Logo

कृषिलाई पहिलो प्राथमिकता दिने उम्मेदवारको प्रतिबद्धता

आउँदो ४ मंसिरमा प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । मुलुक संघीय सरकारमा गइसकेपछि हुन गइरहेको यो दोस्रो निर्वाचन हो । पहिलो निर्वाचनमा वाम गठबन्धन गरी वामशक्ति चुनावी मैदानमा उत्रिएको थियो । र, उसले सुविधाजनक बहुमत पनि प्राप्त गर्‍यो । तर पाँच वर्षे संसद्को कार्यकाल पूरा गर्न सकेन । दुई दुई पटकसम्म संसद् विघटनको खेल भयो । अदालतले संसद् पुन: स्थापना गराइदियो । त्यसपछि अहिले लोकतान्त्रिक वाम गठबन्धनको सरकार बनेको छ । तीन वर्षमा नै वाम तालमेलमा फुट आएपछि वर्तमान सरकार गठन भएपछि दोस्रो निर्वाचनमा पनि राजनीतिक दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रेका छैनन् । लोकतान्त्रिक–वामगठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रेको छ भने प्रतिपक्ष नेकपा एमाले पनि विभिन्न साना साना दलसँग गठबन्धन गरी चुनावी मैदानमा उत्रेको छ ।
यसै सन्दर्भमा धनकुटा र झापामा चुनावी मैदानमा उत्रेका गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारसँग उनीहरूका चुनावी मुद्दा र जित्ने आधारका बारेमा कारोबारकर्मीहरू धनकुटाबाट विकास घिमिरे र झापाबाट तुलसी निरौलाले गरेको कुराकानीको सार :

आर्थिक रूपले सम्पन्न नभएसम्म हामीले ल्याउने भनेको समृद्धि पूरा हुन सक्दैन
राजेन्द्रकुमार राई
धनकुटा, उम्मेदवार, नेकपा एमाले
नेपालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको युवाहरूलाई रोजगारी दिन नसक्नु हो भन्ने कुरामा म प्रस्ट छु । रोजगारी नपाएपछि मानिस आर्थिक रूपले समृद्ध बन्न सक्दैन, त्यसको असर समाजमा पर्छ । आर्थिक रूपले सम्पन्न नभएसम्म हामीले ल्याउने भनेको समृद्धि पूरा हुन सक्दैन । आर्थिक रूपमा सम्पन्न भन्नका लागि हाम्रो जस्तो देशले उत्पादनमा जोड दिनुपर्ने हुन्छ । उत्पादन गरेर मात्र हुँदैन, त्यसको प्रशोधन र बजारीकरणमा समेत त्यत्तिकै ध्यान दिनुपर्छ, जसले गर्दा कम मूल्यमा बिक्री हुने वस्तुलाई समेत हामीले ठूलो मूल्यमा बिक्री गर्न सक्छौं, जसले गर्दा त्यही वस्तुले मूल्य राम्रो पाए थोरै काम गरेर पनि हामीलाई धेरै फाइदा हुन्छ । अर्को कुरा, धनकुटा जिल्ला तरकारी उत्पादनका लागि अग्रणी जिल्लाका रूपमा नै रहेको छ । यहाँको तरकारीलाई यदि कोल्ड स्टोरमा राखेर सबै महिनामा बजारमा पठाउन सके त्यसले धेरै राम्रो गर्छ । त्यसले गर्दा मैले धनकुटाका सबै सातवटै स्थानीय तहमा कोल्ड स्टोर बनाउने योजना मसँग रहेको छ । यदि यसो गरिएमा किसानले आफूले उत्पादन गरेको वस्तुको मूल्य राम्रोसँग पाउनेछन् । नीतिगत निर्णय गरे किसानले उत्पादन गरेको वस्तु स्थानीय तहले खरिद गर्ने व्यवस्था मिलाउनसमेत मेरो प्रयत्न हुनेछ, जसले गर्दा किसानले कुनै वस्तुको उत्पादित मूल्य नपाउने समस्या समाधान हुन्छ । यसले आर्थिक पक्षमा निकै ठूलो काम गर्छ भन्ने मलाई लाग्छ । धनकुटामा सिँचाइको समस्या ठूलो छ । त्यसलाई समाधान गर्नतर्फ मेरो पहल हुनेछ । सिँचाइ सुविधा पुर्‍याउन सके त्यसले स्वाभाविक