धितोपत्र लगानी र निक्षेपमा चक्रवृद्धि प्रतिफल «

धितोपत्र लगानी र निक्षेपमा चक्रवृद्धि प्रतिफल

पैसाको लेनदेनमा विगतदेखि नै समाजमा प्रचलित सावाँको ब्याज र ब्याजको स्याज अर्थात् ब्याजको पनि ब्याज नै चक्रवृद्धि ब्याज हो । मूलधन बारम्बार बढ्दै जाने, ब्याजमाथिको ब्याजले धनमा वृद्धि अर्थात् ब्याजको पुँजीकरणलाई चक्रवृद्धि धनवृद्धिका रूपमा बुझिन्छ । सायद सावाँसँगै ब्याज जोडिँदा छिटो र बढी कमाउने भएरै ‘सावाँभन्दा ब्याज प्यारो’ उखान प्रचलित छ ।
निक्षेपमा ब्याज पुँजीकृत (कम्पाउन्डिङ) मार्फत अनि लगानीमा लाभांशको पुन: लगानी (डिभिडेन्ड रिइन्भेस्टमेन्ट) प्रक्रियाबाट चक्रीय प्रतिफल (कम्पाउन्डिङ रिटर्न) को अपेक्षा गरिन्छ । निक्षेप कम्पाउन्डिङ बैंक तथा वित्तीय संस्थाको नियम र निक्षेपको प्रकृति, निक्षेप गर्दाको सर्तमा निर्भर हुन्छ । कम्पाउन्डिङ हुने निक्षेपमा तोकिएको रकम तोकिएको अवधिपछि एकमुस्ट भुक्तान गरेजसरी लगानीमा भने स्वत: कम्पाउन्डिङ र सुनिश्चित प्रतिफल हुँदैन । कम्पनीबाटै सेयर लाभांश (बोनस सेयर) मार्फत लाभांश पुँजीकरणमा बाहेक लगानीमा चक्रीय प्रतिफल खोज्नेले नै लाभांश पुन:लगानी गर्दै थप सेयर वा म्युचुअल फन्डका एकाइ वा डिबेन्चर खरिद गरिरहनुपर्ने हुन्छ ।

निक्षेप कम्पाउन्डिङ
बैंक तथा वित्तीय संस्थाको बचत निक्षेपमा सामान्यत: दैनिक ब्याज गणना गरिए तापनि तीन–तीन महिनामा ब्याज भुक्तानी हुन्छ । अर्थात् दैनिक खातामा रहेको रकमको ब्याज गणना गरिए तापनि त्यसलाई सावाँमा जोडेर अर्को अवधिको ब्याज गणना सामान्यत: प्रत्येक त्रैमासपछि गरिन्छ । बचत निक्षेपमा ब्याज निश्चित अवधिमा स्वत: पुँजीकृत भए तापनि परिवर्तनशील ब्याजदरले प्रतिफल वा चक्रीय दर अनिश्चित हुन्छ । मुद्दती निक्षेपको हकमा निक्षेप राख्दा निर्धारित ब्याजदर पूरै निक्षेप अवधिका लागि निश्चित हुन्छ र उक्त निक्षेपमा पाकेको ब्याज सामान्यत: सम्बन्धित व्यक्ति वा निकायको तोकिएको खातामा भुक्तानी हुन्छ अर्थात् चक्रीय प्रणालीमा जाँदैन । तर हालै बैंक तथा वित्तीय संस्थाहरूले मुद्दतीको ब्याज नियमित भुक्तानी नगरी कम्पाउन्डिङ गर्दै सावाँ र ब्याज एकैपटक भुक्तानी गर्ने विभिन्न निक्षेप योजना (स्किम) सञ्चालनमा ल्याएका छन् । सामान्यत: प्रचलित ब्याजदर आसपासकै दरमा मासिक, त्रैमासिक वा वार्षिक रूपमा ब्याज गणना र कम्पाउन्डिङ गरिएका योजनामा सावाँ र ब्याजको भुक्तानी तोकिएको अवधिपछि एकमुस्ट गर्ने प्रतिबद्धता हुन्छ । हाल सञ्चालित योजनामा ब्याजदर स्पष्ट नखुलाइए पनि निश्चित अवधिपछि एकमुस्ट सावाँ र ब्याज भुक्तानीले निश्चित दर र विधिमा ब्याज कम्पान्डिङ गरिएको बुझ्न सकिन्छ ।
हुन त विगतमा पनि बचत र मुद्दतीको ब्याज कम्पाउन्डिङ गर्ने चलन थियो । कतिपयले त दैनिक कम्पाउन्डिङ र पाँच वर्षमै निक्षेपको दुई गुना भुक्तानी पनि दिए, जुन समयमा केही बैंक तथा वित्तीय संस्थाले आफ्नै नियमानुसार तीन, छ वा बाह्र महिनामा ब्याज गणना र कम्पाउन्डिङ गर्थे । हालको जस्तो बैंकहरूले कम्पाउन्डिङ दरमा दीर्घकालीन निक्षेप लिने प्रचलन सायदै थियो ।
कतिपयलाई निक्षेपको ११–१२ प्रतिशत ब्याजदर र कम्पाउन्डिङ प्रतिफल न्यून लाग्दा प्रणालीले स्वचालित रूपमा गर्ने कम्पाउन्डिङ सामान्यत: व्यक्तिले गर्नेभन्दा सहज र बढी प्रतिफलको सम्भावना रहने बिर्सनु हुन्न । जस्तै, बैंकले करिब ६५ महिनामा सावाँको दुई गुना भुक्तानी दिँदा व्यक्तिले १३–१४ प्रतिशत दरले ब्याज पाउँदा पनि ६५ महिनामा नै रकम दुई गुना गर्ने सम्भावना कम हुन सक्छ । प्राप्त ब्याज तोकिएको खातामा आएपछि बल्ल अर्को निक्षेप गर्न सकिने; कतिपय अवस्थामा तत्काल प्राप्त ब्याज रकमलाई निक्षेप सम्भव नहुने वा नसकिने; विगतको भन्दा ब्याजदर निकै घटेको हुन सक्ने जस्ता अनेक कारणले कम्पाउन्डिङ सहज हुन्न ।

