जलवायुमैत्री कृषि उत्पादनमा जोड

काभ्रेको बेथानचोक गाउँपालिकाका वडा नम्बर १,२ र ३ का ६ वटा बस्तीहरु क्लाइमेट स्मार्ट गाउँ बन्दै गएका छन् ।
बेथानचोकका कामीखोरिया, मुलडाँडा, चोरण्डे, आहाले कोलकाटे, बोल्दे र च्याम्राङबेसी गाउँ जलवायुमैत्री नमूना गाउँ (क्लाइमेट स्मार्ट गाउँ) बन्दै गएका हुन् । जलवायु परिवर्तनका असरहरूलाई न्युनिकरण गरी जलवायु प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ २०७८ साल फागुनमा यी क्षेत्रलाई जलवायुमैत्री नमूना गाउँ घोषणा गरिएको थियो ।
जलवायुमैत्री नमूना गाउँ घोषणा भएसँगै स्थानीयहरुले कृषिलाई प्राथमिकता दिइ काम सुरु गरेका छन् । अहिले स्थानीयहरुले जलवायुमैत्री कृषिका लागि सुधारिएको गोठ, प्लाष्टिक टनेल घरहरु निर्माण गरेर जलवायुमैत्री कृषि उत्पादन सुरु गरेका छन् । प्लाष्टिकका टनेल निर्माण गरी विभिन्न तरकारी, फलफूल, कागती, किबी, गोलभेंडालगायत अन्य अग्र्यानिक अन्नबालीहरु फलाउने गरेको बताउँछन् काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका २, चोरण्डेका अर्जुनप्रसाद तिमल्सिना । उनले गाउँमा अहिले सुधारिएको गोठ भएपछि गाईवस्तुको हेरचाहमा सहज भएको प्रतिक्रिया दिए । उनले खेतबारीमा सिंचाई, मलजलका लागि पनि गाईवस्तुको जैविक मलमात्रै प्रयोग गर्ने र खेतीपातीहरु पनि जैविक मलले फस्टाउने र राम्रो उत्पादन भइरहेको बताए । उनले आफूसँग कुनैपनि जानकारी नरहेको अवस्थामा ग्रामिण विकास संस्थाले स्थानीयलाई गरेको सहयोगले आर्थिक अवस्थामा सुधार भएको र अहिले घर चलाउन आवश्यक रकम सहजै पुग्ने गरेको बताए ।
अर्का ६३ वर्षीय स्थानीय बेदप्रसाद तिमल्सिनाको अनुभव पनि अर्जुनप्रसादको भन्दा फरक छैन । उनले सुधारिएको गोठले गाईवस्तुलाई सहजता मिलेको बताए । उनले प्लाष्टिकका घरको निर्माणले तरकारी र फलफूल खेती गर्न पाएको उल्लेख गर्दै त्यसलाई चाहिने सिंचाइको व्यवस्था पनि ग्रामीण विकास संस्थाले गरेको र अग्र्यानिक कृषि खेतीका कारण घरखर्चका लागि चाहिने आर्थिकोपार्जन बढेको बताए ।
ग्रामीण विकास संस्थाका प्राविधिक शिवप्रसाद तिमल्सिनाले वर्षातको समयको पानी संकलन गरी हिउँदे बालीनालीका लागि सिंचाइको व्यवस्था गर्नका लागि ट्याङ्की निर्माण गरिएको बताए । ग्रामीण विकास संस्थाको कार्यक्रमले पुरुषलाई मात्र नभइ महिलालाई पनि सहज बनाएको छ । खेतबारीको काम छिटो सकिँदा पुरुषहरुले घरको काममा महिलालाई सघाउने गर्छन् । घरमा पालेका गाईवस्तुहरुको मलमुत्र सोहोर्नुपर्ने बाध्यता कम भएको छ । वस्तुहरुका लागि व्यवस्थित सुधारिएको गोठ निर्माण भएको छ । यसले गाईवस्तुमा चिसो हुने, धेरै रोग लाग्ने समस्या कम हुँदै भएका छन् ।
