Logo

कस्ता छन् चितवनका उम्मेदवारका एजेन्डा

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि चितवनमा १ सय २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा संघीय निर्वाचन क्षेत्र ३ र प्रदेशका ६ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा सदस्यका लागि चितवन–१ मा २० जना, चितवन–२ मा १८ जना, चितवन–३ मा ११ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशतर्फ १ (क) मा ११ जना, १ (ख) मा १२ जना, २ (क) मा ८ जना, २ (ख) मा १४ जना, ३ (क) मा ८ जना र ३ (ख) मा ९ जनाको उम्मेदवारी परेको छ । हरेक निर्वाचनमा चितवन चर्चामा आउने गर्छ । चितवन पूर्वमन्त्रीहरू, राज्यमन्त्री, प्रदेशमन्त्री, पार्टीका अध्यक्ष/सभापति, उपाध्यक्षलगायतका प्रभावशाली नेताहरू चुनाव लड्ने क्षेत्र हो । चितवनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका केही उम्मेदवारसँग कारोबारकर्मी विप्लव काफ्ले र राजेन्द्र बस्नेतले गरेको कुराकानीको सार :

मोडेल प्रोजेक्टहरू ल्याउनेछु
विक्रम पाण्डे
चितवन–३ उम्मेदवार, राप्रपा
चितवन क्षेत्र नम्बर ३ मेरा लागि नयाँ होइन । २०५६ देखि यही क्षेत्रमा निर्वाचनमा लगातार उम्मेदवार बनेको छु । साविक क्षेत्र नम्बर ५ बाट २०७० मा दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएको थिएँ । यही क्षेत्रबाट जितेरै मन्त्री पनि भएँ । चुनावका बेला आउने, अरू बेला भाग्नेहरूबाट यो क्षेत्रका जनता आजित छन् । चुनावका बेला लोभलाग्दा भाषणले अब जनता झुक्किने छैनन् भन्ने विश्वास छ । जनताको घरदैलोमा पुगिरहेको छु । हरेक मतदातासँग प्रत्यक्ष संवादमा छु । तत्कालीन गाविसहरू मिलाएर माडी नगरपालिका निर्माण गर्र्न पहल गरेँ । माडी–ठोरी सडक खण्डमा पर्ने सबै खोलाका पुलहरूको सम्भाव्यता अध्ययन, लागत अनुमान गरेर टेन्डर गराउन नेतृत्व लिएँ । अझै अधिकांश पुलको निर्माण सकिएको छैन । चितवन राष्ट्रिय निकुञ्ज भएर माडी जाने–आउने सुविधाप्राप्त बाटोमा प्रवेश शुल्क मिनाहा गराउने काम मन्त्री भएका बेला गराएँ । २०७४ मा पनि उम्मेदवार थिएँ, तर चुनाव जितिएन । पछिल्लो पाँच वर्ष विकासले यो क्षेत्रमा फड्को मार्न सकेन । विकासभन्दा बढी राजनीतिमा सिपालु नेतृत्व पाउँदा यो क्षेत्रले विकासमा फड्को मार्न नसकेको गुनासो सुनेको छु । मतदाताले धेरै नेताहरूलाई जिताएर परीक्षण गरिसक्नुभएको छ । अब फेरि बहकिएर उही गल्ती गर्नुहुन्छ जस्तो लाग्दैन । देशकै मोडेल प्रोजेक्टहरू ल्याउने गरी फेरि उम्मेदवार बनेको छु । राजनीति गर्दै ठूलो पार्टी बनाउने सपना बोकेर आएको छैन । सबैलाई पार्टीमै ल्याउने रणनीति पनि छैन । जनताबाट अनुमोदित भएर विकासको लहर ल्याउने एउटामात्रै लक्ष्य लिएको छु । जनताको सेवाभन्दा दायाँबायाँ विचलित हुने छैन । २०७० मा छोटो अवधिमै कैयौं दीर्घकालीन महŒवका योजनाहरू अगाडि बढे । नापी, मालपोत कार्यालयहरू खुले । पुलहरू निर्माणका प्रक्रियाहरू चले । रिङरोडका योजनाहरू अघि बढे । तर, लगातार सांसद नहुँदा कैयौं योजनाहरू अलपत्र भए । करिडोरका योजना अधुरा रहे । निकुञ्जभित्रको सडकमा आकाशे पुल बनाउने सपना जनताले पाए । तर, कालोपत्रेसम्म हुन