राष्ट्रिय खेलकुदको उद्घाटन आज

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आज (शुक्रबार) देखि औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म एक साता प्रतियोगिताअन्तर्गतका खेल आयोजना गरिएसँगै प्रदेशभर खेलकुदको माहोल तातेको छ ।
हिमाली जिल्ला मनाङ, मुस्ताङ र लमजुङबाहेकका जिल्लाले खेल आयोजनाको अवसर पाएका छन् । कोेभिड–१९ महामारीको प्रभावले हरेक दुई–दुई वर्षमा हुनुपर्ने प्रतियोगिता तोकिएको समयभन्दा डेढ वर्ष ढिला गरी आयोजना भएको हो । २०७७ फागुन अन्तिम साताका लागि तय भएको नवौँ कोरोनाकै कारण पटक–पटक स्थगन हुँदै आएको थियो ।
प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको छ । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेशा व्यवसायीहरू उत्साहित बनेका छन् । २०७६ मङ्सिरमा १३औँ दक्षिण एसियाली खेलकुदपछि पर्यटकीय सहर पोखराले पहिलोपटक घरेलु खेलकुदको सर्वोच्च प्रतियोगिताको आतिथ्यता प्रदान गर्दैछ । यसअघि विसं २०४० मा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद भएको थियो ।
प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुदको भव्य उद्घाटनका लागि पोखरा रंगशालामा दुई सातादेखि तयारी भइरहेको छ । रंगशालाभित्र र बाहिरसमेत नेपाली सेना, विद्यालयका विद्यार्थी तथा विभिन्न सांस्कृतिक समूहहरूको तयारी छ । शुक्रबार साँझ ४ बजे प्रतियोगिता विधिवत उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनमा देशका सात प्रदेशको संस्कार र संस्कृति गीत, संगीत, नृत्य र झाँकीको माध्यमबाट समारोहमा झल्किनेछ ।