अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन «

अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन

पछिल्ला केही दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भइरहेको विनिमय दरलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ताको विषय बनेको छ । जब हामी विदेशी व्यापारमा असन्तुलन पूरा गर्ने उद्देश्यका लागि विदेशी सञ्चिति कायम गर्ने कुरा गर्छौं भने हाम्रो अर्थ व्यापारको सामान्य ढाँचाबाट उत्पन्न हुने असन्तुलन हो । विगत केही महिनादेखि नेपाली रुपैयाँ लगातार अवमूल्यन भइरहेको छ ।
पछिल्लो समय नेपालमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन तीव्र गतिमा भइरहेको छ । यो निरन्तर अवमूल्यन प्रक्रिया नेपाली मुद्रास्फीति दर, ब्याजदर वा नेपालको जिएनपीमा वृद्धिको कारण होइन । किनभने बरु, यो केवल नेपाली रुपैयाँ भारतीय मुद्रामा पेग गरिएको छ । विनिमय मूल्यह्रास भन्नाले विनिमय दरमा आएको ह्रास हो, अर्थात् एक मुद्राको बाह्य मूल्य अर्को मुद्राको सन्दर्भमा ।
विनिमय मूल्यह्रासले बासिन्दाहरूका लागि घरेलु वस्तुहरू र सेवाहरू सस्तो बनाउँछ र आयात महँगो बनाउँछ । अवमूल्यन भनेको कुनै पनि आधिकारिक आदेशद्वारा बाह्य मूल्य अर्थात् मुद्राको एकाइको विनिमय दर घटाउनु हो । यो या त सबै देशको मुद्रा वा सुनको सम्बन्धमा वा केही चयन गरिएका देशहरूको मुद्रासँग सम्बन्धित हुन सक्छ ।
दक्षिण एसियाका मुद्राहरू तीव्र दबाबमा परेका छन् र अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेका छन् । सैद्धान्तिक रूपमा भन्नुपर्दा, नेपाली मुद्राको वर्तमान अवमूल्यनको तत्काल प्रभाव निर्यातको विस्तार र आयातको संकुचनमा प्रतिबिम्बित हुन्छ, जसले गर्दा भुक्तानी सन्तुलनको प्रतिकूल अवस्थालाई कम गर्ने प्रवृत्ति हुन्छ । अवमूल्यनका प्रभावहरू पत्ता लगाउन केही अर्थशास्त्रीहरूको विचारमा, देशको निर्यातका लागि बाह्य मागको लोचको जाँच गर्न आवश्यक छ, जुन देशको निर्यातका लागि लोकप्रिय माग हो, जसलाई लोचको दृष्टिकोण भनिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति गत साउनमा ८.२६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७९ असारसम्ममा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर, २०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।
नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार हालैका लागि एक अमेरिकी डलरबराबर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । यसअगाडि एक अमेरिकी डलरबराबर १२९ रुपैयाँ ६८ पैसा थियो भने १ डलरको १२९ रुपैयाँ ८९ पैसा थियो । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ । त्यसै कारण भारतीय मुद्रा कमजोर भएका कारण नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।
यसअघि ५ साउनमा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ पुगेको थियो । त्यसपछि बिस्तारै घट्न थालेको अमेरिकी डलरको भाउ १ सय २६ रुपैयाँसम्म झरेको थियो । पछिल्लो समय रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ । अमेरिकी डलर बलियो भएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा कमजोर हुँदै गएका छन् ।