पाएन । निकुञ्ज ऐन संशोधन गर्ने आश्वासन पाए, त्यो पनि पूरा भएन । अब फेरि जनता तिनै दलकै नेताहरूलाई जिताएर गल्ती गर्नुहुन्छ भन्ने लाग्दैन । दलहरूले गठबन्धन, तालमेल गरे । तर, जनताले त्यही मान्छन् भन्ने छैन । जनता स्वतन्त्र छन् । विकासवादी नेता रोज्नेछन् । ठाउँ, थर परिवर्तन गरेर हिँड्ने नेताभन्दा जीवनकालसम्म यही ठाउँको सेवामा बस्ने नेतृत्व रोज्नेछन् । गठबन्धनले सैद्धान्तिक राजनीतिलाई धराशायी बनाएको छ, जनतालाई भ्रम सिर्जना गरेको छ । देशकै सबैभन्दा राम्रो ठाउँ, विकासमा सबैभन्दा अगाडि भएको निर्वाचन क्षेत्र बनाउन जनताले मलाई रोज्नेमा ढुक्क छु । विगतमा चुनावका बेला कोको नेताले केके आश्वासन बाँडे, पूरा गरेनन्, जनता साक्षी छन् । जनता स्वतन्त्र भएर मतदान गर्न पाउनुपर्छ । विकासवादी नेतालाई रोज्नुपर्छ । राष्ट्रहितविपरीतका कामहरू हुन नदिन सदनमा आवाज उठाउन जान चाहन्छु । चितवन–३ को विकासमा यसपालि मलाई जनताले जिताउनेमा ढुक्क छु ।

शिक्षा, स्वास्थ्यको हब बनाउनेछौं
रवि लामिछाने
चितवन–२ उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडांैबाट चितवन हामी जित र विकासको लक्ष्य बोकेर आएका हौं । काठमाडौंलगायत कैयांै जिल्लामा पुग्यौँ । मतदाताहरू भेटघाट गर्‍यौँ । सबैको चाहना थियो, यसपालि नेतृत्व नयाँ आउनुपर्छ भन्ने नै पायौँ । चितवन हाम्रा लागि महŒवपूर्ण थियो । राजनीतिमा लाग्न प्रेरणा दिएको भूमि चितवन हो । चितवनले माया, सद्भाव र प्रेरणा दिएकै कारण राजनीतिक कदमहरू अगाडि बढे । हामी हरेक कोणको अध्ययन गरेरै चितवनबाट परिवर्तनको बिगुल ल्याउनेछौँ । यो भूगोल मेरा लागि नौलो होइन । आफन्तहरू भएको क्षेत्र पनि हो । मेरो पक्षमा नाराहरू लागेको भूमि हो । चितवन–३ या चितवन–२ भन्ने चर्चा पनि भए । अन्तत: हामी चितवन–२ मा आयौँ । देशभर ६४ जिल्लामा हाम्रो पार्टीका संगठनहरू छन् । हामी स्वतन्त्र छौँ । कसैको दासत्व स्वीकार्दैनौँ । जनतालाई पनि अब जाग्नुपर्छ, परिवर्तन गर्न उठ्नुपर्छ भन्दै आह्वान गरिरहेका छौँ । सबै उमेर समूहको सद्भावले उत्साहित छौँ । चितवनले जित्ने आधार देखाएकै कारण हामी आयौँ । प्रतिस्पर्धामा खरो उत्रनेछौँ, तर मित्रवत् प्रतिस्पर्धामा हुनेछौँ । नागरिकका सुख, दु:खबारे जानकारीमा छन् । चितवन–२ राजनीतिका लागि मात्रै आएका होइनौँ । अब स्थायी रूपमै चितवन बसोबास गर्ने लक्ष्यसहित आएको छु । चितवन खुसी छ, हामी उत्साहित छौँ । पार्टी छ, संगठन छ । जनताका हरेक समस्या पहिचान गरेर समाधान गर्नेबारे पहल पनि गर्नेछौँ ।
संसदीय चुनावपछिको नतिजाले समग्र मुलुकका लागि नीति निर्माण प्रभाव पार्छ । हामी बेथितिविरुद्ध थिति बसाल्नुपर्छ भन्ने अभियानमा छौँ । हरेक संयन्त्रहरूभित्र विकृति–विसंगतिहरू छन् । चितवनलाई नेपालकै सम्पन्न व्यापारिक नगरी बनाउन लाग्नेछौँ । शिक्षा, स्वास्थ्यको हबका रूपमा विकास गर्नुपर्नेछ । सडकका खाल्डाखुल्डीले विकासलाई गिज्याइरहेका छन् । चितवन–पोखरा–काठमाडांै जोड्ने सडक सञ्जाल, विदेश जोड्ने गरी विमानस्थलको विकास र स्तरोन्नति गर्नुपर्नेछ । ससानो पानी पर्दा बस्ती डुबान हुने अवस्था छ । नागरिकका हरेक समस्याहरू तत्कालै समाधान गर्ने गरी काम गर्ने प्रतिबद्ध जनप्रतिनिधिको खाँचो छ । सांसद, राज्यमन्त्री जे–जे पाए पनि यो क्षेत्रले के उपलब्धि हासिल गर्‍यो भन्ने समीक्षा हुन जरुरी छ । चुनावी मैदानमा उत्रिएपछि चुनौती हुन्छन् नै । तर, हामी सहज जित हुनेमा ढुक्क छौँ ।

