नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन

नेपालमा सोमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘नेपाल ग्रीन हाइड्रोजन समिट आयोजना गरिएको हो ।
एमआईटी ग्रूप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा सम्मेलन आयोजना गरेका हुन् । मंगलबरसम्म चल्ने सम्मेलनमा हरित हाइड्रोजन सम्बन्धमा वृहत् छलफल हुने जनाइएको छ । सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन: पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ ।
सम्मेलनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताइन् । मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताइन् । उनले जलविद्युतलाई हाइड्रोजन ऊर्जा र युरिया मल उत्पादनमा प्रयोग गर्ने विषयमा मन्त्रालयले आवश्यक तयारी गरेको पनि बताइन् ।
“जलविद्युतको विकास गरी हामीले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने,प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको छ” उनले भनिन्, यसका लागि मन्त्रालयले कार्यदल गठन गरेर जलविद्युतको प्रयोगबाट हाइट्रोजनबाट रासायनियक मलको उत्पादनको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ ।”
मन्त्री भुसालले जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनियक मलको उत्पादनका विषयमा पूर्वसम्भाव्यता अध्ययन गरिसकेको बताइन् । उनले हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बडाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोवल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको जानकारी दिइन् । मन्त्री भुसालले सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको दाबी गरिन् ।
“नेपालको जलस्रोतलाई जलविद्युतमा परिणत गर्ने र जलविद्युतको प्रयोग गरी, जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण छ” उनले भनिन्, “हरित उर्जामा सबै जनताको पहुँच पुर्याउनको लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता छ ।”
उनले विश्वले अहिले हाइड्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धानहरु गरिरहेकाले नेपाल सरकारले पनि हाइड्रोजन उर्जाको विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक रहेको बताइन् ।
मन्त्री भुसालले विश्वमा हाइट्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताइन् । उनले नेपालको जलस्रोतलाई जलविद्युतमा विकास गरी जलविद्युतको प्रयोगमार्फत जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गरेर नेपालको आर्थिक समृद्धि, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण हुने बताइन् । उनले हरित उर्जामा सबै नेपाली जनताको पहुँच पुर्याउनको लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता औंल्याइन् ।
एमआइटी फाउन्डेसनका अध्यक्ष तथा एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले हरित हाइड्रोजन अर्थतन्त्र निर्माण गर्ने गरी रोडम्याप बनाउन सरकारलाई आग्रह गरे । हरित हाइड्रोजन उत्पादनका लागि सरकारले गरेका प्रतिवद्धताहरु अत्यन्तै सकारात्मक रहेको भन्दै उनले त्यसलाई साकार पार्न निजी क्षेत्र, दातृ निकाय लगायत सरोकारवालाले ध्यान दिनुपर्ने बताए । हाइड्रोजन उत्पादन जलवायु र जीवन रक्षा, ऊर्जा सुरक्षा र रोजगारी सृजना गर्न नेपालका लागि आवश्यक र सम्भव रहेको उनको भनाइ थियो । “विश्वमै नेपालको हाइड्रोजन उत्पादन लागत सस्तो मध्येमै पर्ने अध्ययनहरुले देखाएका छन्,” उनले भने, “यसलाई सम्भव बनाउन सार्वजनिक निजीदेखि विदेशी लगानी मात्र नभइ सामाजिक हीतका विभिन्न कोषहरु पनि परिचालन गर्न सक्नुपर्छ ।”
ग्लोबल एनआरएन फाउन्डेसनका अध्यक्ष विनोद कुँवरले नेपालको आर्थिक विकासमा हाइड्रोजनले दिर्घकालीन हित गर्ने भएकाले यसलाई सम्भाव्य बनाउन गैरआवासीय नेपालीले पनि चासो देखाएको बताए । उनले विश्व नै हरित अर्थतन्त्रको मार्गमा लागि रहेको अवस्थामा नेपालले त्यसलाई साकार बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । नेपालले विद्युत् निर्यातका लागि भारतको अनुमति कुर्नुपर्ने तथा प्रविधिक रुपले जटिल भएको अवस्थामा हाइड्रोजन नै सहज र अझै प्रभावकारी बन्ने उनको भनाइ थियो ।
काठमाडौ विश्व विद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले अब हाइड्रोजन उत्पादनलाई बहसको विषयबाट आयोजनाको चरणमा प्रवेश गर्न सकिने औंल्याए । इलेक्टा«ेलाइसिस प्रविधि सस्तो बन्दै गरेको र नेपालको जलविद्युत् खेर जाने अवस्था सन्निकट रहेकाले हाइड्रोजन उत्पादन थाल्नेतर्फ अग्रसर हुुनुपर्ने थापाको सुझाव थियो ।
कार्यक्रममा ग्लोबल ग्रिन ग्रोथ इन्ष्टिच्युटका नेपाल निर्देशक लेसी रिङ्गसले नेपालले पहिलो चरणमा एमोनिया र त्यसबाट रासायनिक मल उत्पादनको योजना बनाउन उत्तम हुने सुझाव दिए । उनले नेपालमा रासायनिक मल तत्कालको आवश्यकता रहेकाले हाइड्रोजनको पहिलो खपतको क्षेत्र रासायनिक मल कारखाना हुने बताएका हुन् ।
बक्स
‘हाइड्रोजन बेचेर देशलाई समृद्ध बनाउन सकिन्छ’
अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् ।
नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताए । उनले जलवायु परिवर्तनका कारण विभिन्न असरहरु पनि देखिन थालेको भन्दै कार्बन उत्र्सजनलाई कम गर्नुपर्ने बताए । उनले पेट्रोलियम पदार्थको खरिदमा नेपालबाट सबैभन्दा बढी डलर बाहिरिरहेको र व्यापार घाटा भइरहेको बताए । मन्त्री शर्माले देशभित्र मात्रै हाइड्रोजनको प्रयोग गर्न सकेमा व्यापार सन्तुलनमा आउन सक्ने बताए ।
मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्युनिकरण गर्ने दृष्टिकोणले निकै नै महत्वपूर्ण रहेको बताए । यसमार्फत नेपाललाई विश्वबजारमा पहुँच वृद्धि गर्न र लगानी भित्र्याउन पनि सकिने उनले उल्लेख गरे ।