महँगीको उपहार दिलाउने सरकारी निकाय पेट्रोलियम पदार्थको मूल्य तीन पटकसम्म घटेर आउँदा यहाँ चूँसम्म गर्दैन आयल निगम, भन्छ घाटा छ ।
दशा नबनोस् दसैँ

भर्खरै दसैँका लागि रूट पर्मिट खुलेको छ, टाइम कार्ड, यान्त्रिक चेकजाँच, लामो दूरीमा २ चालकजस्ता प्रावधानहरू पनि लागू गर्ने निर्णय गरिएको छ । विगतलाई हेर्दा धेरैजसो दसैँ दशा बनेको छ । ठूलो चाड दसैँअघिपछि मानिसहरूको ज्यादा चहलपहल हुन्छ । एक स्थानबाट अर्को स्थानमा आउजाउ बाध्यता हो र विवशता पनि । र, यही समयमा सवारी चाप बढी दुर्घटनाहरू ज्यादा हुने गरेका छन् । गत आव २०७८/०७९ को अध्ययन गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ८ सय ७३ छ । प्रहरी स्रोतका अनुसार दसैँ घटस्थापनादेखि १५ दिनको अवधिमा औसत ६ सय बढी सवारी दुर्घटना हुने गरेको विगत छ भने औसत १ सयभन्दा बढीको ज्यान गएको छ । २०७८ को दसैँ सेरोफेरोमा १ सय ४७ जनाको ज्यान गएकोे छ भने सरदर प्रतिदिन ७ जनाको मृत्यु हुने गरेको विगत छ । अझ अघिल्लो २०७७ सालको दसैँको तथ्यांक हेर्दा १ सय १४ जनाले जीवन गुमाएको देखिन्छ । स्वादे जिब्रो धेरै खानुपर्ने, मान्यजनलाई नभेटी नहुने हाम्रो दसैँ खल्लो नभएर मीठो हुनु पर्ने हो, तर हुने गरेको छैन । अघिपछि देशमा निजी सवारीहरू बढी दुर्घटना हुने गरेका छन् भने दसैँमा सार्वजनिक सवारी साधनको दुर्घटना धेरै छ । अमूल्य जीवन सकिनु आपैmँमा नरमाइलो पक्ष हो, बित्ने त बित्लान्, बाँकीलाई ज्यादा विरह हुन्छ । प्राकृतिक र मानवनिर्मित दुई कारणले ज्यान जानेको संख्या बढेको छ देशमा । भूकम्प, कोरोनाले कति उडायो अनि दसैँको मुखैमा डिँगोले हालसम्म ३० जना बढीलाई निलिसकेको छ, बिरामी त हजारौँहजार छन् । अदृश्य शक्ति कोरोनासँग लड्न सकिएन तर दृश्य लामखुट्टेको टोकाइबाट पनि जनता बचाउन नसक्ने हाम्रो सरकारलाई आफ्नै अभिभावक हो कसरी भनौँ ? महँगीको उपहार दिलाउने सरकारी निकाय पेट्रोलियम पदार्थको मूल्य तीन पटकसम्म घटेर आउँदा यहाँ चूँसम्म गर्दैन आयल निगम, भन्छ घाटा छ ।
सवारी दुर्घटनामा अबोध यात्रुलाई के थाहा हुन्छ, कुन गाडी कस्तो छ भनेर, बस् उसलाई चढ्न पाए पुग्छ, हेर्ने त सवारी चालकले हो, सवारी धनीले हो, प्राविधिकले हो, अनि नियमनकर्ता सरकारी निकायले हो । हाम्रो प्रकृति त्यस्तै छ, हुस्सु, कुहिरो, हावाहुरी, चट्याङ, सडकको दुरवस्था, हिलो, पानी जम्ने खाल्डा, घुम्तीहरू, भिरोलो बाटो, बाटामा निर्माण सामग्री थुपार्ने बानी, ढलको अवस्था भनौँ पूर्वाधारमै ज्यादा कमजोर छौँ हामी । चालकको लापरबाही, लामो समय एउटै