नेप्से परिसूचक ४.१५ अंकले वृद्धि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।
बिहीबार नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले बढेको छ । बिहीबार कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता सेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा सामान्य सुधार भएको छ । बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्य जलविद्युत उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ ।
बिहीबार अभियान लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, रुरु जलविद्युत परियोजनाको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता, सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य ४.४५ प्रतिशत घटेको छ । यसदिन नबिल बैंकको ३ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।