धितोपत्र लगानी र कम्पाउन्डिङ
विभिन्न धितोपत्रमध्ये सेयरमा लगानीको मूल उद्देश्य पुँजीगत लाभ र तरलतासँगै लाभांशको पुन:लगानीबाट सिर्जना हुन सक्ने ‘कम्पाउन्डिङ रिटर्न’लाई मानिन्छ । हुन त सेयरमा लगानीमा कम्पाउन्डिङ त के, कुनै पनि प्रतिफल सुनिश्चित हुन्न, तैपनि लगानीकर्ताहरू ‘कम्पाउन्डिङ रिटर्न’कै आसमा जोखिम लिन तयार हुने मान्यता छ । नेपाली लगानीकर्तासँगै नियामक र राज्यको बुझाइमा कम्पनीको व्यवसाय विस्तार, प्रतिस्पर्धात्मक र जोखिमवहन क्षमताका लागि पुँजीगत क्षमता पनि बढ्नुपर्छ, त्यो भनेको चुक्ता पुँजीमा वृद्धि हो । त्यसैले मुनाफा सेयरधनीलाई वितरण नगरी सेयर लाभांशमार्फत चुक्तापुँजीमा परिणत (क्यापिटलाइज) गर्नुपर्ने मान्यता राख्छन् । यसबाट तत्काल नगद भुक्तान गर्नुपर्दैन र चुक्ता पुँजीसँगै केही व्यावसायिक क्षमता पनि बढ्न सक्छ, सँगसँगै कम्पाउन्डिङ लाभांशको दबाब बढ्नेमा कम्पनीको समेत ध्यान गएको देखिन्न । लगानीकर्ताहरूले पनि सेयर लाभांशबाट सेयर कित्ता चक्रीय दरमा बढ्दै गर्दा मूल्य समायोजन, बढ्दो कित्तासँगै घट्न सक्ने आधारभूत सूचक, बढ्दो आपूर्तिको मूल्य दबाबजस्ता कारण वास्तविक प्रतिफल वा सेयर सम्पत्ति भने लाभांशकै दरमा कम्पाउन्डिङ नहुने बिर्सिन्छन् । त्यसैले विदेशीमा सेयर लाभांश मन नपराइने मात्र होइन, लाभांश पुन:लगानीका लागि नियामकले पूर्वसर्तसमेत तोकेको सुनिन्छ ।

उदाहरणका लागि, आव २०७३/७४ को लाभांशको बुकक्लोज अगाडि करिब १ लाख ६४ हजार रुपैयाँको लगानीमा नविल बैंकको १ सय कित्ता सेयर किन्नेसँग चक्रीय दरमा प्राप्त सेयर लाभांशबाट हाल करिब २९०.८५ कित्ता हुन्छ, जहाँ वार्षिक करिब २३.८१ प्रतिशतको दरमा ‘कित्ता कम्पाउन्डिङ’ देखिन्छ । तर हालको बजार मूल्यमा कायम हुने करिब २ लाख २७ हजारमा हिसाब गर्दा ‘सेयर सम्पत्ति कम्पाउन्डिङ’ दर करिब ६.७५ प्रतिशत मात्रै देखिन्छ । सोही समयतिर नेपाल लाइफको १ सय कित्ता किन्नेसँग हाल करिब २ सय ६५ कित्ता हुनेछ र उसको तत्कालीन लगानी करिब २ लाख २ हजार हालको बजार मूल्यमा करिब १ लाख ५३ हजार रुपैयाँ मात्र हुन्छ । नेपाल लाइफको कित्ता वार्षिक करिब २१ प्रतिशतले कम्पाउन्डिङ हुँदा वास्तविक सेयर सम्पत्ति ५.४१ प्रतिशतको दरमा घटेको छ । कित्ता र सेयर सम्पत्तिको वृद्धिदरमा हुने फरकले गर्दा लगानीमा चक्रीय प्रतिफल गणना विवास्पद र कठिन हुन्छ । लगानीकर्ताको लागत, कम्पनीको सेयर लाभांश दर र सेयरको बजार मूल्यले वास्तविक प्रतिफल र कम्पाउन्डिङ दर प्रभावित हुन्छ ।