विश्व बजारमा नै डलर बलियो हुँदै जाँदा हालै १ डलर बराबर ८२भन्दा बढि भारु पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ भने यसअगाडि ८१ भारु थियो । अमेरिकी डलर महँगो भएपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको भाउ पनि स्वत: बढ्नेछ, जसले गर्दा चाडबाड अगाडि आन्तरिक बजारमा मूल्यवृद्धि हुने डर छ ।
दुई फरक मुद्रालाई एक–अर्काेसँग विनिमय गराउन निर्धारित हुने दरलाई विनिमय दर भनिन्छ । अझ सरल भाषामा भन्दा यो एक राष्ट्रको मुद्रालाई अर्को राष्ट्रको मुद्राको आधारमा गरिने मूल्याङ्कन हो । विदेशमा यात्रा गर्न निस्कँदा त्यहाँ खर्च गर्न सोही देशको मुद्रा खरिद गर्नुपर्ने हुन्छ ।
यो प्रक्रिया कुनै वस्तु खरिद गरेजस्तै हो । सिद्धान्तत: एउटै वस्तुको बिक्री मूल्य फरक–फरक देशमा पनि एकै हुनुपर्छ । किनकि, एउटा देशको मुद्राको मूल्य अर्को देशको सँग व्यवस्थित गर्ने काम विनिमय दरले गर्छ ।
साधारणत: एउटा मुद्रालाई अर्को मुद्रासँग विनिमय गर्ने दुई तरिका छन्— एउटा फिक्स्ड पेग्ड रेट (स्थिर विनिमय दर) र अर्काे फ्लोटेड रेट (परिवर्तित विनिमय दर) । विनिमय दरको निर्धारण र व्यवस्थापन गर्ने काम हरेक राज्यको केन्द्रीय बैंकले गर्छ । विश्वका प्रमुख मुद्राको मूल्यको आधारमा विनिमय दरको निर्धारण गरिएको हुन्छ ।
विनिमय दर परिवर्तन बजारको माग र आपूर्तिको आधारमै निर्धारण हुन्छ । यस्तो दरलाई अर्काे शब्दमा ‘सेल्फ करेक्टिङ’ अर्थात् आफैं सच्चिने दर पनि भन्न सकिन्छ । किनभने, बजारको आपूर्ति र मागमा आउने विविधताले यस्तो दर आफंै सच्चिन्छ । एउटा साधारण वास्तविकतामा कुनै पनि मुद्रा पूर्णत: स्थिर वा परिवर्तित भइरहँदैन । स्थिर दर कायम गरिएको राष्ट्रमा बजारको दबाबले कहिलेकाहीँ यस्तो दर परिवर्तन गर्न पनि बाध्य बनाउन सक्छ । कहिलेकाहीँ स्थानीय मुद्राले स्थिर गरिएको अर्काे मुद्राभन्दा छुट्टै मूल्य प्रतिविम्बित गर्‍यो भने कालोबजारी बढ्न सक्छ । यस्तो समयमा केन्द्रीय बैंकले आधिकारिक बजार बाहिर कायम भइरहेको आफ्नो मुद्राको मूल्यअनुसार नै सो मुद्राको अवमूल्यन गर्न वा अधिमूल्यन गर्न बाध्य हुन्छ । केन्द्रीय बैंकको सो कार्यले कालोबजारी कम गर्न वा रोक्न सजिलो हुन्छ ।
परिवर्तित दर कायम गरिएको राष्ट्रमा समेत कहिलेकाहीँ केन्द्रीय बैंकले स्थिरता कायम गर्न र मुद्रास्फीति कम गर्न बजारमा हस्तक्षेप गर्न सक्छ । यद्यपि, विश्व परिवेशमा केन्द्रीय बैंकहरूले विरलै यस्तो कार्य गरेको पाइन्छ ।
हालैको अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यनले मुलुकको अर्थतन्त्र र चालू आर्थिक वर्षको वृद्धिदरमा असर पर्ने स्पष्ट छ । नेपाल आयातमा आधारित अर्थतन्त्र भएकाले अमेरिकी डलरको तुलनामा आन्तरिक मुद्राको अवमूल्यनले पनि आयात महँगो हुने र मुलुकको मुद्रास्फीतिमा असर पर्नेछ । विश्वव्यापी वित्तीय बजारको मन्दीले विश्व कोरोनाको कारण आर्थिक मन्दीतर्फ उन्मुख छ भन्ने सङ्केत दिएपछि देशको मुद्रासँग जोडिएको भारतीय रुपैयाँ दबाबमा परेपछि नेपाली रुपैयाँको विनिमय दर झरेको छ । नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको हो ।