रूपमा उत्पादन वृद्धिमा काम गर्नेछ । एभोकाडो उत्पादनका लागि धनकुटा जिल्ला अग्रणी जिल्ला हो । एभोकाडोको उत्पादन, प्रशोधन र बजारीकरणमा मेरो पहलकदमी हुनेछ । अहिले केही स्थानीय तहमा औद्योगिक ग्रामहरू निर्माण हुँदैछन् । तर, धनकुटाका सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाका लागि आफूले पहल गर्नेछु । त्यसले गर्दा स्थानीयस्तरमै युवाहरूले रोजगारी प्राप्त गर्नेछन् । त्यस्ता उद्योगहरूमा स्थानीय कच्चा पदार्थको समेत उपयोग हुनेछ, त्यसले गर्दा ग्रामीण अर्थतन्त्रमा समेत त्यसको सकारात्मक प्रभाव पर्नेछ । सबै पालिकामा सडक पुगेको छ । त्यसलाई बार्‍है महिना सञ्चालन गर्न र स्तरोन्नति गर्नका लागि म काम गर्नेछु । धनकुटामा रहेका पर्यटकीय क्षेत्रको विकासका लागिसमेत आफूले काम गर्ने गुरुयोजनाका साथ पर्यटकीय क्षेत्रको विकास गर्ने मेरो प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु । फुसको छाना विस्थापनका कार्यलाई समेत आफूले प्राथमिक दिएकाले धनुकटाका सबै नागरिकको घरमा फुसको छाना विस्थापन गर्ने योजनासमेत मसँग छ । मैले अघिल्लो कार्यकालमा समेत यसका लागि काम गरेको छु । त्यसलाई निरनतरता दिने मेरो सोच छ । जनशक्ति निर्माणका लागि मेडिकल कलेजको स्थापना, गुणस्तरीय शिक्षाका लागिसमेत आफूले काम गर्ने कुरासमेत म यहाँ राख्न चाहन्छु । धनकुटाका ४० हजार युवालाई रोजगारी दिनेसमेत आफूसँग कार्यक्रम रहेको छ । अन्य स्वास्थ्यचौकी निर्माण, विद्यालय निर्माण, भौतिक पूर्वाधारको विकास गर्नलगायतका धेरै योजना मसँग छन् । त्यसैले पाँच वर्षसम्म आफू शासक नभई सेवक भएको हुँदा धनकुटेली जनताले आफूलाई विजयी गराउँछन् भन्ने विश्वासका साथ प्रतिनिधिसभामा आफूले उम्मेदवारी दिएको र नेकपा एमालेले राखेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्न र समग्र देशको अर्थतन्त्रको सुधार गर्नका लागि आफूले उम्मेदवारी दिएको छु । यसमा सबै धनकुटेली जनताले साथ र सहयोग गर्ने अपेक्षासमेत रहेको छ । पहिलो कार्यकालमा सुरु गरेका काम पूरा गर्नसमेत यो निर्वाचनमा आफूले जित्नु आवश्यक छ । पहिलो कार्यकालमा कतिपय सोचेका कुरासमेत कोरोना महामारीलगायतका कारणले पूरा गर्न नसकिएकाले ती योजनासमेत पूरा गर्नुपर्ने आवश्यकता छ ।

कृषि र पर्यटन क्षेत्रको विकासबाट नेपालको आर्थिक समृद्धि सम्भव छ
हेमराज भण्डारी
धनकुटा, स्वतन्त्र उम्मेदवार
४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि मैले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएको कुरा सर्वविदित नै छ । म खालि सांसद बनौंला या निर्वाचनमा भाग लिने प्रयोजनका लागि मात्र उम्मेदवार बनेको होइन, मसँग धनकुटा बनाउने योजना छ । धनकुटा मात्र होइन, मसँग पूरै नेपाललाई आर्थिक रूपले कसरी माथि लग्न सकिन्छ भन्ने योजना नै छ । धनकुटाका हरेक समस्याबारेमा जानकार छु । धनकुटाका नागरिकको आर्थिक समृद्धि गर्ने भए यहाँको कृषिक्षेत्रको विकासलाई जोड दिनुपर्छ । धनकुटालाई विशुद्ध कृषिमा अर्गानिक उत्पादनलाई जोड दिए मात्र पनि कृषिमा आधारित