विकसित र समृद्ध पाँचथर उम्मेदवारका एजेन्डा

पाँचथरमा पछिल्लो पाँच वर्षमा जिल्लाको राजनीति धेरै फेरिएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको प्रदेश १ को पहाडी जिल्ला पाँचथरमा यो पटक पनि हेभिवेट नेताबीच प्रतिस्पर्धा हुने भएको छ । पाँचथर एमाले, कांग्रेसबीच पहिलाबाट नै तीव्र प्रतिस्पर्धा हुने जिल्ला हो । कुल आठ स्थानीय तह रहेको यो जिल्लामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे र एमाले नेता वसन्तकुमार नेम्बाङबीच प्रतिस्पर्धा हुने भएको छ ।
२०७४ सालमा एमालेको साथमा रहेको माओवादी अहिले कांग्रेसको साथमा छ । २०७४ सालमा एउटा प्रदेश क्षेत्र एमाले र अर्को प्रदेश क्षेत्र गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले जितेको थियो । प्रतिनिधिसभा सदस्यमा एमाले नेता वसन्तकुमार नेम्बाङ निर्वाचित भएका थिए । नेम्बाङ एमालेमा प्राप्त जिम्मेवारी पूरा गर्ने नेताका रूपमा परिचित छन् । कांग्रेसबाट पराजित भीष्मराज आङदेम्बेको राजनीतिक पहिचान पनि यो पटक फेरिएको छ । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका अति निकट मानिने आङदेम्बे कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन् । दुवै नेताले राष्ट्रिय पहिचान बनाएका छन् । गत संघीय चुनावमा एमालेका नेम्बाङले फराकिलो मत अन्तरले कांग्रेसका आङदेम्बेलाई पराजित गरेका थिए । नेम्बाङले ३८ हजार ६ सय १६ मत पाउँदा आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गरेका थिए । दुई नेताबीच १० हजार ५ सय ८१ मतान्तर थियो ।
यसपालिको स्थानीय तहको चुनावमा जिल्लाका आठ पालिकामध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक–एक पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिकासहित फिदिम नगरपालिका जितेको छ । त्यस्तै, माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिकामा निर्वाचित भएको छ । नेम्बाङ २०४८ र २०५६ र २०७४ मा सांसद भइसकेका नेता हुन् भने केपी शर्मा ओलीका पालामा भौतिक पूर्वाधारमन्त्री हुँदा गरेको कामले लोकप्रिय बनेका थिए ।
आङदेम्बे पनि दोस्रो संविधानसभामा निर्वाचित भएका थिए । उनी पनि मतदाताबीच लोकप्रिय मानिन्छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भने पाँचथरमा एमालेलाई ठूलो धक्का लागेको छ । एमालेको आधार क्षेत्र मानिएको कुम्मायक र हिलिहाङमा समेत पालिका अध्यक्ष गुमाएको छ ।
स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने पाँचथरमा एमाले बलियो देखिन्छ । एमालेका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रमा ३० हजार ९ सय ५८ मत प्राप्त गरेका छन् । कांग्रेसले २५ हजार ६५ मत प्राप्त गर्दा माओवादीले ११ हजार ८ सय ८, जसपाले २ हजार ६ सय ४३, नेकपा एसले २ हजार १ सय ६१ र राप्रपाले एक हजार ९ सय ९ मत प्राप्त गरेका छन् । आउँदो चुनावका बारेमा पाँचथरबाट कारोबारकर्मी दीपक बोहोराले उम्मेदवारसँग गरेको कुराकानीको सार :
समृद्ध पाँचथरका लागि मेरो उम्मेदवारी हो
भीष्मराज आङदेम्बे
उम्मेदवार, गठबन्धन
पाँचथरको विकासका लागि यो पटक मैले जित्नैपर्नेछ । सत्तारूढ गठबन्धनका तर्फबाट मेरो उम्मेदवारी रहेको छ । यस पटक चुनाव जितेर जिम्मेवार मन्त्रालय पाउने र पाँचथरको विकास र समृद्धिमा ठूलो बजेट भिœयाउने मेरो लक्ष्य छ ।