विकास र कानुन निर्माणमा गति दिनेछु
कृष्णभक्त पोखरेल
चितवन–२ उम्मेदवार, नेकपा एमाले
जनतासँग सधैं छु । दु:खसुखमा जतिबेला पनि हुने गर्छु । दोस्रो संविधानसभा सदस्यमा रहँदा संविधानको मस्यौदाकारको भूमिका निर्वाह गरें । २०७४ मा निर्वाचित भएर सदनमा जाँदा संविधानअनुकूलका १ सय ७६ भन्दा बढी कानुन मेरै नेतृत्वमा बने । संविधान, सर्वोच्च अदालतको नजिर, अन्तर्राष्ट्रिय कानुन, जनपक्षीय भए/नभएको हेरेरै सर्वसम्मत कानुनहरू निर्माण भए । भइरहेका कानुन कार्यान्वयन भए/नभएको निगरानी पनि गर्‍यौँ । कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति भएर काम गरेँ । तेस्रो पटक फेरि चुनाव जितेर केही अधुरा, धेरै नयाँ कामहरू गर्ने लक्ष्यसहित चुनावी मैदानमा छु । संसद् भनेको कानुन निर्माण गर्ने थलो हो । त्यो भूमिका मैले राम्रै गरेँ । खाद्य अधिकार, स्वास्थ्यको अधिकार, आवासको अधिकार, शिक्षाको अधिकार रोजगारीको अधिकारजस्ता मौलिक हकहरू कार्यान्वयनका लागि १६ वटा नयाँ कानुन बने ।
इच्छाकामनाको दाहखानी, काउले, चण्डीभन्ज्याङ र दारेचोकमा बिजुली बत्ती पुग्यो, झिलिमिली भए । इच्छाकामना–२ मा विद्युतीकरणका लागि १० करोडभन्दा बढी बजेट पर्‍यो । सांसद भएकै बेला शक्तिखोर फिस्लिङको सडक निर्माणमा ७८ करोड, भोर्ले दाहखानी सडकलाई २५ करोड बजेट पार्न पहल गरेँ । जलविरे–ढुंग्रे सडक निर्माण हुँदैछ । सडक सञ्जाल विस्तार भएका छन् । सदनबाट अझै ५० वटाजति कानुन बनाउनुपर्ने अवस्था छ । सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय संकल्प, राष्ट्रिय स्वाधीनताका लागि एमालेले राखेको चट्टानी अडान पूरा गर्न फेरि उम्मेदवार बनेको हुँ । अझै पहाडको जीवन रूपान्तरण गर्नु छ । भरतपुर क्षेत्रमा सरसफाइका लागि व्यवस्थित ल्यान्डफिल साइट निर्माण गर्नुपर्नेछ । फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनाका लागि कोरियन टोली ल्याएर महानगरमा डीपीआर बनाउन पनि पहल गरेको थिएँ । तर, सो काम पूरा हुन सकेन । अब चितवन–२ लाई सबैका लागि मन पर्ने क्षेत्र बनाउनेछु । जन्मेको, हुर्केको, बढेको, पढेको क्षेत्रबाटै उम्मेदवारी दिएको छु । खाली किताबजस्तै जनताले मलाई चिनेका छन् । लाग्छ, २०७४ भन्दा बढी मतान्तरले विजयी हुनेछु । १० हजार बढी मत आउने अनुमान छ । चितवन–२ का हरेक आवश्यकताबारे जानकार छु । त्यसैले विकासमा गति दिन मेरो जित आवश्यक ठानेको छु ।

नेपालीको विकासको सपना पूरा गर्न मेरो उम्मेदवारीे
सुरेन्दप्रसाद पाण्डे
चितवन–१ उम्मेदवार, नेकपा एमाले