अहिले स्थानीय धेरै नै खुशी छन् । जीविकोपार्जन गर्न नै धौ–धौ हुने ठाउँमा आफ्नै खेतबारीमा फलाएका फलफूल र तरकारी बेचेर केही रुपैयाँ जोहो गर्न पाएका छन् । हिउँदका लागि सिंचाईको लागि चाहिने पानी ट्यांकी बनाएर वर्षामा जम्मा गरिन्छ । त्यही पानी वस्तुभाउ र अन्नबालीमा हिउँदमा प्रयोग गरिन्छ । पिउने पानीका लागि भने अझैपनि केही समस्या छ । पिउने पानी लिन अहिले पनि केही समय हिँडेर ल्याउनुपर्छ ।
नयाँ प्रविधिअनुसार प्लाष्टिकका घरहरू निर्माण भएका छन् । जसमा इन्सेकनेट, युभि प्लाष्टिक, स्टेकीङ रोप जडान गरिएको हुन्छ । जसले प्लाष्टिकको घरभित्र तरकारीलाई चाहिने आवश्यक मात्राको जलवायु तयार पार्न सहयोग गर्नुका साथै बेमौसमी तरकारी खेती गर्न सकिन्छ । एउटा प्लाष्टिकको घर निर्माण गर्न करिव एक लाख रुपैयाँ खर्च हुने गरेको ग्रामीण विकास संस्थाका निर्देशक डिएन तिमल्सिनाले बताए । उनले वडा नम्बर २ का कामीखोरिया, मुल डाँडा, आले कोलकाटे, वडा नम्बर १ का च्याम्राङबेसी गाविसको ३ वटा वडालाई र वडा नम्बर २ को बोल्दे र चिर्थलीलाई जलवायुमैत्री नमूना गाउँको रुपमा विकास गरिएको बताए । यी स्थानमा प्लाष्टिकको पोखरी दिगो नहुने भएकाले अहिले स्थायी पोखरी निर्माण गरेर गाईवस्तुहरुको मलमुत्र जम्मा गर्ने गरेको बताए । उनले दोस्रो चरणमा सिंचाईका कुरामा बढी जोड दिएको र अहिले विशेष गरी स्थायी सिंचाईलाई विशेष ध्यान दिएर काम थालेको बताए ।
नेपालमा जलवायु परिवर्तनका कारण किसानहरू मारमा परेको अवस्थामा जलवायुमैत्री स्मार्ट कृषि गाउँ कार्यक्रमले राहत दिएकोमा स्थानीयहरु खुशी छन् । जलवायुमैत्री कृषिले जलवायु परिवर्तन स्वीकार गर्दै कृषि प्रणालीलाई परिमार्जन गरी समाधानको उपाय अगाडि ल्याउने निर्देशक तिमल्सिनाको बुझाइ छ । जलवायुमैत्री नमूना गाउँ अहिले देशका विभिन्न प्रदेशअन्तर्गतका विभिन्न जिल्लाहरुमा सफलताका साथ भइरहेको छ ।
कर्णाली प्रदेशदेखि लुम्बिनी, वागमतीलगायत अन्य प्रदेशमा पनि जलवायुमैत्री नमूना गाउँहरुमा जलवायुमैत्री कृषि उत्पादन भएका छन् । जलवायु अनुकुलन गाउँका लागि पानीमा जलवायु अनुकुलन, कार्वन तथा उर्जामा जलवायु अनुकुलन र कृषिमा जलवायु अनुकुलन लगायतका विभिन्न सूचकहरुमा काम भइरहेको छ । पानीमा जलवायु अनुकुलनका लागि बलेसीको पानी संकलन, पानी घैंटो निर्माण, प्लाष्टिक पोखरी, साना सिंचाई व्यवस्थापन, सौर्य पानी तान्ने पम्प, सिमसार व्यवस्थापन/पानीको मुहान संरक्षणलगायतका काम भइररहेका छन् भने कार्वन तथा उर्जामा जलवायु अनुकुलनका लागि सुधारिएको चुल्हो, गोबर ग्यास, बायो ब्रिकेट, कृषिबाट बचेको चिज व्यवस्थापन र फोहोर मैलाको व्यवस्थापनका काम भइरहेका छन् ।
कृषिमा जलवायु अनुकुलनका लागि सुधारिएको गोठ, गड्यौला मल, जैविक विषदी/जैविक मल, थोपा सिंचाई, प्लाष्टिक टनेल, फलफूल खेती तथा नगदेबाली रोपण र सुख्खा सहनसक्ने बालीका बीउ उत्पादन एवं निर्माणको काम भइरहेको छ ।