नेपाल राष्ट्र बैंकले अमेरिकी अर्थतन्त्र वलियो बन्दै गएको र पछिल्लो समय रूस–युक्रेन युद्धको असरसमेत अमेरिकी डलरको मूल्यमा परेको बताउँछन् । विश्वव्यापी रूपमा पछिल्ले समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समययता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।
तसर्थ, अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको यो गिरावटले आयातमा आधारित नेपाली अर्थतन्त्रलाई जोखिममा पार्नेछ । हाम्रो अर्थतन्त्र निर्यातमुखी भए अमेरिकी डलर बलियो हुनु नेपालका लागि अवसर हुनेछ । नेपालको अर्थतन्त्र धेरै मात्रामा आयातमा निर्भर भएकाले अमेरिकी डलरको तुलनामा कमजोर रुपैयाँले हाम्रो अर्थतन्त्रमा नराम्रो असर पार्छ । कमजोर मुद्राले आयात महँगो बनाउँछ र यसले अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब पनि सिर्जना गर्छ । त्यसैगरी, अमेरिकी डलरमा तिर्नुपर्ने विदेशी ऋणको ब्याज र साँवा चुक्ता गर्दा मुलुकले घाटा बेहोर्नेछ ।
नेपालको विशेष परिवेशमा, माग लोचले काम गर्दैन । यस सन्दर्भमा, यो भन्न सकिन्छ : अवमूल्यनको सफलता आयातका लागि आन्तरिक मागमा निर्भर हुनेछ र निर्यातको लागि गैरघरेलु माग एकदम लोचदार हुनुपर्छ, जुन नेपालको सन्दर्भमा वाञ्छित हदसम्म लागू हुँदैन; अवमूल्यनले केही भुक्तानी सन्तुलन वस्तुहरूमा प्रतिकूल प्रभाव पार्छ, जस्तै विदेशी ऋणको भुक्तानीका लागि जब यी राष्ट्रिय मुद्रामा व्यक्त हुन्छन् । समग्रमा भन्नुपर्दा नेपाली निर्यातलाई परिमाणमा गति दिनुपर्नेछ भने आयातमा ह्वात्तै घटाउनुपर्छ, जुन उपभोग्य वस्तु, विकास र निर्माण सामग्रीको बढ्दो आयातका कारण सम्भव छैन । यसरी नेपाली गरिब जनताले यो अवमूल्यनको पीडा भोग्नुपर्नेछ ।
उच्च मुद्रास्फीति, मुद्रा आपूर्तिमा विस्तार, विस्तारकारी मौद्रिक नीति एवं लगानीका लागि पर्याप्त रकम बजारमा प्रवाह भएमा आममानिसको उपभोेगमा वृद्धि हुने, यसबाट मूल्यवृद्धि हुने, विदेशी सामग्रीको उपभोग बढ्दा आयातका लागि बढी विदेशी मुद्रा खर्चिनुपर्ने हुन्छ । यसले मुद्राको क्रयशक्ति घटाउँछ र विदेशी लगानी न्यून परिचालन हुने र भइरहेको लगानी पनि फिर्ता जाने अवस्था आउँछ । यस्तो अवस्थामा देशको अर्थतन्त्र क्रमश: कमजोर हुँदै जान्छ । इन्धनमा भएको मूल्यवृद्धि र अत्यधिक खपतका कारण अमेरिकी डलरको माग बढेर भारतीय बजारमा भारतीय मुद्राको अवमूल्यन भएको हो ।
खर्बौं रुपैयाँको व्यापार घाटा बेहोरिरहेको समयमा निर्यात बढाउनका लागि नेपालले भारतीय रुपैयाँसँगको आफ्नो विनिमय दर अवमूल्यन गराउनुपर्ने चर्चा केही समययता निकै गर्मागर्मी रूपमा चलिरहेको छ । तर, अधिकांश अर्थविदहरूले भने अवमूल्यन गर्दा फाइदाभन्दा घाटा धेरै हुने चेतावनी दिने गरेका छन् ।
निर्यात गर्न सकिने वस्तुहरू नै नेपालसँग धेरै नभएको हुनाले, विदेशीका लागि नेपाली वस्तुको भाउ सस्तो भए पनि खास निर्यात बढ्न नसक्ने अवस्था छ । खानेकुरादेखि पेट्रोलसम्म विदेशी आयातमा भर पर्ने नेपालीहरूका निम्ति त्यो महँगी निकै पीडादायक बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्