म जुन बेला अर्थमन्त्री भएको थिएँ, त्यति बेला माओवादी प्रतिपक्षमा र १० भन्दा बढी दल सरकारमा रहेका थिए । मुलुक कठिन परिस्थितिमा चलिरहेको थियो । समस्यामा नै समाधान खोज्नुपर्छ भनेर मैले केही देख्दा महŒवकांक्षीजस्तो तर गर्न सकिने र गर्नु नै पर्ने केही योजना अघि सारें । मेरो अर्थमन्त्री कालमा सुरु गरेका केही योजना सम्पन्न भएका छन् । केही योजना निर्माणाधीन अवस्थामा छन् । त्यति बेला मन्त्रालयमा रहेका र कार्यान्वयन गर्ने निकाय एकाइमा रहेका राष्ट्रसेवक कर्मचारीबाट पर्याप्त सहयोग प्राप्त गरें । मैले कठिन परिस्थितिमा सुरु गरेको केही योजनामा मात्र बजेट व्यवस्थासहित कार्यान्वयनमा लैजाँदा अहिले सफल अर्थमन्त्री भनेर चर्चा गरेको, लेखेको देख्छु/सुन्छु । काम गर्ने अवसर पाउने हो भने नेपालीको विकासको सपना पूरा गर्न सक्छु भनेर दोस्रो पटक प्रतिनिधिसभाको निर्वाचनका लागि चितवन प्रतिनिधिसभा १ बाट उम्मेदवारी दिएको हुँ ।
म अर्थमन्त्री हुँदा अघि सोरका प्रतिनिधि योजनामध्ये पहाडी लोकमार्ग, १० वटा नयाँ सहर, हेटौंडा–चतरा सडक, माथिल्लो तामाकोसी, जनता आवास कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम, (कर्णालीबाट) रानीजमरा सिँचाइ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सामाजिक सुरक्षा कर, जग्गाको वर्गीकरण, तेस्रो पक्ष सडक दुर्घटना बिमा हुन् । यसका अतिरिक्त अरू पनि महŒवपूर्ण योजनाहरू अघि सारेर काम गरें । पूर्वपश्चिम सडकमा मधेस खण्डमा हरेक समय सडक अवरोध गर्ने, त्यसको असर सर्वसाधारण, उद्योगी व्यापारी, सरकार सबैलाई पर्ने भएकाले दीर्घकालीन समाधानको विकल्प पहाडको फेदीबाट वैकल्पिक सडक निर्माण गर्ने क्रममा हेटांैडा–चतरा मदन भण्डारी मार्गको रूपमा निर्माण भइरहेको छ । केही पुल निर्माण हँुदैछन् । सडक कालोपत्रे अन्तिम चरणमा छ । पहाडमा एक करोड जनसंख्या राख्नुपर्छ भनेर मध्यपहाडी राजमार्ग सुरु गरेको हुँ । माथिल्लो तामाकोसी सरकारी लगानीमा नबनाएको भए अहिले डिजेल प्लान्टमा कति पैसा बाहिरिन्थ्यो । अहिले लोडसेडिङ अन्त्य हुन्थ्यो ?
म लामो समयदेखि पूर्वी चितवनमा बस्दै आएको छु । त्यस कारण त्यहींबाट चुनावमा पहिला उठें । अहिले पनि त्यहींबाट उठे । मेरो निर्वाचन क्षेत्रमा गरेका केही कामहरू डुबान कटान रोक्न लोथरदेखि सौराहसम्म आरसीसी ब्याग काम भइरहेको छ । सौराह पर्यटकीय गन्तव्यको एक महŒवपूर्ण स्थल हो । त्यसको प्रवद्र्धनका लागि सौराहमा अन्तर्राष्ट्रिय सभा हल निर्माण अन्तिम चरणमा पुगेको छ । सौराह लोथर चक्रपथ निर्माण, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण सुरु भएको छ । मलेखु–भण्डारा सुरुङ बनाउन कोरियन सहयोगमा एडीबीले डीपीआर गरेको छ । टाँडी–बुलहर–जोगीमारा सुरुङमार्ग बनाउने योजना छ । यी दुई सडकले नारायणगढ–मुग्लिन सडकको ट्रफिक भार घटाउँछ । सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउँछ । काठमाडांै–मलेखु–भण्डारा–ठोरी सडकको सपना पूरा गर्नु छ । यही मार्गमा रसुवा गढी गल्छी सडक स्तर वृद्धि गरी ठोरी रसुवागढी त्रिदेशीय मार्ग बनाउनु छ । यही अधुरा काम गर्न पनि पुन: उम्मेदवार बनेको हुँ । विश्वास छ, पूर्वी चितवनवासीले यसपटक पनि पहिले गरेका कामको समीक्षा गरी नेपालीको विकासको सपना पूरा गर्न मलाई मतदान गर्नु हुने छ । म निर्वाचित भएपछि चितवन प्रतिनिधिसभा १ सहित देशका १ सय ६५ नै निर्वाचन क्षेत्रको विकासमा योगदान गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्