अर्थतन्त्र बनाउन सकिन्छ । तर, त्यसको योजना र कसरी कार्यान्वयन गर्ने भन्ने प्रस्ट खाका आफूसँग रहेको र त्यस्तो अर्थतन्त्र बनाउन आफूले काम गर्नेछु । कृषिपछि नेपालको अर्थतन्त्रलाई माथि उकास्ने ठूलो सम्भावना रहेको क्षेत्र भनेको पर्यटन हो । पर्यटनले देशको अर्थतन्त्रलाई त माथि लग्ने कुरा छँदै छ, पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सके धनकुटाको समेत अर्थतन्त्रलाई त्यसले टेवा पुर्‍याउनेछ । पर्यटन क्षेत्रको विकास गर्नका लागि धनकुटाका पर्यटकीय क्षेत्रहरूको आफूले पहिचान गरिसकेको र त्यसको विकास र व्यवस्थापनको कामका लागिसमेत आफूले विभिन्न निकाय र व्यक्तिहरूसँग कुरा गरिरहेको कुरासमेत म राख्न चाहन्छ । धनकुटा मनोरञ्जन, कृषि, पर्यटन र धार्मिक पर्यटनको सम्भावना भएको जिल्ला हो । त्यसले यी सबै क्षेत्र जोड्ने गरी गुरुयोजनासमेत आफूसँग रहेकाले त्यसको विकासमा समेत आफू निर्वाचित भए पहलकदमी लिनेछु । त्यसैले कृषि र पर्यटनको विकास गर्न सके नेपालको आर्थिक समृद्धि सम्भव छ भन्ने कुरामा म प्रस्ट छु । २०४८ सालपछि धनकुटामा कुनै राष्ट्रिय गौरवको आयोजना नभएको अवस्थामा आफ्नो पहलकदमीबाट तमोर करिडोर निर्माणको कार्य भइरहेको कुरासमेत म राख्न चाहन्छु । योसँगै भारतबाट चीनसम्म जोड्ने सडक निर्माणमा समेत आफ्नो पहलकदमी हुनेछ । त्यसले समग्र प्रदेश १ सँगै नेपालको अर्थतन्त्रमा निकै महŒवपूर्ण भूमिका खेल्छ भन्ने विश्वास हामीले लिएका छौं । नागरिकको अधिकारको विषयका रूपमा रहेको स्वास्थ्य क्षेत्रको सुधार गर्नका लागि पाँच वर्षभित्र धनकुटाका सबै पालिकामा १५ बेडको अस्पताल निर्माणका लागिसमेत आफूले पहल गर्ने, साथै सामुदायिक विद्यालयहरूको खस्किँदै गएको शैक्षिकस्तर सुधार गर्नेसमेत आफूले योजनाबद्ध रूपमा काम गर्ने र मुख्य सडकबाट पालिकाको केन्द्र जोड्ने सडकको कालोपत्रे गर्ने, राष्ट्रिय गौरवका योजनाहरू पूरा गर्नका लागि संसद्मा आवाज उठाउने, देशमा भइरहेको भ्रष्टाचार, अनियमिततालगायतका विषयमा संसद्मा जनताको पक्षबाट कुरा उठाउने, जिल्लामा सञ्चालित विकास निर्माणका काम समयमै सम्पन्न गर्नका लागि पहलकदमीसहित खबरदारी गर्नेलगायतका कार्य आफूले गर्नेछु भन्ने कुरासमेत म सबै धनकुटेली आमाबुवा, दिदीबहिनी, दाजुभाइमाझ विश्वास दिलाउन चाहन्छु । दलभन्दा बाहिर बसेर उम्मेदवारी दिएपछि आफूलाई कुनै ह्विप नहुने भएकाले आफूले देखेका र देशका समस्यालाई स्पष्ट रूपमा राख्छु भन्ने कुरासमेत म राख्न चाहन्छु ।

कृषि र पर्यापर्यटन क्षेत्रको विकास गर्ने मेरो मुख्य एजेन्डा हो
हरिकुमार राना
झापा क्षेत्र नं.–२, उम्मेदवार गठबन्धन
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म गठबन्धनको तर्फबाट झापा क्षेत्र नं. २ बाट उम्मेदवार भएर चुनावी मैदानमा होमिएको छु । यस क्षेत्रका बासिन्दालाई मेरो आवश्यकता भएको ठानेर मैले झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएको हुँ ।
