Logo

भारतबाट गाउँ पुग्नुअघि साहु पुग्छन् ढोकामा

डोल्पा त्रिपुरासुन्दरी ३ राजेन्द्र कामी भारतबाट घर नपुग्दै उनको घरमा साहु तीन पटक पुगिसकेका छन् । भारत जाँदा सापटी लिएको पैसा असुल गर्न कामीको घरमा साहु तीन पटक पुगेको हुन् ।
नेपाली रुपैयाँ बराबरको भारु दिने सम्झौता गरेका कामी अझै घर नपुगेको उनकी श्रीमती जयसरा कामीले बताइन् । उनले भनिन्, “बारीमा फलेका स्याउ दैनिक बोकेर त्रिपुरावगरमा जान्छु, त्यहाँ दिनभरी १४ महिनाकी छोरीलाई च्यापेर बिक्री भएको पैसा जम्मा गरेर साहुलाई बुझाउने योजना छ । जाजरकोट र रुकुम पश्चिममा लाग्ने जात्रा तथा मेलामा स्याउ लिनका लागि ग्राहक आउने गर्दछन्, अब तीन दिन बिक्री गरेमा साहुको पैसा तिर्ने जम्मा हुने छ ।”
स्याउ बिक्री गरेको पैसाले दसैंमा नयाँ कपडा सहित केही आवश्यक सामग्री खरिद भन्दा पनि साहुको ऋणले सताउँदा दसैं आउनु र नआउनुमा आफूलाई केही फरक नभएको पीडा सुनाउँछिन् । “परिवार साथमा छैन, अर्को तिर ऋणले च्यापेको छ” उनले भनिन्, “गरिवलाई चाडपर्व नआएकै राम्रो ।”
जाजरकोट, डोल्पा र रुकुम पश्चिमका अधिकांश भारत गएर कमाइ गरी घरखर्च चलाउने परिवारको समग्र पीडा हो यो । हुने खाने भन्दा पनि हुँदा खाने बीचको गरिबीको ठूलो खाडल पहाडी जिल्लामा रहेको छ । छोराका आसमा धेरै सन्तानको जन्म दिनेदेखि थोरै जमिन भएर आफूले उत्पादन गरेको अन्नले चार महिना पूरा खाना नपुग्ने निम्न स्तरका परिवारलाई ठूला चाडपर्वमा समस्या बनाउँदै आएको छ । आर्थिक अवस्था मजबुद नभएर पीडा भएपनि दसैंं तिहारले भावनात्मक रुपमा नै पीडा दिने गरेको निम्न वर्गका सर्वसाधाणले बताउँदै आएका छन् ।
दसैं पछि पूर्णिमाको दिनदेखि तीन जिल्लामा मेला तथा जात्रा सुरु हुन्छन् । जाजरकोटको पूर्वमा रहेको सबै भन्दा ठूलो जात्रा रामीडाडा, रुकुम पश्चिम आठबीसकोटको राडीमा लाग्ने चौतारा मेला, अनाह मेला, दामाचौर, छिनखेत मेला, चिसापानी मेला लाग्ने गर्दछ । जाजरकोटको नलगाड नगरपालिकाको तल्लु स्थित (साविक भगवति गाविस) डाडामाथि मेला र अन्तिम जाजरकोट सदरमुकाममा लाग्ने रमाइली मेला गरी यस क्षेत्रमा दुई दर्जन ठूला जात्रा र मेला लाग्ने गर्दछन् ।
यी सबै मेला र जात्रामा भारी एकथरीको खर्च हुन्छ भने व्यापारीको भारी लाभ उठाउने गर्दछन् । गरिव परिवारलाई यी मेला पर्वमा खर्च धान्न धौ धौ हुने गरेको छ । डोल्पा र जाजरकोटका निम्न आर्थिक अवस्था भएका स्थानीयवासीको संख्या ठूलो रहेको छ । वर्षेनी कमाइका लागि भारत जाने परिवारको संख्या अत्यधिक बढीरहेको पाइएको छ । आयआर्जनको गतिलो बाटो नदेखेपछि यहाँका सर्वसाधाण भारत नै आफ्नो कमाइ गर्ने उपयुक्त गन्तव्य बनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्