चर्काे ब्याजदर लिएको भन्दै सुर्खेतका व्यवसायी आन्दोलित

सुर्खेतका व्यापारी व्यवसायीहरु बैंकको ब्याजदर घटाउनुपर्ने माग गर्दै आन्दोलित बनेका छन् ।
बैंकहरुले आफूखुशी व्याजदर बृद्धि गरेको भन्दै आन्दोलित बनेका व्यापारी/व्यवसायीहरुले संघर्षका चरणबन्द कार्यक्रम थालेका हुन् । व्यावसायीहरुले शुक्रबार वीरेन्द्रनगर बजार बन्द गरेर बिरोध प्रदर्शन गरेका थिए । सुर्खेत उद्योग वाणिज्य संघको संयोजकत्वमा संयुक्त संघर्ष समिति नै गठन गरेर सुर्खेतका व्यवसायी संघर्षमा उत्रिएका छन् ।
व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंकको कर्णाली प्रदेश कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् । आइतबार उनीहरुले बैंक बहिष्कार भन्दै बैंकिङ कारोबारमा भाग लिएनन् । समितिले बैंकका शाखा प्रमुखहरुलाई भेटेर आफ्ना माग बारे जानकारी समेत गराएको संयोजक लक्ष्मण कंडेलले बताए । कंडेलका अनुसार बैंक बहिष्कार कार्यक्रम सोमबार पनि यथावत हुनेछ । संघर्ष समितिले असोज महिनाको ब्याज र किस्ता नतिर्न पनि सबैलाई आह्वान गरको छ ।
कर्जाको व्याजदर ९ प्रतिशत भन्दा कम हुनुपर्ने, कर्जा प्रवाह गर्दा बैंकहरुले विभिन्न शिर्षकमा सेवा शुल्क लिन नहुने, पूरानो चालु पुँजी कर्जा निर्देशिकालाई कायम राखि नयाँ निर्देशिकालाई क्रमिक रुपमा लागू गर्नुपर्ने, धितो लिलामी प्रक्रिया २०७९ चैतसम्म कायम राख्नुपर्ने साथै राष्ट्र बैंकले जारी गर्ने रिपो १ प्रतिशतमा झार्नुपर्ने माग व्यवसायीको छ ।
माग पूरा नभएसम्म चरणबन्द आन्दोलन जारी राख्ने संघर्ष समितिले जनाएको छ ।