मैले संविधानसभा सदस्यको हैसियतमा संविधान निर्माणमा महŒवपूर्ण योगदान दिएको छु । अहिलेसम्म निर्माणको काम गर्ने ठाउँमा हालसम्म नपुगेको र पाँचथरे जनताले सोचेअनुरूप काम गर्न नसेकको सुनाउँदै योपल्ट त्यो अवसर आएको महसुस गरेको छु । तमोर करिडोर पूर्णरूपमा सञ्चालन भएपछि फिदिम बजारलाई त्यसबाट पर्ने असर न्यूनीकरण गर्न फिदिममा पर्यटक भिœयाउन आफूसँग स्पष्ट योजना रहेको छ ।
किराँत समुदायको धार्मिक आस्थाको केन्द्र लब्रेकुटी सिलौटीमा वार्षिक १५ हजार पर्यटक भिœयाउने गरी संरचना निर्माण गर्ने र त्यसलाई जनघनत्वसँग जोड्न फिदिम–लब्रेकुटी केबलकार सञ्चालन गर्ने लक्ष्य छ । फिदिम नजिकै बञ्जी जम्प, रक क्लाइम्बिङको स्थापना र तमोरको र्याफ्टिङको थप प्रचारप्रसार गरी थप व्यवस्थित गर्दै पाँचथरका विभिन्न रुटमा साइक्लिङलगायतका साहसिक खेलहरूको विकास गर्ने लक्ष्य राखेको छु ।
निर्माणाधीन तमोर करिडोरलाई छिटो सम्पन्न गरी त्यस क्षेत्रलाई औद्योगिक जोनका रूपमा विकास गर्न सके चीनबाट आयात हुने कच्चा पदार्थको पाँचथरमै तयारी वस्तु बनी अन्त जाँदा यहाँ ठूलो रोजगारीको सम्भावना र आर्थिक उन्नतिको सम्भावना रहेको छ । हरेक स्थानीय तहको केन्द्रसम्म कालोपत्रे र वडासम्म बाह्रै महिना सवारी सञ्चालन योेग्य सडक बनाउने, पाँचथरका सबै घरमा विद्युतीकरण गर्न, खानेपानीको प्रबन्ध गर्नेजस्ता नागरिकको दैनिकीसँग जोडिएका विषयमा पालिका र प्रदेशसँगको समन्यवमा काम गरिने बताउँदै संघीय सरकारमार्फत ठूला र महŒवपूर्ण योजना सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
राँके–रवि–भेडेटार सडक पूरा गर्ने, जिल्ला अस्पतालमा सुविधा थप गरी दक्ष चिकित्सकको व्यवस्था, पाँचथरमा मेडिकल कलेजको सम्भाव्यता अध्ययन, तमोर जलाशययुक्त आयोजनाको वास्तविक अवस्था पत्ता लगाई सुरु गर्न पहल, फिदिममा आन्तरिक राजस्व कार्यालय तथा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने, आवश्यक स्थानमा प्रहरी चौकी र सबै सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइको व्यवस्था गर्नेलगायतका काम पाँच वर्षमा सम्पन्न गर्ने मेरो लक्ष्य छ
अधुरा योजना पूरा गर्न मेरो उम्मेदवारी
वसन्तकुमार नेम्बाङ
उम्मेदवार, नेकपा एमाले
म मन्त्री हुँदा आएका योजना अधुरा मात्र होइन, अपुरो पनि रहेका छन् । म मन्त्रीबाट बाहिरिएपछि ती योजनाहरूले गति लिन पाएका छैनन् । ती योजना पूरा गर्न र समृद्ध पाँचथर निर्माण गर्नका लागि मेरो उम्मेदवारी हो । म मन्त्री हुँदा सुरु भएको राँके–रवि–भेडेटार सडक खण्ड कालोपत्रे गर्ने कार्य अधुरै छ । ठेकेदार कम्पनीले ढिला गर्दा योजना पूरा हुन पाएको छैन, यसलाई पूरा गर्नु छ । विकासको संवाहक नै बिजुली हो । बिजुलीलाई पाँचथरको सबै घरघरमा पुर्याएर उज्यालो पाँचथर निर्माण गर्नका लागि मेरो उम्मेदवारी हो ।
सुक्खा क्षेत्रमा विद्युतीकरण गरेर खानेपानीको सुविधा दिनका लागि र म मन्त्री हुँदा सुरु भएको तमोर करिडोरको बाटोलाई सम्पन्न गर्नका पनि मैले उम्मेदवारी दिएको हुँ । मध्यपहाडी लोकमार्गको बाँकी अधुरो काम पूरा गर्न मन छ । म मन्त्री हुँदा सिमानामा राखिएको बीओपीलाई व्यवस्थित गर्नुपर्ने छ । हामीले सुरु गरेको विकास निर्माणको काम पूरा गर्नका लागि यस पटक जनताले अनुमोदन गर्नुपर्छ भन्ने लागेको छ ।