चालकले सवारी चलाउने, गाडीको मर्मत–सम्भार नगर्ने, मादक पदार्थको सेवन, चलाउँदा मोबाइलको प्रयोग, झिलिमिली दृश्यको आकर्षण, सँगै युवतीसँगको गफ, ढोका खुल्लै राख्ने बानी, ज्यादा पैसा कमाउने लोभले यात्रुको कोचाकोच, ओभरटेक गर्ने बानी, ट्राफिक नियमको पालना नहुनु, ब्रेक फेल हुने, टायर पञ्चर, ओभरलोड, यान्त्रिक गडबडी, सवारी बत्तीको अभाव, सिकारु चालक कैयन् असावधानीले गर्दा अमूल्य जीवन सखाप हुने गरेको छ । सडकको गुणस्तरमा चोरी गर्ने ठेकेदार, आँखा चिम्लिएर बिल पास गर्ने प्राविधिक, कमिसन लँुड्याउने नेता, थोत्रा र पत्रू भएका गाडी सडकमा उतार्ने गाडी धनी, सिकारु चालक, अपरिपक्व र अझ पाएसम्म खलाँसीलाई चलाउन दिने चालकको कुकर्मले गर्दा मानव जीवन अकालमा समाप्त हुने गरेको छ । हाम्रो भूगोल पनि त्यस्तै छ र अचेलको माटो छोप्ने विकास र वडा अध्यक्षका डोजरहरूले गर्नु/नगर्नु नै गरेको छ । दसैँको पूर्वसन्ध्यामा काठमाडौँको कपनमा अक्सिजन सिलिन्डर पड्केर आलिशान महल ध्वस्त भएको र चार जनाको मृत्यु भएको खबर अनि काठमाडौँबाट हेटौँडा गइरहेको यात्रुवाहक बस भीमफेदीमा दुर्घटना हुँदा सात जनाको मृत्युको खबर एकैसाथ आइरह्यो । लगत्तै रुकुमपूर्वको सवारी दुर्घटनामा पाँच जना स्वाहा भए । ट्रिपर दुर्घटनाहरूले सबैको सातो लिएको देशमा बाढी, पहिरो, मलेरिया, डिँगो, कोरोनाले ज्यान गइरहेको छ । दर्द नजिककालाई थाहा हुन्छ, कलंकीमा हेभी ट्रकले मोटरसाइकललाई हानेर पंक्तिकारको एक आफन्तलाई निलेको आलो घाउमा मल्हमपटी लागिसकेको छैन, भर्खरै । पोहोर तुइन काटिएर जयसिंह धामी खोलामा खसे, दसैँमा लिंगे पिङ हाल्दा हाल्दै पिङैबाट खसेर एक जनाले मकवारपुरबाट बिदा लिए, यो भयो असावधानी । पहिले त दसँैको पूर्वसन्ध्यामै मानव निर्मित गोली चलिदियो रुपन्देहीमा, हुकुम्बासी वा सुकुम्बासी के हुन् थाहा भएन, तर मोतीपुर औद्योगिक क्षेत्रमा चार जना स्वाहा भए । प्रहरी, नागरिक सामुदायिक अभियान, सत्य, सेवा, सुरक्षणंको नारा खोक्रो भयो, लोकतन्त्रमा तातो गोली, अन्य विकल्प रहेनछ । पूmलपाती नभिœयाउँदै भएको यो घटना सेलाएको थिएन, बीचका तीन दिनमा ठूला दुर्घटनाहरू घटे, सवारी दुर्घटनामा सप्तरीमा दुई जनाले पानी पिउन पनि भ्याएनन् भने मुगुको कहालीलाग्दो बस दुर्घटनामा एकैपटक ३२ जना सोत्तर भएका थिए, गत दसैँको मुखैमा ।