भिन्नता र ध्यान दिनुपर्ने
निश्चित दरमा ब्याज (प्रतिफल) प्राप्त हुने निक्षेप र प्रतिफलसँगै अनेक जोखिमपूर्ण अनिश्चित चरित्रको लगानी वास्तवमा तुलनायोग्य नहुन सक्छ । बचत वा मुद्दती दुवै सुनिश्चित प्रतिफल उपकरण हुन्, जसमा तोकिएको दरमा प्रतिफल सुनिश्चित हुन्छ । अर्कातिर लगानी उपकरण चाहे सेयर, म्युचुअल फन्ड वा डिबेन्चर सबैमा केही न केही जोखिम अन्तर्निहित हुन्छ र धितोपत्रको चरित्रअनुसार सुनिश्चित वा अनिश्चित प्रतिफल हुनसक्छ । त्यसैले जोखिम लिन नचाहनेका लागि निक्षेप अनि जोखिम मन पराउने र लिन सक्नेका लागि लगानी उपयुक्त मानिन्छ । उदाहरणअनुसार निक्षेप ६५ महिनामा दुई गुना सुनिश्चित हुँदा करिब पाँच वर्षमा नबिलका लगानीकर्ताको सम्पत्ति १ सय ३६ प्रतिशतले बढ्दा नेपाल लाइफका लगानीकर्ताको सम्पत्ति करिब २३.५ प्रतिशतले गुमेको छ ।
निक्षेपमा कम्पाउन्डिङ प्रतिफल खोज्दै गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको आयु, साखसँगै भुक्तानी हुने अवधि र रकम, सोको आधारमा अनुमानित ब्याजदर, ब्याज कर पछि वा अघिको भुक्तानी, मुद्दती निक्षेपको धितोमा प्रवाह गर्ने कर्जा कति प्रतिशत, त्यस्तो कर्जाको ब्याजदरजस्ता पक्षहरूमा पनि ध्यान दिनुपर्छ । निश्चित अवधिमा २ देखि १०–१५ गुना रकम भुक्तानीको प्रतिबद्धता गरे पनि ब्याजदर नखुलाउँदा उक्त निक्षेप धितो कर्जामा महँगो ब्याजदरको जोखिम रहन्छ । यस्तै १३ प्रतिशतकै ब्याजदरमा निक्षेप दुई गुना हुन ‘त्रैमासिक कम्पाउन्डिङ’ हुँदा ६५ महिना, ‘मासिक कम्पाउन्डिङ’ भए ६४ महिना ११ दिन अनि वार्षिक कम्पाउन्डिङ हुँदा ६८ महिना लाग्ने बिर्सनु हुन्न । एकै अवधिमा दुई गुनाको निक्षेपमा पनि ‘ब्याजकरसहित’को बैंकबाट पाकेको ब्याजमा ब्याजकर कट्टी भई खुद १ लाख ९५ हजार रुपैयाँ र ‘ब्याजकरपछि’ दिने बैंकबाट भने खुद २ लाख नै पाइन्छ ।
लगानीमा प्रतिफलको अनिश्चित हुनेमा सचेत रहँदै बजारमा उपलब्ध उपकरण, कम्पनी र व्यावसायिक अवस्था, मुनाफा, सुशासन, व्यवस्थापन र सञ्चालक, नियामकीय व्यवस्था, लाभांश परम्परा, सेक्टरको अध्ययनसँगै लगानी रकमको स्रोत, जोखिमवहन र व्यवस्थापन क्षमतालाई विशेष ध्यान दिनुपर्छ । अझ विगतको लाभांश र पुँजीगत लाभको आधार प्रतिफल दर गणना र अनुमान गर्न सकिए पनि निक्षेपमा जस्तो सुनिश्चित नहुने उल्लिखित उदाहरणले पुष्ट्याउँछ ।

प्रतिक्रिया दिनुहोस्