राष्ट्रिय खेलकुदको उद्घाटन भव्य हुने

३९ वर्षपछि गण्डकी प्रदेशको राजधानी पोखरामा केन्द्रित हुने गरी नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ हुने तयारी भइरहँदा उद्घाटन सत्र भव्य हुने भएकोे छ । यसअघिका संस्करणहरु भन्दा यसपालिको खेलकुदको महाकुम्भको उद्घाटन सत्र निकै भव्य हुने गरी तयारी गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समारोह समितिका उपसमिति संयोजक एकेन्द्र बहादुर कुँवरले बताए ।
राखेपका सदस्य समेत रहेका संयोजक कुँवरले उद्घाटन सत्रमा आतिसबाजीसहित नयाँपन दिने बताए । यसअघिका प्रतियोगिताको उद्घाटन भन्दा थप प्रभावकारी र व्यबस्थित हुँदै सभ्य र भब्य हुने संयोजक कुँवरले जनाए । तीन विभागिय सहित ७ प्रदेश र एनआरएनको समेत मार्च पास, ७ वटै प्रदेशको झाँकी, बिद्यालयका १ हजार ४ सय बिद्यार्थीहरुको नृत्य, शिव परिवार लगायतका गायकको खेलकुद गित प्रस्तुती, राष्ट्रिय सेवा दलको नृत्य, २ सय जना सेना प्रहरीको प्रदर्शनी हुने भएको उनले बताए ।
उद्घाटन सत्र निकै भव्य बनाउने लक्ष्य सहित राखेपसँग ९ करोडको माग गरे पनि ३ करोडमात्र विनियोजन भएकोले उक्त रकमबराबरको उद्घाटन सत्र भव्य नै हुने संयोजक कुँवरले जनाए । नवौं खेलकुदले पोखरामा खेलकुदका ठूला भौतिक संरचना निर्माण हुन नसके पनि रंगरोगन र तुल व्यानर तथा वोर्डहरुले पोखरा रंगशाला रंगिएको राखेप सदस्य राजेश कुमार गुरुङले बताए । खेल मैदान व्यबस्थापन समितिका संयोजक समेत रहेका उनले भएका खेल मैदानहरुको मर्मत गरी खेल्न तयार पारिएको उनले जनाए । गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ, मुस्ताङ र लमजुङ बाहेक ८ जिल्लामा १० खेल, एक काठमाडौंमा हँुदै छ भने अन्य खेल पोखरा सहित कास्कीमा हँुदै छ ।
यसपालिको संस्करणमा ६ हजार ६४ जना खेलाडीहरुले ३६ खेलमा प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा प्रदेश १ बाट ६ सय ७८ जना, मधेशबाट ५ सय ३१, बागमती प्रदेशबाट ६ सय ३३ जना, गण्डकी प्रदेशबाट भने सबै भन्दा धेरै ७ सय ४ जना खेलाडीहरु सहभागि हुने भएका छन् । लुम्बिनी प्रदेशबाट ५ सय ९१, कर्णाली प्रदेशबाट ४ सय ७३, सुदुरपश्चिम प्रदेशबाट ६ सय १८ जना, आर्मीबाट ६ सय ७३, पुलिसबाट ४ सय ८४ ,एपिएफबाट ५ सय ३२४ जना र एनआरएनबाट भने १ सय ४५ जना खेलाडीहरु सहभागि हुने भएको राखेपले जनाएको छ ।
ओलम्पिक टर्च लुम्बिनी हुँदै पोखरा ल्याइने
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) लुम्बिनी हुँदै पोखरा ल्याईने भएको छ । उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पुर्याएर नवौं राष्ट्रिय खेलकुदको आयोजनास्थल गण्डकी प्रदेशको राजधानी पोखरा ल्याईने भएको ओलम्पियन दीपक विष्टले बताए ।
लुम्बिनी विकास कोषको सहकार्यमा बिहीबार विहान लुम्बिनीको शान्तिदीप अगाडि ओलम्पिक टर्चका साथ कार्यक्रम गरिने नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिए । ओलम्पियन्स संघले ओलम्पिक टर्चका लागि ओलम्पियनहरुको सिफारिस राखेपलाई गरेको हो ।
ओलम्पियन टोलीले ल्याएको उक्त टर्च पोखरामा टिकाबहादुर बोगटीसहितको अर्को ५ सदस्यीय गण्डकीका ओलम्पियन टोलीलाई हस्तान्तर गरिनेछ । उद्घाटनका दिन शुक्रबार सोही टोली र अन्य ओलम्पियन टोलीले ओलम्पिक टर्चलाई पोखरा रंगशालामा परिक्रमा गराएर गण्डकीका जेष्ठ ओलम्पियन सातौं दक्षिण एसियाली खेलकुदका म्याराथनका स्वर्ण पदक विजेता बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने जनाइएको छ ।