एक त बोका, खसी विदेशबाटै आउँछन्, प्रयोगको झन्डै ७० प्रतिशत, भन्न त ३० प्रतिशत भनिन्छ, सरकारी बोलीमा । तर जीउमा लाउने जनै, तिहारको भाइमसला, पटाका, पूmलहरू, तीजको कपडा र श्रृंगार, माघे संक्रान्तिको तरुल सबै विदेशबाटै आउने हो भनौँ नाना, खाना र छाना सबैथरी । २० खर्ब बढीको ऋणभार छ देशलाई, महँगो संघीयता ल्याए नेताहरूले आफ्नो स्वार्थहेतु, जनता निराश छन् र बिदेसिएका छन् । अबको २० वर्षमा देश वृद्धहरूको मात्र हुनेछ, युवाहरू कोही हुनेछैनन्, राजनीतिले जोसिला युवाहरूलाई विदेश पठाउन बाध्य गराएको छ, जो यहाँ बसेका छन्, दलको फेरो समातेर बसेका छन्, परिवर्तन त चाहेका छन् जनताले तर बालेनहरूलाई पनि सकस छ, न्यायालयकै पखेटा झिकिएको परेवाजस्तो हुने देश र राष्ट्रपतिले नागरिकता ऐन जारी गरिनन् भनेर यामानको गर्धन पसार्नेहरू बसेको देशमा निरीह नागरिकले ऐय्या पनि भन्न पाउँदैन, यहाँ मौलिक हक केवल संविधानमा लेखिन्छ, त्यो आपैmँ बोल्दैन, बोलाउनेहरू नै पाखा लागेका छन् । माछामासुमा यहाँ आत्मनिर्भर भनियो । कृषिप्रधान देशमा बर्सेनि चामल अर्बौंअर्बको विदेशबाटै आएझैँ, महँगा गाडी चढ्दै फलपूmल पनि विदेशबाटै आएकाले खाद्यान्न मात्रै होइन, सबै वस्तुहरू छोइसक्नु भएन, हुनेखानेलाई दसैँ मीठो हुन्छ होला, तर पनि हुँदा खानेलाई दसैँ बेस्वाद मात्रै हुन्नँ, रिँगटा नै लाग्ने भएको छ । श्रीहरूका शुभकामनाले भरिँदैन पेट, बेरोजगार छन् मानिस । विगतमा जमरा राखे कसैले लाउन भ्याएनन्, लाए कसैले सेलाउन भ्याएनन्, सिंगै खसी काटेर जिब्रो रसाउने इच्छा पूरा भएन, खसी मार हाने, जुठो पर्यो, कालले यति धेरैलाई उडायो, मान्छे यति धेरै मरे कि भ्याइनभ्याइ नै भयो सागर जान । आफन्तको बिदाइको छटपटी हुँदा मरेका खसीबोका कसैले फ्रिजतिर राखे, कसैले फाले, फाल्न पनि सजिलो थिएन, खसीबोकाको मूल्य सम्झँदा सागर गएजत्तिकै आँसु झर्ने थियो । दैव लीला कालले न दसैँ भन्दो रहेछ, न तिहार । इष्टमित्र, आफन्त जम्मा नभई महान् चाड पूरा नहुने, तिनमा जुठो, सूतक परिदिँदा बेस्वादको भइदिने चाड, साँच्चै अघिपछिको भन्दा पोहोरकोे दसैँ विछट्टै नरमाइलो भयो । नरमाइलो हुनुमा धेरै कारण थिए, कोरोना त छँदै थियो, यो प्राकृतिक थियो, तर अप्राकृतिक, मानव निर्मित घटना र दुर्घटनाले दसैँलाई बढी गिजल्योे । मानौँ मानवको कुनै मूल्य नै रहेनछ, बोकाखसीको मूल्य महँगो भन्याँै हामीले, तर तीभन्दा सस्ता देखिए मान्छेहरू, झन्डै सँगसँगै पोखरामा जिप दुर्घटना हुँदा आठ जना ठहरै भएका थिए पोहोर साल ।