चुनावी एजेन्डा धेरै भए पनि अबको पाँच वर्षमा क्रमिक रूपमा गर्न सकिने योजनालाई प्राथमिकताका आधारमा एजेन्डा बनाएर मतदाताका बीचमा गइरहेको छु । झापा क्षेत्र नं. २ कृषि र पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको र प्राकृतिक हिसाबले समेत सुन्दर रहेका कारण मैले मेरो चुनावी एजेन्डाको रूपमा कृषि र पर्यापर्यटनका क्षेत्रको विकास गर्ने एजेन्डालाई मुख्य एजेन्डा बनाएर अघि बढेको छु ।
झापा क्षेत्र नं. २ तरकारी र अन्न उत्पादनको भण्डारणका रूपमा रहेकाले यस क्षेत्रको उर्वर भूमिलाई सदुपयोग गर्दै यस क्षेत्रमा विषादीरहित तरकारी र अन्न उत्पादन गरी त्यसको विदेशसम्म निर्यात गरी यस क्षेत्रका बासिन्दाको आर्थिक जीवनस्तर उकास्ने गरी योजना अघि सारेको छु । कृषि उपज तथा मासुजन्य, दुग्धजन्य पदार्थमा लगानी बढाई उद्योगको रूपमा विकास गरी यस क्षेत्रका बासिन्दालाई रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्ने योजना ल्याउँछु । कृषिलाई आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जना गरेर कृषिक्षेत्रको क्रान्ति गरी यस क्षेत्रको समग्र विकास गर्नेछु ।
त्यस्तै पर्यटनको विकासमा पनि विशेष योजना छ । झापा क्षेत्र नं. २ पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी बाह्य पर्यटक भिœयाएर आर्थिक क्षेत्र सबल बनाउने योजना अघि सारेको छु । यस क्षेत्रको पर्यटन व्यवसायको विकास गर्न सकियो भने त्यसले थुप्रै युवालाई रोजगारी दिने भएकाले यस क्षेत्रको पर्यटकीय गन्तव्यको योजनाबद्ध विकास गरी पर्यटनको हब बनाउने योजना अघि सारेको छु । यस क्षेत्रमा पर्यटनको प्रचुर विकास गरी ती क्षेत्रलाई हरियालीयुक्त स्मार्ट सिटी बनाउने योजना अघि सारेको छु । पर्यटकीय क्षेत्रको रूपमा रहेका अर्जुनधारा र साधुटारलाई धार्मिक पर्यटनका रूपमा विकास, यस क्षेत्रमा पर्ने पाँचपोखरीको संरक्षण, सहिद पार्कको विकास निर्माणमा पहल गर्ने योजना अघि सारेको छु ।
दुर्गम क्षेत्रमा होम स्टेमार्फत स्थानीयको आय वृद्धि गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गरी झापा क्षेत्र नं. २ लाई समृद्ध बनाउने योजना अघि सारेको छु । सबल नेतृत्व विकास, आर्थिक समृद्धि, आत्मनिर्भर कृषि योजना, मजबुत भौतिक पूर्वाधार, शुद्ध खानेपानी पनि एजेन्डामा समावेश छन् । युवालाई देशमै गरिखाने वातावरण बनाउन कृषि, उद्यम र व्यापारमा प्रोत्साहन गर्दै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी पनि मेरो चुनावी एजेन्डामा छ ।
म २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएपछि यस क्षेत्रको विकासका लागि मैले ठूलो योगदान दिएको छु । सामाजिक कार्यहरूमा सक्रिय र अहिलेसम्म स्वच्छ छवि बनाएका कारण मैले काम गर्न सक्छु भन्ने विश्वास यस क्षेत्रका जनतामा छ । त्यसैले जनताबाट पाएको हौसला र साथले म उत्साहित छु । झापा क्षेत्र नं. २ लाई समृद्ध, समुन्नत र भ्रष्टाचारमुक्त बनाउन भूमिका निर्वाह गर्न नयाँ एजेन्डाका साथ झापा क्षेत्र नं. २ को गठबन्धनको साथ र सहयोग लिएर चुनावी मैदानमा उत्रिएको छु । आशा छ, यस क्षेत्रका जनताको साथले जित निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्