकले पनि राष्ट्रको नेतृत्व गर्न सक्छ भन्ने देखाउनका लागि हो । मलाई धेरै भाषण गर्नु पनि छैन । जुम्लासहित कर्णालीका नागरिकको जीवनस्तर उकास्न बाधक बनेका केही नीतिको संशोधन तथा नयाँ नीति निर्माण गरी स्रोत परिचालनबाटै जुम्लाको आन्तरिक आय वृद्धि गरी आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ निर्वाचनमा होमिएको छु ।

प्रतिक्रिया दिनुहोस्