दसैँले चरम उत्कर्ष लिँदै थियो, महानवमीकै दिन बुटवल तम्घास गुल्मी सडकमा जीप दुर्घटनामा ३ जनाले, विजययादशमीको टीका प्रसादको अवसर के हुँदै थियो ताप्लेजुङमा जिप दुर्घटना, एकादशी के चल्दै थियो काभ्रेमा माइक्रो बस दुर्घटनामा १८ जना घाइते, सुर्खेतमा अर्को बस दुर्घटना एक जना स्वाहा भए । एकादशीमा बारामा ट्रक दुर्घटना २ जना बिते, तेस्रो, चौथो र पूर्णिमा भनौँ दुर्घटना र मृत्यु नभएका दिन नै भएनन्, टीकापछि आएको वर्षाले पश्चिमक्षेत्रको बालीलाई त सर्लक्कै निलिदियो । साँच्चै दसैँमा बोका, खसीलाई मात्र दशा भएन मानव जीवन नफर्कने गरी गयोे । संसारमा नवोदित देशहरूले पनि उपल्लो विकास गरिसकेका छन् । गगनचुम्बी महल र सफा सडक तिनको विशेषता हो भने जमिनमुनि तिनले पानीजहाज कुदाएका छन् । जमिनमा एमआरटी अर्थात् मास र्यापिड ट्रान्सपोर्टेसन, जमिनमाथि रेल हुइँक्याएका छन् र आकाशमा त हवाईजहाज हुइँकिइरहन्छन् । एकाधबाहेक सिस्टमले काम गर्छ विरलै दुर्घटनाहरू । विकसित देशका सहरहरू हेर्दा झन्डै स्वर्गजस्तो लाग्छ, हामीकहाँ मेलम्ची उठाउन ३० वर्ष लाग्यो, सबैजसोलाई, दुहुनो गाई भयो, त्यो पनि उद्घाटनबाटै हरायो, देशमा उद्योगहरू बेचियो । राजनैतिक उद्योग विदेशमा हुर्कियो, परिवर्तनको तानाबाना विदेशमै बुनियो, युवाहरूलाई खाडीमा खेदियो, यहाँ सपनाहरू बाँडियो । देशलाई लुछे सबैले, मातृभूभि तड्पिएको छ अहिले, आयातित सरसामग्री, राजनैतिक विचारधारा, संस्कृति, धर्म सबै आयातित भयो । जन्मदेखि मृत्युसम्मको करले नेपालीहरू थला परेका छन्, ०४६ साल अघिसम्म रु. ५० तिरो तिर्न नपर्ने जग्गामा मनपरी कर असुली हजारौँ होइनm लाखौँ पुर्याइएको छ । विकासका नाममा अनावश्यक र भद्दा संरचनाहरू तयार गरेर दलको भर्तीकेन्द्र बनाइएको छ, झन्डै साँढे ८ हजार महाराजाहरू छन्, तिनको पालन पोषण गर्न सिंगो नेपालीले सकेको छैन । तिनको उपचार विदेशमा गराउनुपर्ने छिमेकमा २३ करोड जनसंख्या भएको एउटा प्रान्तमा एक प्रदेश छ, यहाँ ३ करोड जनतामाथि राज गर्न ७ प्रदेश । सधैंजसो सरकार बनाउने र ढाल्ने काम भइरहन्छ मानौँ देशमा अरू काम केही छैन । देशमा राजाहरू नै आठ, सभामुख आठ, उपसभामुख आठ, मन्त्रीहरू १२ दर्जन, सांसदहरू झन्डै ९ सय, असुलेको कर दलको प्रचार प्रसारमा, आलिसान महल, महँगा गाडी, कार्पेट, शौचालयमा सकिन्छ । आन्दोलनको अभीष्ट एउटा थियो परिणाम अर्कै आएको छ, किन हजारौँले यहाँ रगत बगाए त्यसको जवाफ छैन । नेपालीहरू अहिले सपनाबाट ब्युँझिएजस्तो भएका छन् । चुनाव महँगो भएकाले बजार महँगियो र जनताको ओठमुख सुक्यो, रोजगारी छैन, देशमा उत्पादन छैन, मेरो दल १ नं. को हुन्छ भनियो तर मेरो देश १ नं. को हुन्छ भन्ने आँट कसैले गरेन । भागबन्डा र स्वार्थका कारण देश दलदलमा फसेको छ, दसैँको खसी काटेर बाँडेजस्तो भएको छ देश ।